डाक्टर युवराज खतिवडालाई चिठ्ठै–चिठ्ठा

त्यत्तिकै भनिएको होइन होला ठूलो रुखको छत्र छायाले सधैं छहारी दिइरहन्छ । यहि दृष्टान्त लागू भएको छ प्रधानमन्त्री ओली र डाक्टर युवराज खतिवडाकाबीचमा । साहेद एउटै गृह जिल्लाका भएर पनि होला प्रधानमन्त्री ओलीको डाक्टर खतिवडाप्रतिको अगाध माया,दिर्घकालिन सद्भाव अनि निरन्तर रोजी रोजी छानी छानी उनैले चाहेको कुरा पूरा गर्ने प्रतिबद्धता । होइन भने नेपाल राष्ट्रबैकंका पूर्व गर्भनर डाक्टर खतिवडालाई प्रधानमन्त्री ओलीले टपक्क टिपेर संसद भवन हुँदै सिंहदरबारसम्म छिराइछाडे । त्यतिमात्रै होइन मन्त्रीमण्डलमा उच्च प्राथमिता दिदै सरकार सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिने अर्थ मन्त्रालयको जिम्म लगाइछाडे ।
राष्ट्रपतिबाट मनोनित गरी राष्ट्रिय सभामा मनोनित भएका डाक्टर खतिवडाको कार्यकाल केवल दुई बर्षको मात्रै थियो । राष्ट्रिय सभामा चुनाव भयो नयाँ सदस्य निर्वाचित गरिए तर, खतिवडालाई दोहोरिन भने हम्मे–हम्मे परेपछि ६ महिना सांसद नभएरै अर्थमन्त्रालयको बागडोर सम्हाल्ने सौभाग्य मिल्यो उनै खतिवडालाई प्रधानमन्त्री कै कारण । लामो समयदेखि कम्युनिष्ट राजनीतिमा प्रधानमन्त्री ओलीका सहकर्मी भई सहयोग पुर्याएका अर्का पात्र नेकपा उपाध्यक्ष बामदेव गौतमले सांसद हुने इच्छा जाहेर गर्नु, सरकार र पार्टीका दुबै पदबाट हात धुनुपर्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीलाई ६ बुँदे प्रस्तावको मलम पट्टी दिएका बामदेवलाई रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गर्न अन्तत् प्रधानमन्त्री ओली बाध्य हुनु पर्यो । सांसद बन्ने उपाध्यक्ष गौतमको पक्कापक्कीपछि अर्थमन्त्री खतिवडाले आफनो पदबाट राजीनामा दिनुपर्यो ।
राजीनामा दिएको भोलीपल्टै नेपाली उद्योगी ब्यवसायीसँगको बैठकमा डाक्टर खतिवडा सहभागि भई प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिनुले पनि जो सुकैले अड्कल काट्न सक्थ्ये उनी कति शक्तिशाली र प्रधानमन्त्रीका प्रिय पात्र थिए भनेर । हुनत् नेकपाका कार्यकर्ताले भन्ने गर्छन् प्रधानमन्त्री ओलीले बिश्वास गरेका र उनका नजिक रहेका नेता कार्यकर्ताहरुलाई जस्तो सुकै परिस्थितिमा पनि ब्यवस्थापन गरिछाड्छन् । त्यहि प्रमाणित भयो डाक्टर खतिवडाका हकमा होइन भने राजीनामा दिएको १० दिनमै प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार रुपमा साहेद प्रबेश पाउँदैन थिए होलान ? पार्टीभित्रको आन्तरिक द्धन्द, मन्त्रीमण्डल पुर्नगठन लगायतका बिषय उठिसकेपछि र अर्थमन्त्रालयमा खतिवडालाई हालिमुहाली गर्न पाउने अवस्था नरहेपछि सहजै प्रधानमन्त्रीले अमेरिकाका लागि नेपाली राजदुतमा उनै खतिवडालाई सिफारिस गरिछाडे ।
प्रधानमन्त्रीको एक्लौटी निर्णयले नेकपाका अर्का अध्यक्ष दाहाल रुष्ट बनेका छन् । नबनुन पनि कसरी कुनैपनि निर्णय गर्दा अध्यक्षद्धयबीच छलफल गरेपछि मात्रै निर्णय गर्ने सहमति गरेको कागजको मसी सुक्न नपाउँदै प्रधानमन्त्री ओलीले आफना मान्छेको ब्यवस्था गरिछाडे । यहि कारण केही समय मत्थर रहेको सत्तारुढ दल नेकपाभित्रको विवाद फेरि बल्झिने अवस्था सिर्जना भएको छ । त्यसैले त दुई अध्यक्षले टुगो लगाउन नसकेपछि शनिबार सचिवालय बैठक बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
कुरा सबैका सुन्ने । तर, ब्यवहारमा एक्लौटी निर्णय गर्ने प्रधानमन्त्री ओलीकै कारण फुटको संघारमा पुगेको सत्तारुढ दल केही समय साम्य भएपनि फेरि विवादको भूमरीमा फसेको छ । राष्ट्रसेवक कर्मचारीलाई राजनीतिमा ल्याई राष्ट्रको ढुकुटी सुम्पेर पनि नपुगी बिश्वको शक्तिशाली मुलकुका लागि राजदुत सिफारिस गर्नुले आगामी पुस्ताले सम्झीरहनेछन् सम्बन्ध होस् त ओली र खतिवडाको जस्तो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, सम्पादकीय
ट्याग : #मन्त्रीमण्डल पुर्नगठन, #युवराज खतिवडा, #सत्तारुढ दल
तपाईको कमेन्ट लेख्नुहोस्