एमालेका ओली र नेपालका छुट्टा छुट्टै बैठक, मन्त्री छान्दै माओवादी केन्द्र
काठमाडौं । विकसित राजनीतिक घटनाक्रमलाई लिएर बिभिन्न दलहरुले आज पनि छलफल गर्दैछन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बस्नेछ । साउन ४ गतेदेखि जारी बैठकमा आज केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
हिजोको बैठकमा सात वटै प्रदेशका अध्यक्षले पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए । उनीहरुले कार्यकर्ताहरूलाई प्रशिक्षण संचालन गर्नुपर्ने, पार्टी नेतृत्वको सरकारले गरेका कामको प्रचार प्रसार गर्नुपर्ने, प्रतिकुल राजनीतिक अवस्थाबारे पार्टी पङ्क्तिलाई जानकारी गराउनुपर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका थिए । आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदको कारबाहीका विषयमा पनि छलफल गर्ने तयारी छ । उनीहरुलाई सोमबारको बैठकले २४ घण्टे स्पष्टीकरण सोधे पनि कारबाही गरिसकेको छैन ।
माधव पक्ष पनि छलफलमा
त्यस्तै, नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधर नेताहरुले पनि आज छलफल गर्दैछन् । नेता नेपालले पार्टी एकता कार्यदलका पूर्व सदस्यहरु सहित आफ्ना गुटका नेताहरुसँग बैठक गर्ने भएका छन् । नेपालले आज १२ बजेका लागि राजधानीको एक होटलमा शेरबहादुर देउवालाई विश्वासको मत दिने नदिने सबै नेताहरुलाई बैठकमा डाकेका हुन् ।
सम्भवतः पार्टी फुटाउने या नफुटाउने भन्नेमा आजको बैठक निर्णायक हुने अनुमान गरिएको छ । नेपालले हिजो देउवालाई विश्वासको मत दिने सांसदहरुसँग मात्रै छलफल गरेका थिए ।
मन्त्री छान्दै माओवादी केन्द्र
त्यस्तै, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को–को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल समेत गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेको केन्द्रीय कमिटी बैठक, #माओवादी केन्द्र, #माधवकुमार नेपाल पक्ष
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्