Techie IT
  • २१ मंसीर २०८१, शुक्रबार
KhojPatrika

जनता महामारीसँग लड्दा नेताहरुमा भने स्वार्थको लुछाचुडी


काठमाडौं । जतिबेला विश्वमा कोरोना भाइरसले सबै देश आक्रान्त बनिरहेका थिए । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य बिज्ञहरु कोरोना नियन्त्रण र खोपबारे रातदिन अनुसन्धानमा खटिएका थिए । बिश्वलाई नै आच्छु आच्छु बनाएको कोरोना लहर नेपालमा पनि सुरु हुँदै थियो । तर, देशको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली कोरोनालाई ख्याल ठट्टाको रुपमा मजाक गरिरहेका थिए । प्रधानमन्त्री ओलीले नागरिकको इमुनिटी पावर बढी भएको मात्रै बताएनन् उनले बेसार पानी र हाछीउ गरे कोरोना जित्न सक्ने कुर्तक जनतालाई सुनाइरहे । यहि बोली अहिले ओलीको फेरिएको छ । यसरी कोरोना फैलिएला भन्ने मैले सोचेकै थिएन भन्दै प्रधानमन्त्री ओली आफै आत्मआलोचना गरिरहेका छन् ।

लकडाउनले ठप्प भएको मुलुकमा सुरुमा देखिएको कोरोना संक्रमण केही कम हुँदै थियो । तर, सरकार र राजनीतिक दलले कोरोना संक्रमण बढाउन मलजल गरे । सरकार बिरोधी कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको नेपाल खनाल समूह मात्रै होइन जसपादेखि राप्रपा समेतले शहर बजारदेखि गाउँ टोलसम्म सर्वसाधारणलाई त्रास र प्रलोभनमा नारा जुलुससहित भिड जम्मा गरे । सरकारको नेतृत्व गरेको ओली समूह पनि के कम जनता जम्मा गर्न अनेक प्रपञ्च गर्यो । एकले अर्कोलाई हुल देखाउन गाउँ गाउँबाट सवारी साधन भाडामा लिएर मात्रै होइन उनीहरुलाई भत्ता समेत बाढेर शान देखाए । त्यो स्रोत खुलाउनु नपर्ने पैसाले नै जम्मा गरेको भिडभाडले यतिबेला सिंगो देश नै समस्या ग्रस्त बनेको छ । साहेद सुरुमै जनाउ दिएको कोरोनालाई राजनीतिक दलले मजाकका रुपमा नलिइदिएको भए अहिले यो अवस्था आउने नै थिएन ।

पार्टीका कार्यक्रममा परिचालन गर्ने ती कार्यकर्ता तथा नेतालाई क्वारेन्टाइन, आइसुलेसन बनाउन लगाएको भए, आमसभामा खर्च गर्ने करोडौ रकमले स्वास्थ्य सामग्री खरिद गरेको भए जनताले अस्पताल टेक्न नपाएरै मृत्युको बाटो रोज्नुपर्ने थिएन । यतिबेला बेड, अक्सिजन नपाएर लाखौ कोरोना संक्रमितहरु घरमै छटपटाई रहेका छन् । तर, पनि सरकार अझै जनताको जीउ जोगाउनुभन्दा पनि एमाले पार्टी कसरी जोगाउन सकिन्छ भन्ने ध्याउन्नमै छ । शक्ति, पैसा र पावरको बागडोर सम्हालेका एमाले अध्यक्ष ओली विश्वासको मत कसरी लिने तानाबुना बुन्दैछन् ।

अर्कोतर्फ ओली सरकार हटाएर सत्तामा जान नपाएको कांग्रेस बल्ल महामारीले उग्र रुप लिएपछि सरकारमाथि दोष थुपार्दे १५ बुँदे ज्ञापन पत्र बुझाएर आफू पानीमाथिको ओभानो बन्न खोज्दैछ । एक महिनाअघि मात्रै सरकारबाट बाहिरिएको माओवादी केन्द्रपनि समय घर्कदिदै जाँदा कोभिड नियन्त्रण एकाई गठन गरेर दोषबाट पन्छिन खोजिरहेको छ । माओवादी केन्द्रलाई अझै सरकारको उछितो काट्न र दोष थुपार्न पुगेकै छैन् । जसपा अझै पनि आफनै नेतृत्वमा सरकार बनाउने भन्दै खुट्टा उचालेर बसेको छ । राप्रपा, राष्ट्रिय जनमोर्चा कुन दुलोमा संक्रमित छन् पत्तो नै छैन् ।

आमनागरिकलाई कोरोना महामारी जोगाउनका लागि समूहिक प्रयत्न गर्नुपर्ने ध्यान कसैको छैन । सामाजिक सञ्जालमा लेख्दैमा र केही थान बिज्ञप्ती निकाल्दैमा कोरोना नियन्त्रण हुदैन । सरकार, राजनीतिक दल, संसद् र जनप्रतिनिधि संवेदनशील नहुँदा दैनिक जनताले अकालमै ज्यान गुमाइरहेका छन् । जनता शोकमा हुँदा, भोकमा हुँदा र उपचारको पर्खाइमा रहँदा रमिता हेर्ने राजनीतिक नेतृत्वकै कारण यतिबेला सिंगो देशमा एकपछि अर्को समस्या थपिइरहेको छ र जनताका आँखाबाट आसू बगिरहेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #राजनीतिक दल, #विश्वमा कोरोना भाइरस

तपाईको कमेन्ट लेख्नुहोस्