एसईईको नतिजा नआउँदै धमाधम भर्ना गर्दै निजी बिद्यालय
काठमाडौं । कोरोना कहरका कारण यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा पनि हुन सकेन । आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशित गर्ने तयारी राष्ट्रिय परिक्षा बोर्ड तथा बिद्यालयहरुले गरिरहेका छन् । तर, परीक्षाफल प्रकासित नहुँदै निजि बिद्यालयलाई भने बिद्यार्थी कसरी तान्ने भन्ने हतारो सुरु भएको छ । एकातिर रिजल्ट कस्तो आउछ, अर्कोतिर नतिजा अनुसार के पढ्ने बिद्यार्थीको रोजाई पनि बन्ला तर, निजी बिद्यालय त्यसको बेवास्ता गर्दै कक्षा ११ मा बिद्याथीहरु तान्ने दौडधुप सुरु गरिसकेका छन् । वैशाखदेखि ठप्प शिक्षण संस्था कहिले खुल्ने निश्चित छैन । एसईईको तयारीमा रहेका ४ लाख १७ हजार परीक्षार्थीका लागि विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ ।
साउनको दोस्रो सातापछि मात्र नतिजा आउने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत सकिएको छैन् । तर, निजी बिद्यालय भने प्रि–रजिस्ट्रेसन र छात्रवृत्तिका लागि भन्दै अनलाइन परीक्षासमेत सञ्चालन गरेका छन् । नतिजा सार्वजनिक नहुँदै भित्रभित्रै प्रवेश परीक्षा नै लिएर विद्यार्थी भर्ना गर्न लागेको अभिभावकहरूको गुनासो छ । कोरोना संक्रमण बढेसँगै लगाइएको निषेधाज्ञा समेत खुलेको छैन् । अभिभावकको पनि दैनिकी सहज नभएको बेला भर्ना प्रक्रिया नै सुरु गरेर निजी बिद्यालयले लुट्ने मौका खोजिरहेको अभिभावकहरुले गुनासो गरेका छन् । अझ आफूलाई ठूला र नाम चलेका विद्यालय दाबी गर्ने प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरिरहेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय (हिसान) का पदाधिकारीहरू सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरेपछि सबै आश्चार्यमा परेका छन । गतवर्ष जस्तै नतिजा नआउदै विद्यार्थी भर्ना लिने विद्यालय यसपटक पनि सक्रिय देखिन्छन् । शिक्षा मन्त्रालय र स्थानीय तहले मनोमानी गर्ने शिक्षण संस्थालाई नियमन र कारबाही गर्न नसक्दा हरेक वर्ष विद्यार्थी–अभिभावकलाई अन्योलमा पार्ने र जथाभावी शुल्क असुल्ने प्रवृत्ति दोहोरिँदै आएको छ । यसको नियमन आखिर कसले गर्ने भन्ने प्रश्न नै उब्जिएको छ । हुनपनि हिसानका अध्यक्ष रमेश सिलवाल सञ्चालक नै रहेको गोल्डेनगेट इन्टरनेसनल कलेजले विज्ञान, व्यवस्थापन र मानविकी विषयमा अनलाइन रजिस्ट्रेसन खुलाएको छ । महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि विद्यार्थी भर्ना खोलिसकेको छ ।
सरकारसँग नजिक रहेका अगुवा शिक्षण संस्थाले नै बदमासी सुरु गरेपछि उनीहरूको सिको गर्दै काठमाडौं उपत्यकाका अन्य दर्जनौं स्कुलले पनि भर्नाका लागि आह्वान गरेका छन् । नेसनल स्कुल अफ साइन्स (निष्ट), साउथ वेस्ट्रन स्टेट कलेज, युनिग्लोब्स कलेज, जेभिएर एकेडेमी, काठमाडौं ओल्ड स्कुल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर, सेन्ट लरिएन्स कलेज, द टाइम्स इन्टरनेसनल कलेजलगायतले रजिस्ट्रेसनका लागि सार्वजनिक सूचना नै जारी गरेका छन् । यसले शैक्षिक गुणस्तर सुधार गर्नेभन्दा पनि भर्ना, परीक्षालगायतमा केन्द्रित भएर निजी विद्यालयले नाफा आर्जनको बाटो मात्रै हेर्ने गरेको देखाउछ ।
‘कक्षा १–१० मा सरकारले भर्ना अभियान नै सञ्चालन गर्ने गरेको छ । तर, कक्षा ११ मा भने जुन बेला पनि भर्ना लिन पाइने मनपरी आखिर कसले र कहिले रोक्ने ? निजी बिद्यालयले मनोमानी गर्दा शिक्षण संस्थाहरूले आफूखुसी भर्ना प्रक्रिया अघि बढाउँदा विद्यार्थीहरू समेत दुविधामा परेका छन् । निजी बिद्यालयले भर्ना प्रक्रिया सुरु गर्दा समेत स्थानीय सरकार भने बेखबर छन् । काठमाडौंका नीजि बिद्यालयको मनपरी चल्दा समेत काठमाडौं महानगरपालिको शिक्षा शाखा भने थाहा पाएर पनि नपाएझै गरिरहेको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय पनि कक्षा १० को नतिजा नआउदै भर्ना सुरु गर्न नमिल्ने बताइरहेको छ । तल्लो कक्षाको रिजल्ट नभई माथिल्लो कक्षामा भर्ना खोल्न नमिल्ने बताउने शिक्षा मन्त्रालय नीजि बिद्यालयले मनोमानी गर्दा समेत टुलुटुल हेरेर स्थानीय तहलाई पन्छाउछ ।
गत वर्षदेखि कक्षा ११–१२ मा संकाय प्रणाली खारेज भएर कक्षा ९–१० जस्तै विषयगत रूपमा पठनपाठन हुन थालेको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र यसपालि कक्षा १२ मा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुँदैछ । उक्त पाठ्यक्रम लागू नगर्न पनि निजी स्कुल सञ्चालकहरूले गतवर्ष बलबिच्याइँ गरेका थिए । सर्वोच्च अदालतको आदेशमा नयाँ पाठ्यक्रम लागू गरिएको थियो । तर, सर्बोच्चकै आदेशलाई पनि अटेरी गर्दै निजि बिद्यालय आफनै दम्भबाट चलिरहेका छन् । खुलेआम भर्ना प्रक्रिया र चर्को शुल्क अशुल्दा समेत सरोकारवालाको चासो नबढ्दा खुलेआम निजि बिद्यालयले लुट मच्चाइरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #बिद्यार्थी तान्ने हतारो
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्