Techie IT
  • ६ माघ २०८१, आईतबार
KhojPatrika

कोरोनाबाट बच्न सिंहदरबारमा उच्च सर्तकता 


काठमाडौं २८ बैशाख । लकडाउनको ४८ औं दिनमा अत्याबश्यक सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था र संस्थान खुलेका छन् । बैशाख २४ गतेको मन्त्रीपरिषद बैठकले एक तिहाई कर्मचारीको ब्यवस्थापन गरी कार्यालय खोल्ने निर्णय गरेसँगै ४८ दिनदेखि घरमै बसेका कर्मचारी कार्यालय आउन थालेका हुन् । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारीको उपस्थिति  र कोरोना सर्तकता राम्रो देखिन्छ । कोरोनाको जोखिमबाट बच्न सामाजिक दुरी कायम गर्ने भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गर्यो । आइतबार लकडाउनको ४८ औं दिनदेखि अत्याबश्यक सरकारी कार्यालयहरु खुलेका छन् । सामाजिक दुरी कायम गर्दै कार्यालयमा सावुन पानी, सेनिटाइजर र माक्स लगाएर कर्मचारी कार्यालय आउन थालेका हुन् ।बजेट निर्माण र छलफलमा केन्द्रीत रहेका सिंहदरबारका मन्त्रालयमा सह–सचिव, सचिव त लकडाउनमा पनि नियमित नै कार्यालय आएका थिए । तर, अन्य कर्मचारी भने लकडाउनमा निक्कै कठिन भएको भन्दै कार्यालय आउन पाएकोमा खुसी थिए । सिंहदरबार प्रबेश गर्ने कर्मचारीको स्वास्थ्यमा उच्च सर्तकता अपनाइएको छ ।
कार्यालयमा पनि एक तिहाई कर्मचारी आएपनि सामाजिक दुरी कायम गरी कामलाई ब्यवस्थित बनाइएको छ । आइतबारदेखि बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आएका छन् । त्यस्तै, खानेपानी आपूर्ति, खाद्य संस्थान, टेलिफोन, बिजुली, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने सरकारी कार्यालय तथा संस्थान पनि सञ्चालनमा आएका छन् । ती कार्यालयले पनि आम सेवाग्राही आउने गरी नभई आन्तरिक र प्रकृयागत कार्यसञ्चालनका लागि काम गर्नेछन् । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा कम्पनीजस्ता कार्यालय आंशिक सञ्चालनमा आएका छन् । कोरोनाको त्रास अझै हटेको छैन् । राजधानी बाहिरका बिभिन्न जिल्लामा संक्रमणदर बढिरहेको छ । सरकारी कार्यालयले आंशिक रुपमा काम सुरु गरेपनि कोरोनाको जोखिमबाट बच्न सर्तकता भने भरपुर अपनाउनै पर्ने देखिन्छ ।

क्याटेगोरी : देश/दुनियाँ, राजनीति, लाेकसेवा/जागिर, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्