कुल आचार्यलाई जिताउन कांग्रेस, माओवादीको सर्कुलर,बद्री केसी समूहमा हलचल
एनआरएनए निर्वाचनमा दलीय स्वार्थ
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबर २० मा महाधिबेशन हुँदैछ । अझै महाधिबेशन हुने या नहुँने अन्योल नै छ । परराष्ट्र मन्त्रालयमा परेको उजुरीबारे अझै अनुसन्धान भइरहेको छ । उजुरीको छानविन नसकिएसम्म निर्वाचनका कुनै प्रक्रिया अघि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन नै जारी गरेको छ । तर, गैरआवासीय नेपाली संघ एनआरएनएका उमेद्वारलाई भने निर्वाचनले छोइसकेको छ । तीनै वटा समूहले उमेद्वार घोषणा गरिसकेपछि यसपटकको निर्वाचन थप रोचक बन्ने देखिएको छ ।
चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका छन् । आचार्यको पक्षमा लाग्न काँग्रेस र माओवादी पार्टीले विश्वभरका आफू निकट एनआरएनएलाई आन्तरिक सर्कुलर नै जारी गरेपछि एनआरएनए चुनावको माहोल तरंगीत भएको छ । एनआरएनएमा आचार्यसँगै बद्री केसी र रविना थापा चुनावी मैदानमा उत्रिएका छन् । आचार्य समूहले रविनाले अन्तिम समयमा आएर आफूलाई समर्थन गर्ने विश्वास लिएपनि अहिलेसम्म कुनै टुंगो नै छैन । रविनाले बार्गेनिङका लागि उमेदवार दिएको चर्चा पनि चलिरहेको छ ।
नेपालमा भएको सत्ता गठबन्धनअनुसार नै एनआरएनएमा पनि गठबन्धन गर्नुपर्ने नीतिका साथ काँग्रेस र माओवादी एक ठाउँमा उभिँदै आन्तरिक सर्कुलर गरेर चुनाव आफूअनुकुल बनाउने दाउमा छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाएर लोकतन्त्रवादी समूहलाई विजयी गराउन आग्रह समेत गरेको छ । लोकतन्त्रवादी समूहलाई विजयी गराउन तथा आवश्यक समन्वय गर्नका लागि काँग्रेसका तर्फबाट गठित पूर्णबहादुर खड्का नेतृत्वको समितिको बैठकको निर्णयअनुसार सर्कुलर गरिएको छ । सो सर्कुलरमा आचार्य नेतृत्वको प्यानललाई जिताउन आ–आफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि अपील गरिएको छ ।
साथै युरोप, एसिया, अमेरिका, अफ्रिका, मध्यपूर्व र ओशिनिया क्षेत्रका देशहरुमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ । युरोप क्षेत्रका लागि प्रकाशशरण महत र गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्रका लागि गोविन्द भट्टराई र विश्वप्रकाश शर्मा, ओसिनिया क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरित सर्कुलरमा उल्लेख छ ।
यसैगरी माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठकको निर्णयको मर्मअनुसार नेपालकै जसरी गठबन्धन बनाएर एनआरएनएमा कुल आचार्य समूहलाई जिताउन लागिपर्न प्रवासका कमिटीहरूलाई आन्तरिक सर्कुलर गरेको छ । गत असोज ६ गते बसेको स्थायी कमिटीले माओवादीको प्रवास समन्वय कमिटीले सो आन्तरिक सर्कुलर जारी गरेको थियो । विदेशमा रहेका माओवादी निकट नेपाली जनप्रगतिशील मन्चहरुले उम्मेदवार तय गर्नेदेखि आचार्यको पक्षमा माहोल बनाउनेसम्मका अभियान थालिसकेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले असोज ७ गते प्रवास सम्पर्क समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठलाई यसबारे आवश्यक निर्देशन दिएका थिए । एनआरएनएको सम्मेलनलाई विधिसम्मत र उद्देश्यमूलक ढंगले सफल पार्न प्रवास समन्वय समिति र त्यसमार्फत संगठनहरुले सकारात्मक भूमिका खेल्ने प्रचण्डको निर्देशनमा भनिएको छ । माओवादीले संघको भूमिका एवम् महत्वलाई दृष्टिगत गरी सदस्य बन्न योग्यता पुगेका संगठनका सदस्यहरुलाई एनआरएनएको सदस्य लिन समेत अनुरोध गरेको छ ।
एमालेको साथ पाउन बद्री केसी समूहको दौडधुप पनि जारी छ । केसी समूहमा माओवादी निकट केही उम्मेदवार अझैपनि खुलेको अवस्थामा थप समस्या पर्ने देखिन्छ । केसी एमाले निकट रहेको बताइन्छ । काँग्रेस र माओवादी एकातिर हुँदा एमाले निकटका केसीलाई निकै सकस पर्नेछ । केसी समूहले चुनाव आफ्नो पक्षमा पार्नका लागि काँग्रेस र माओवादी निकटका केही अभियन्तालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै आएको छ । एनआरएनएमा आधिकारिक रुपमा दलीय प्यानल बनाएर चुनाव लड्न नपाइने व्यवस्था भएपनि राजनीतिक दलले नै बिज्ञप्ती मार्फत आह्वान गर्नुले सत्ता गठबन्धन र प्रतिपक्ष एमालेबीच प्रतिष्पर्धा हुने देखिन्छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कुल आचार्य, #गैरआवासीय नेपाली संघ, #बद्री केसी, #रविना थापा
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्