लुम्बिनी प्रदेशसभा सदस्य विमला वली घरमै, सम्पर्कविहीन भएको हल्ला झुटो

काठमाडौं । शुक्रबारदेखि पार्टीको सम्पर्कमा नरहेकी भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वली घरैमा उपचार गराइरहेको पत्ता लागेको छ । प्रदेशस्थित माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीले वलीको पारिवारसँग सम्पर्क भएको र उनी घरैमा उपचारमा रहेको बताएका छन् । घर्तीका अनुसार वलीसँग शुक्रबारदेखि सम्पर्क भएको छैन । बिहीबार साँझ भने उनी पार्टीको सम्पर्कमा रहेको घर्तीले जानकारी दिए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वली सम्पर्कविहीन भएको समाचार आएको थियो ।
यसअघि पनि पार्टीको सम्पर्कबाहिर रहेकी जसपा सांसद पुर्मती ढेंगालाई एमालेले मन्त्री पदसहित आर्थिक प्रलोभनमा पारेको जसपाले आरोप लगाएको थियो । ढेंगा अहिले जसपामै फर्किएकी छन् । पुर्मती ढेंगा मगर सम्पर्कविहीन भएको खबर सार्वजानिक भएको ३ दिन नबित्दै वली पार्टीको सम्पर्कविहीन भएको समाचार आएको थियो । उप निर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएकी वलीले सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।
यद्यपी एमालेले भने दल विभाजनपछि पनि वली एमालेको संसदीय दलको बैठकमा सहभागी भएकाले दल रोज्न पाउने अधिकार पहिल्यै गुमाइसकेको र उनी एमाले भएको दाबी गर्दै आएको छ । एमालेले दाङको जिल्ला कमिटी बैठकमा पनि वली सहभागी भएको बताएको छ । लुम्बिनी प्रदेशमा शंकर पोखरेल सरकार स्पष्ट अल्पमतमा छ । शुक्रबार प्रदेश सभा सचिवालयले जसपाका ३ सांसद पदमुक्त भएको सूचना जारी गरेसँगै अब पोखरेलसँग ३८ मत छ । विपक्षी गठबन्धनसँग भने ४१ मत छ ।
दाङको क्षेत्र नं ३ (ख) बाट एमालेबाट निर्वाचित उनका पति उत्तरकुमार वलीको मृत्यु भएपछि सोही स्थानमा तत्कालीन नेकपाले उनलाई उपनिर्वाचनमार्फत प्रदेशसभा सदस्यमा पठाएको थियो । यसअघि वैसाख ६ गते बिमला वलीलाई अपहरण गरेर माओवादी केन्द्रले लगेको आरोप नेकपा एमालेले लगाउदै आएको थियो भने यसपटक माओवादी केन्द्रले एमालेले सत्ता बचाउन सांसदहरूलाई लुकाउने प्रपन्च रचेको आरोप लगाउँदै आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #लुम्बिनी प्रदेशसभा, #विमला वली
तपाईको कमेन्ट लेख्नुहोस्