Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

किन बनाए पूर्व माओवादी नेताहरुले आइटी आर्मी, साइबर सेनालाई काउण्टर दिन हो ?

एउटै पार्टीमा एउटै काम गर्न छुट्टाछुट्टै संगठन


काठमाडौं । तात्कालिन प्रधानमन्त्री केपी ओलीसहित उनको लाईनमा हिडेका नेताहरुको प्रतिरक्षा र विपक्षी गठबन्धनका नेताहरुको खरो आलोचना गर्ने उद्देश्यले नेकपा एमालेका युवा नेता महेश बस्नेतले साईबर सेना गठन गरे । उनको सेनाले समृद्ध नेपाल खुसी नेपालीको उद्देश्य पुरा गराउने सरकारका कामको प्रचारदेखी सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियानको थालनी भन्यो । तर काम गरियो ओली र उनीपक्षिय नेताहरुको बिरोध गर्नेमाथी तथानाम गाली गलौँच ।

सामान्य सिष्टता समेत भुलेर चाहिने नचाहिने कामको समर्थन गर्ने साईबर सेनाले विपक्षीहरुमाथी गाली र आक्रोश पोख्यो । तर साईबर सेनाको आक्रोश र प्रचार प्रसारले ओली सरकार जोगाउन सकेन । बरु, प्रतिनिधिसभा विघटनविरुद्धको फैशला भन्दै अदालतबाट आएको परमादेशले ओली सरकार ढल्यो, सरकार फेरिएसँगै साईबर सेनाको दबदबा समेत कमजोर देखिएको छ । तर माओवादी केन्द्र परित्याग गरेर एमाले नेता बनेका प्रभु साहले मंगलबार ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्रै हल्लीखल्ली मच्चिएको छ ।

ओलीका विश्वासपात्र मानिने महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेको बारे एमाले बैठकमा नेताहरुले सोधीखोजी नै गरेका छन् । कतिपय नेताहरुले साहले घोषणा गरेको ‘आईटी आर्मी’ ले के गर्ने हो ? यसको सङ्गठन कस्तो हुने हो भन्दै चासोपूर्वक एमालेको केन्द्रीय कमिटि बैठकमा सोधखोज गरेका छन् ।
आखिर के हो त ? प्रभु शाहले घोषणा गरेको आईटी आर्मी ?
सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ । आइटी अर्थाता सामाजिक सञ्जालको सहायताले मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न गराउन यो सेनाले काम गर्ने भनिएको छ ।

अन्तरिम घोषणापत्रमा देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा सफल हुने दृढ विश्वासको साथ अर्ध सामुहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको भनिएको छ ।
यस्तो रहनेछ आइटी आर्मीको संगठन संरचना
‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो । यसको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ । आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव गरिएको छ । केन्द्रीय संयोजक चन्द भूषण साह रहेको आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टिलिजेन्स विभागसमेत क्रियाशिल हुनेछन् ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साहले आईटी आर्मी घोषणा एमाले नेताहरूलाई जानकारी गराएरै गरेको पाइएको छ । तर, साहको निम्तोलाई एमाले पुष्ठभुमिका नेताहरुले खासै महत्व दिएका छैनन । आइटी आर्मी मार्फत सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष राखेको बताइएको छ । सार्वजनिक मञ्चबाट हुने नहुने आश्वासन बाँडेर जनतामा अनेकन भ्रम छर्ने नेताहरु पछिल्लो समय डिजिटल प्लेटफमको प्रयोगमा हैसिएका छन् ।  भेला,बैठक र सार्वजनिक मञ्चमा गरिने भाषण बारे सामाजिक सञ्जालमा उठ्ने विभिन्न प्रश्नको प्रतिबाद गर्न यसरी नेताहरुले सामाजिक सञ्जालको प्रयोगलाई बढावा दिएको देखिन्छ ।

आलोचना गर्ने वा त्यसको प्रतिवाद सामान्य बैचारिक लडाई भएपनि सामाजिक सञ्जालमा देखिने भद्दा गाली गलौजले भने नेताहरुकै हैसियत गिराएको छ । बैचारिक रुपमा बिचलित भएर तथानाम गर्ने अनिस्वस्थ आलोचना पचाउन नसकेर सामाजिक सञ्जालमा समेत जत्था जम्मा गर्दै एकअर्काबिरुद्धको गालीगलौजलाई बढावा दिने काममाथी नियमन र नेताहरुको संरक्षणमा जे गर्दा पनि हुन्छ भन्नेहरुमाथी लगाम लगाउन आवश्यक छ । के साईबर सेना र आईटी आर्मी पार्टी र नेताहरुका आदेश पालक वा गालिगलौचको संस्कार छाडेर देश र जनतामा भ्रम छरिएजस्तै आवाज बिहिनका आवाज बन्न सक्छन त ? गम्भिर प्रश्न उब्जिएको छ ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आइटी आर्मी, #साइबर सेना

तपाईको कमेन्ट लेख्नुहोस्