Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

केपी ओली र माधव नेपालको जुहारी,एकले अर्कोलाई भ्रष्टचारीको संज्ञा


काठमाडौं । म भ्रष्टाचार पनि गर्दैन र गर्नेको मुख पनि हेर्देन भन्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको साँढे तीन बर्षे कार्यकालमा धेरै ठूला घोटाला भए । तर, ओलीले छानविनमा तदारुकता कहिल्यै देखाएनन् । बरु तीनै अनियमितताका काण्डहरु लुकाउन आफैले ओठे जवाफ फर्काए । अहिले सत्ताको गठबन्धनका प्रमुख पात्र एमाले छाडेका माधव कुमार नेपाल ओली सरकारका काण्डहरु छानविन गर्नुपर्ने बताउन थालेका छन् । के नेपालले भनेजस्तै होला त छानविन ? ।

सधैं सुशासन र सदाचारको गफ गर्ने ओली नेतृत्वको सरकारले जनताका लागि के गर्यो भन्नुभन्दा पनि नेता कार्यकर्तालाई धेरै पोस्न सहयोग गर्यो भन्दा फरक पर्दैन । किनकि आफनै क्याबिनेटका मन्त्री गोकुल बास्कोटा सेक्यूरिटी प्रेस खरिद प्रकरण अर्थात् ७० करोड काण्डमा मुछिदा समेत ओलीले बचाउ गरे र भनिरहे भ्रष्टचार म पनि गर्दिन गर्नेहरुको मुखै हेर्दिन । तर, त्यसपछि पनि कोरोना महामारीले जनता आहात भएको बेला ओम्नी समूह मार्फत स्वास्थ्य सामाग्री खरिदमा पनि ठूलै घोटाला भयो ।

जनता कोरोनाले छटपटाउदा तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि पनि थुप्रै प्रश्न उठे । तर, उनले छानविन गर्छु भन्न समेत सकेनन् । सरकारी जग्गा भाडामा दिदा यति समूहलाई भित्र्याएर अर्को चलखेल गरेको आरोप लाग्यो । जाँदाजाँदै झापाको गिरिबन्धु टि–स्टेट गार्डेनको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न दिइएको बारे अहिले पनि आलोचना भइरहेको छ । यी केही प्रतिनिधि र ठूलो घोटाला काण्ड हुन । जनताले नै छानविनको चर्को आवाज उठाएका यी घटनाको छानविन कहाँ पुग्यो केही पत्तो छैन् । तर, सत्ताको सहयात्री दल नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल यी काण्डहरुको छानविन गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

शनिबार काभ्रेमा सोही बिषय उठाएका नेपालले आइतबार पनि ओली सरकारका काममा छानविन हुनुपर्ने बताएका छन् । नेपालले यसो आरोप लगाइरहँदा उनैमाथि ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि अदालतमा मुद्धा छ । उनको संलग्नता रहेको या नरहेको सर्बोच्च अदालतले कार्तिक १५ गते फैसला गर्दैछ । अर्कोतर्फ शुक्रबार पार्टीबाट मन्त्री बनाइएका किसान श्रेष्ठ र प्रेम आलेमाथि पनि प्रश्न उठेका छन् ।

सुरुदेखि नै आफूलाई साथ दिएका नेताहरुलाई पन्छाउदै अन्तिमसमयमा ओलीबाट आएका नेताहरुलाई प्राथमिकता दिएको भन्दै नेपालमाथि नै पार्टीभित्र आलोचना भइरहेको छ । त्यसैले पनि होला नेपालले आफूले मन्त्री बनाएकालाई बद्नाम हुने काम नगर्नुहोला भन्दै सचेत गराएको । तर, एमालेका महासचिव इश्वर पोखरेल भने माधव नेपालले बिगतमा गरेका आफना काम हेरे पुग्ने बताएका छन् ।

उनीले अरुलाई औला ठड्याउनुभन्दा औला आफनो तिर फर्कने बताएका छन् । यतिबेला उनै नेपाल सत्ता गठबन्धनको प्रमुख पात्र हुन् । उनले चाहे बिगतको सरकारले गरेका घोटालाको छानविनका लागि समिति नै बन्न सक्छ । तर, भाषणमा मात्रै घोटालाको छानविन गर्नुपर्छ भन्दै ओलीलाई तर्साउन नेपालको चालबाजी हो कि भन्ने प्रश्न पनि उब्जिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #म भ्रष्टाचार पनि गर्दैन

तपाईको कमेन्ट लेख्नुहोस्