Techie IT
  • १३ मंसीर २०८१, बिहीबार
KhojPatrika

संसदमा ओली फेल, अव फेरि देखिनेछन् उही खेल


निषेधाज्ञा लगाएर जनता घरभित्र थुनेर राजनीतिक दलले भने संघीय संसद भवनभित्र तमासा देखाए । कोरोना संक्रमणले अस्पतालको बेड, आसियू र भेण्टिलेटर खोज्दै ज्यान बचाइदिन हारगुहार गरिरहदा संसदमा देखिएको रमिताले कुर्सीकै चिन्ता र सत्ताकै चिन्ता देखाइदिएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउदैन भन्ने थाहा पाउदा पाउदै पनि विश्वासको मत लिन संसद पुगे । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भयो ।

विश्वासको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १ सय २४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ मत पाउनुपर्ने थियो । तर, उनले आफनै दल एमालेका सांसदहरुको पनि मत पाएनन् । कारण हो दंम्भ, अहंमता र आफनो निर्णय लाद्न खोज्नु । प्रधानमन्त्री ओली मात्रै सत्ताका लागि दौडधुप गरिरहेका छैनन् कांग्रेस सभापति शेरबहादुर देउवा त अव नयाँ सरकारको बाटो अघि बढाउनुपर्ने बताउदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन जनाएका छन् ।

बिपक्षी गठबन्धनको पनि बहुमत नपुग्ने र प्रधानमन्त्रीले पनि विश्वासको मत नपाउने अवस्थाले राजनीति झनै जटिल मोडमा पुगेको छ । प्रधानमन्त्रीको धम्की अझै छ विश्वासको मत नपाए संसद बिघटन हुन्छ । पुस ५ गते संसद बिघटन भएर पुर्नस्थापित संसदलाई ओलीले अझै रुचाएका छैनन् । एकोहोरो निर्वाचनकै रटानमा रहेका प्रधानमन्त्री ओली अन्य विकल्प पनि धेरै छन् भन्दा फरक पर्दैन । एमाले मात्रै होइन संसदमा जसपाको बिबाद पनि छताछुल्ल नै भयो । एउटै दलभित्र कोही तटस्थ बस्दा कोही भने बिपक्षमा मतदान गरे । एउटै दल त मिल्न सकेका छैनन् भने अन्य दल जनताका लागि एकताबद्ध भएर लाग्लान भन्ने कसलाई विश्वास लाग्ला ? स्वास्थ सामग्री खरिद होस् या खोप खरिदमा भएको कमिसन खेलको बचाउ अझै उनै प्रधानमन्त्री ओलीले गरिरहनु दुखद हो ।

ओलीले संसदमा बेड थपिको थपै तथ्याङ दिइरहदा जनताले भने बेडै नपाएर एम्बुलेन्समै ज्यान गुमाएको देखेकै छैनन् होला त ? त्यसो भए बेड लुकाउने अस्पताललाई कारवाही गर्नु पर्दैन ? अहिलेको पहिलो प्राथमिकता भनकै कोरोना नियन्त्रण हो । तर, घरभित्र थुनिएका नागरिकले संसदमा देखिएको यो किचलो र आरोप–प्रत्यारोप सधैं सुनिदिनुपर्ने ? एउटै भाषण र एउटै गाली दलहरुको यो जनताप्रतिको बेइमानी टुलुटुलु हेर्नु शिवाय अरु त के छ र ? किनकी जनता घरभित्रै थुनिनुपर्ने अवस्था अझै कति लाग्ने हो कुनै टुंगो छैन् ।

ओलीले विश्वासको मत नपाएपछि अव फेरि सरकार बनाउन यहाँ दौडधुप चल्नेछ । यो चलखेल र दौडधुपले कोरोना नियन्त्रणको प्रयास अझै कमजोर बन्नेछ । निषेधाज्ञा थपिदै जादा यहाँ रोगसँगै भोगको चपेटामा धेरै नागरिक पर्ने हुँदा आफनो ज्यान आफै जोगाउ । कोरोनाबाट बच्न आफै सचेत बनौं ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेका सांसदहरु, #विश्वासको प्रस्ताव

तपाईको कमेन्ट लेख्नुहोस्