एक सातामा मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नयाँ सरकार परिवर्तन भएपछि साउन १ गतेबाट लागू हुने नयाँ आर्थिक बर्षको बजेट र बजेटमै आधारित भएर आउन लागेको मौद्रिक नीति कस्तो आउने भनेर निकै चासोको विषय समेत बनेको छ । नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता आगामी बर्षको मौद्रिक नीति ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले बजेट नयाँ ल्याउने र अघिल्लो सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता नदिने हो कि भन्ने त्रासमा उद्योगी व्यवसयीहरु छन् । उद्योगीहरु नै ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा निजी क्षेत्रका ५० देखि ६० प्रतिशतसम्म सुझाव समेटिएको बताउदै आएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अघिल्लो सरकारले ल्याएको साउन १ गतेदेखि लागू हुने बजेटमा भएका व्यवस्थालाई नयाँ सरकारले निरन्तरता दिनुपर्ने बताएका छन् । चालू आर्थिक बर्ष सकिएर शुक्रबारदेखि नयाँ आर्थिक बर्ष २०७८/७९ सुरु हुदैछ । चालू आर्थिक बर्षको अन्तिम दिन विहिबारसम्ममा ९ खर्ब १२ अर्ब राजश्व संकलन भएको छ । यो लक्ष्यको ९३.४१ प्रतिशत हो । यसैगरी चालूतर्फ ८९.७३ प्रतिशत र पूजीगत तर्फ ६४.५३ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
यसैगरी राष्ट्र बैंकले असार ३१ गते सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार गत बर्षको तुलनामा १२.६ प्रतिशतले बृद्धी भएर ८ खर्ब ७० अर्ब ९४ करोड रेमिट्यान्स भित्रिएको छ । कोरोनाको दोस्रो लहर सुरुभएसँगै आर्थिक गतिविधिमा संकुचन आएपनि राजश्व र रेमिट्यान्सको लक्ष्य सन्तोषजनक रहेको छ । तर, यो बर्ष खुद प्रत्यक्ष वैदेशिक लगानीमा १३.४ प्रतिशतले कमि आएर १६ अर्ब २० करोड कायम भएको छ ।
वैदेशिक लगानीमा कमि आएकाले नयाँ सरकारले लगानीको वातावरण तयार पार्नका लागि निजी क्षेत्रलाई विस्वास गर्नुपर्ने महासंघका अध्यक्ष गोल्छा बताउँछन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा व्यापार घाटा २४.६ प्रतिशतले वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । १२ खर्ब माथिको विदेशी सामान आयात हुदै १ खर्बको नेपाली सामान विदेश निर्यात भएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मौद्रिक नीति
तपाईको कमेन्ट लेख्नुहोस्