१५ महिना पनि टिकेन महन्थ-उपेन्द्र सम्बन्ध,महन्थको पार्टी अव कुन ?
काठमाडौं । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर १५ महिनाअघि बनेको जनता समाजवादी पार्टी विधिवत् रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारीकता सुम्पिएको छ । महन्थ ठाकुरलाई भने नयाँ दल दर्ताको अवसर दिइएको छ । सर्वोच्च अदालतले जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको माग बमोजिम आइतबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । साथै सोमबार ठाकुर पक्षले हेड काउन्ट रोक्ने निवेदन दिएपनि त्यसलाई अस्विकार गर्दै आयोगले आफ्नो निर्णय निरन्तरता दिएको थियो ।
५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ र महन्थ ठाकुरका पक्षमा १६ जना उभिएका थिए । निलम्बित सांसद रेसम चौधरी भने तटस्थ बसे । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादवपक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेसँगै अब सरकारमा जाने भएको छ । क्षमायाचना सहित महन्थ समूह पार्टीमा आउँछ भने स्वागत गर्न सकिने जसपाका अध्यक्ष उपेन्द्र यादवको भनाइलाई महन्थले स्वीकार गर्ने अवस्था देखिदैन ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन अध्यादेश ल्याएसँगै संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी रातारात एक भएका थिए । तर,नेता व्यवस्थापनका कारण पार्टीमा सधैँ खटपट नै भइरह्यो । दोस्रो पटक प्रतिनिधि सभा विघटनपछि तत्कालीन प्रधानमन्त्री ओलीको कदमलाई साथ दिने कि नदिने भन्ने विषयमा यादव र ठाकुर पक्ष वैचारिक रुपमा विभाजित बनेको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महतोले निर्वाचन आयोगको निर्णयपछि नयाँ पार्टी खोल्नेबारे विचार गर्ने बताएका थिए । उनले निर्वाचन आयोगले पार्टी जोड्ने होइन, फोर्ने काम गरेको आरोप लगाउँदै पार्टी विभाजित हुनु दुर्भाग्यपूर्ण भएको बताए । निर्वाचन आयोगमा दल दर्ता गर्दा यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीबाट २५ र ठाकुरसहितको नेतृत्वमा रहेको राजपाबाट २६ सदस्य राखिएको थियो ।
नेता महेन्द्रराय यादवसहित पूर्वराजपा पक्षका ७ जना सदस्य यादव पक्षमा गएका थिए । आयोगले सनाखतका लागि बोलाएपछि जसपाका सबै ५१ केन्द्रीय कार्यकारिणी सदस्यहरु सोमबार आयोगमा सशरीर उपस्थित भएका थिए । निर्वाचन आयोगले नयाँ पार्टी खोल्न महन्थलाई अवसर दिएको छ । यदि तत्काल दल नखोलिए महन्थ पक्षको सांसद पद समेत जान सक्ने सम्भावना देखिन्छ । उनीले कुन पार्टी बनाउलान भन्ने चासो बढेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपेन्द्र यादव, #महन्थ ठाकुर
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्