एमालेमा ओली-नेपाल कहिले गरम त कहिले नरम, दुबै चाहन्छन् पार्टी एकता ?
काठमाडौं । तत्काल सरकारमा नजाने माधव नेपालको निर्णयले उनी अझै पनि एमालेको एकताबाट भागेका छैनन् भन्ने देखाउँछन । साथै उनी पार्टी एकताका लागि दोस्रो पुस्ताका नेताहरुको पहललाई ठाडै नकार्न सक्ने अवस्थामा नरहेको पनि देखिन्छ । नेपाललाई गठबन्धन सरकारमा सहभागीता नजनाउन उनी पक्षका अधिकांश नेताको दबाब पनि छ । एमालेका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच टाढिएको हार्दिकतालाई सहज बनाउने प्रयास छाडेका छैनन् । सर्वोच्च अदालतले गत वर्ष फागुन २३ गते नेकपा विघटनको फैसला सुनाएसँगै एमाले विभाजन हुने अड्कलन लगाउँदै आइएको छ । वरिष्ठ नेता माधव नेपालले पनि विभिन्न समयमा ओलीसँग एउटै दलमा बस्न नसक्ने अभिव्यक्ति पनि दिँदै आएका छन् । उनीहरु एकअर्कालाई तल्लोस्तरमा झरेर गाली गर्न समेत हच्किँदैनन् ।
तत्कालिन नेकपा दुई चिरामा बाँडिएसँगै उनीहरुले एकअर्का विरुद्ध सार्वजनिक रुप मै समाजले स्विकार्न सक्ने जति तल्लोस्तरको गाली ओकलेका छन् । तर, दोस्रो पुस्ताका नेता कै प्रयासका कारण एमालेमा फेरि एक पटक विभाजनको रेखा कोरिन पाएको छैन । एकले अर्कोविरुद्ध निषेधको राजनीति गर्दा त्यसको नकारात्मक प्रभाव कार्यकर्ता तहसम्म पुगेको छ । तर, पार्टी विभाजन गर्न पनि नसक्ने एक ठाउँमा उभिन पनि नसक्ने बाध्यताका कारण दुवै नेताले विभाजनलाई पछाडि धकेल्ने काम मात्रै गर्दै आएका छन् ।
तत्काल सरकारमा गएको खण्डमा नेपाललाई नजिकका सहयोगीहरुले समेत साथ नदिने सम्भावना बलियो छ । तर, सरकारमा जान लालायित केही सांसदहरुका कारण उनी द्धिविधामा परेको बताइन्छ । त्यही कारण एकतालाई लम्ब्याउन नेपाल आफू निकटका नेतासँग एमालेमा ओली बराबर हैसियत पाएको खण्डमा एकता सम्भव रहेको बताउने गर्छन् । अनि कहिले झलनाथ खनाल वा दोस्रो पुस्ताका कुनै नेतालाई एमालेमा दोस्रो अध्यक्ष बनाए पनि एकता गर्न सकिने धारणा राख्छन् ।
प्रतिनिधि सभा विघटनमा चट्टानी अडान देखाएका नेपाल अहिले फेरि ढुलमुले बन्न थालेका छन् । उता ओली पनि एकदिन नेपालको माग सम्बोधन गर्न कटिबद्ध रहेको बताउँछन् भने अर्को दिन नेपालमाथि नराम्रोसँग गालीको वर्षा गर्छन् । यसले दुवै नेतामा एकताको चाहना नरहेको प्रष्ट हुन्छ । जसरी भए पनि पार्टी एक बन्नु पर्छ भनेर कस्सिएका नेताहरु भने नेपालको माग अनुसार सहमति बनाउने प्रयास गरि रहेका छन् । १० बुँदे सहमतिमा धोका पाएका दोस्रो पुस्ताका नेताहरु भविष्यमा गरिने सहमतिमा नेपाल र ओलीले नै हस्ताक्षर गर्नु पर्ने धारणा राख्न थालेका छन् ।
दोस्रो पुस्ताका नेताहरुको दाबीलाई मान्ने हो भने उनीहरु ओली र नेपाललाई मान्य हुने सहमतिको नजिक पुगेका छन् । साथै उनीहरु सहमतिको खाका तयार भए पछि ओली र नेपालबीच एकल वार्ता गराउने प्रयासमा पनि जुटेका छन् । तर, जे भने पनि दोस्रो पुस्ताका नेताहरु एमाले एकताप्रति जति इमान्दार देखिएका छन्, त्यति नै इमान्दारिता ओली र नेपालले देखाउन सकेका छैनन् । सरकारमा सामेल गठबन्धनको अघिल्लो बैठकमा आफैँ सहभागी भएका नेपाल बुधबार भने गठबन्धनको बैठकमा सामेल भएनन् ।
एकताका लागि प्रयास गरि रहेका नेताहरु कै आग्रहमा उनी त्यो बैठकमा सहभागी भएनन् । तर, शिर्ष नेताहरुको गोप्य बैठकमा भने पुगेका छन् । यसले उनी सरकारमा पनि आफ्नो पकड नगुमोस् भन्ने चाहनामा रहेको प्रष्ट हुन्छ । वास्तवमा ओली र नेपालले तुच्छ बोली र शक्तिको असिमित चाहनामा लगाम कस्ने हो भने एमाले एकताका लागि सहज वातावरण बन्न सक्छ । अन्यथा दोस्रो पुस्ताका नेताहरुले हस्तक्षेप नगरेसम्म एमाले एकता सम्भव देखिँदैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #माधव नेपाल, #सर्वोच्च अदालत
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्