पत्ता लागेन साँढे ३३ किलो सुन,गोरेसँगै ६ जनालाई जन्मकैद,सबै प्रहरी निर्दोष
काठमाडौं । साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती ’गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले सुन प्रकरणमा संलग्न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो । मुद्धाको मंगलबार अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत मोरङले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई तीनवर्ष र एकलाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ ।
अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको सजाय तोकेको हो । शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चुडामणी उप्रेतीसहित ७७ जना थिए । उनीहरु विरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरिर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो ।
कूल प्रतिवादी मध्ये २१ जना अहिले पनि फरार छन् । फरार रहेका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको छ । गोरेको हकमा अपहरण तथा शरिर बन्धक कसुर प्रमाणित भएकाले सजाय निर्धारणका लागि एक महिना भित्रमा पुनः पेसी हुने इजलसले सुनुवाइ गरेको छ । २०७४ फागुन तेस्रो साता दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको ३३ केजी अवैध सुन बाहिरने क्रममा हराएपछि सतहमा देखा परेका घटनाक्रम नै गोरे प्रकरणको सुरुवात हो । तस्करीको सुन ओसारेर भारतीय बजारसम्म पुर्याउने मुख्य जिम्मा पाएका मोरङ उर्लावारी घर भएका ’गोरे’ भनिने चूडामणि उप्रेतीले सुन खोजीको क्रमलाई तीव्र पारेपछि व्यक्ति हत्याको घटना सतहमा आएको थियो ।
तस्करीको सुन विमानस्थलबाट लिएर निस्केका सानु बन बाटामै हराएका र सोही क्रममा सुन पनि हराएपछि गोरेले सबैभन्दा धेरै केरकार विमानस्थलभित्र कार्यरत थाई एअरलाइन्सका प्राविधिक कर्मचारी बनलाई नै गरेका थिए । गोरेको निरन्तर धम्की र यातना थेग्न नसकेर २२ माघमा बनले विमानस्थलभित्र गुडिरहेको ट्र्याक्टरमुनि छिरेर आत्महत्या गरे । उनको मृत्युपछि हराएको भनिएको सुनको खोजी झनै अलमलमा पर्यो । यही क्रममा गोरे समूहमा रहेर काम गरिरहेका मोरङ उर्लाबारीका सनम शाक्यमाथि गोरेले शंका गरे । गोरे समूहले सनम शाक्यलाई उर्लाबारीको जंगलमा लगेर करेन्ट लगाउँदै यातना दिएका थिए ।
सोही क्रममा २०७४ फागुन १८ मा सनमको मृत्यु भएपछि तस्करीको सुन हराइरहेको र सोही क्रममा सनमको मृत्यु भएको तथ्य बाहिरिएको थियो । यही घटनाबारे अनुसन्धान गर्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले डीएसपी प्रजित केसी नेतृत्वको टोली मोरङ खटाएका थिए । तर प्रजित नेतृत्वको टिमले मुख्य प्रतिवादी गोरेको नामै उल्लेख नगरी जिल्ला प्रहरी कार्यालय मोरङमा अभियोजनपत्र बुझाएको थियो । गोरेलाई उम्काउन खोजेको र हत्या घटना अनुसन्धानमा त्रुटि रहेको भन्दै सनम शाक्यको घर भएका स्थानीयले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका थिए । उजुरीपछि प्रधानमन्त्री कार्यालयको सोझो निर्देशनमा २०७४ चैत १९ मा गृहका तत्कालीन सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा ६३ जना प्रतिवादीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।
संगठित सुन तस्करीमा विमानस्थलमा कार्यरत पूर्वडीआईजी गोविन्द निरौला, विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्री, सई बालकृष्ण सन्जेल, हवल्दार विष्णु खडका, प्रहरी जवान अमर थापासहित विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोदारलगायतलाई आरोप लाग्यो । समितिले संगठित तस्कर समूहले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीको उच्च अधिकारीहरूसँगको मिलेमतोमा गुपचुप अवैध स्वर्ण धन्दा चलिरहेको निष्कर्ष निकालेको थियो । तर, साढे ३३ किलो भनिएको सुन अझै भेटिएको छैन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मोरङ जिल्ला अदालत, #साढे ३३ केजी सुन तस्करी
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्