Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

जयसिंह धामी प्रकरण : भारतलाई औपचारिक पत्र लेख्न र सत्य तथ्य संसदमा प्रस्तुत गर्न सांसदहरुको माग


काठमाडौं । मंगलवार प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरुले एकै स्वरमा महाकाली नदीमा गत १५ गते तुईनको डोरी चुँडिएर बेपत्ता भएका जयसिंह धामीले न्याय पाउनु पर्ने माग गरेका छन् । संसदको शून्य समयमा बोलेका संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलका सांसदहरुले, बाढीपहिरो, कोरोना खोप, नागरीकता बिधेयक, राउटे युवतीहरुको खोजी गर्नेदेखि जयसिंह धामी प्रकरणको निष्पक्ष छानबीनको माग गरेका छन् । मंगलवार सांसदको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुलाका ३३ वर्षीय युवा जससिंह धामी प्रकरणको सत्यतथ्य छानबीनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समयको छुट नरहेको बताउँदै असोजभित्र सबै खोप लगाउने मन्त्रीको प्रतिबद्धता र …खोप खोप खोप भन्ने प्रधानमन्त्रीको घोषणा पूरा हुन कठिन रहेको उल्लेख गरेका थिए । नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरुले समेत यस्तो अपराधपूर्ण क्रियाकलापबाट मृत्युवरण हुँदा नेपाल सरकार भने तुइन आफैं चुँडिएको जस्तो निम्छरो तरिकाले प्रस्तुत भएको र यस्तो घटनाबाट पनि्छन खोजेको आरोप लगाएका थिए ।

पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले यस घटनामा गृहमन्त्रीको प्रस्तुति घुमाउरो र हलुका भएको बताए । एमालेकी अर्की सांसद शान्ता चौधरीले पनि गृहमन्त्री हल्का र गैरजिम्मेवाररूपमा प्रस्तुत भएको आरोप लगाइन् । नेकपा एमालेका सांसद महेश बस्नेतले भने प्रतिनिधि सभामा कविता सुनाएका छन् । दार्चुलाका ३३ वर्षीय युवा जससिंह धामी प्रकरण सहित कोरोना रोकथाम र नियन्त्रण लगायतका विषयमा ध्यानाकर्षण गराउँदै सांसद बस्नेतले कविता सुनाएका हुन् । संसदमा दार्चुला घटना बारे बोलेका अधिकांश सांसदहरुले सत्यतथ्य छानबीन गरी राजनीतिक र कुटनीतिक पहलवाट समस्याको समाधान गर्नुपर्ने बताएका थिए ।

एमाले सांसद गणेशसिंह ठगुन्नाले पनि प्रत्यक्षदर्शीका बयान आइसक्दा पनि सरकारले आलटाल गरेको बताए । यस विषयमा सरकारले भारत सरकारसमक्ष के कुरा गरेको छ भन्ने उनको प्रश्न थियो । गृहमन्त्री बालकृष्ण खाणले जयसिंह धामी बेपत्ता भएको घटनाबारे निष्कर्षमा पुग्न सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पर्खिनुपर्ने बताएका थिए । संसद बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले छानविन समितिको निष्कर्षलाई दृढताका साथ अघि बढाउने भन्दै नागरिकको जीवन रक्षा गर्नु सरकारको मूल कर्तव्य भएको बताए ।

गृहमन्त्री खाणले बेपत्ता भएका जयसिंह धामीको नेपाली र भारतीय सुरक्षा निकायले खोजी गरिरहेको बताएका थिए । घटनाको सत्य तथ्य लुकाएको भन्दै एमाले सांसदहरूले विरोध गरेका थिए । जयसिंह धामीको घटनाको सन्दर्भमा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कुनै संलग्नता नरहेको जिकिर गर्दै आएको छ । यस्तो अवस्थामा भारतीय पक्षले छानबिन समितिलाई कस्तो सहयोग गर्ला ? छानबिन समितिले सत्यतथ्य छानबिन गरेर बुझाउने प्रतिवेदन सबै सांसदलाई उपलध गराउने गृहमन्त्रीलले विश्वास दिलाएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभाको बैठक

तपाईको कमेन्ट लेख्नुहोस्