जुट्न भन्दा फुट्न जानेका नेपालका कम्युनिष्ट पार्टी, आफनै नेताबाटै बढी धराप

काठमाडौं । अनेकौं गुटमा विभाजित नेपालका कम्युनिस्टहरुले बिहिबार कम्युनिस्ट स्थापना दिवस मनाएका छन् । २००६ साल वैशाख ९ गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले झांगिएर निकै फैलिएको छ । ७२ वर्षअघि यो कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न गठन भएको थियो । उनीहरुको यो चाहना त अझै पूरा भएको छैन बरु महान लक्ष्य बोकेका कम्युनिस्टहरु नै विभिन्न चिरा, गुट फुट र विवादमा फसेका छन् । भारतको कलकत्तामा डिजाइन गरिएको नेपाली कम्युनिस्ट पार्टीको इतिहासले ७२ बर्ष पार गरेको छ । यो ७२ बर्षमा कम्युनिस्ट विचार र सिद्धान्त मान्ने नेपालीको संख्या पनि बढेकै देखिन्छ ।
संघीय संसदमा बहुमत प्राप्त नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेमकिपा र राष्ट्रिय जनमोर्चा गरी ४ वटा कम्युनिस्ट पार्टीको प्रतिनिधित्व छ । निर्वाचन आयोगमा दर्ता नै नभएका र चुनाव बहिष्कार गरेका कम्युनिस्ट धारी पार्टी एक दर्जन बढी छन् । संसदमा रहेका हुन् वा सडक आन्दोलनमा, यी कम्युनिस्ट पार्टीहरुले नाम, झण्डा वा घोषणापत्रमध्ये कुनै न कुनैमा माक्र्सवाद, लेनिनवाद वा माओवादको साहारा लिएकै छन् । माक्र्सवाद, लेनिनवादको सिद्धान्तलाई पनि दलैपिच्छेको बुझाइ पृथक छ । तर, माक्र्स र लेनिनले प्रतिपादन गरेका राजनीतिक, आर्थिक सिद्धान्त र अभ्यास सबैका लागि एउटै भएर पनि आरोप–प्रत्यारोपमै उनीहरु समय बिताइरहेका छन् ।
विश्वका मजदुरलाई एक पार्ने सपना बोकेर हिंडेको नेपाली कम्युनिस्ट आन्दोलन अहिले ७२ बर्षको बृद्ध अवस्थामा फरक–फरक कार्यदिशा बोकेर हिडिरहेको छ । नेपालमा स्थापना भएको एउटा कम्युनिस्ट पार्टीबाट अहिले आफना स्वार्थ पुरा गर्न फुट गुट र उपगुटले गाँजेको छ जसले नेपालको कम्युनिस्ट पार्टी मिल्नुभन्दा फुट्नमै जोडबल गरिरहेका छन् । २०४९ देखि जनताको बहुदलीय जनवादको नारा बोकेको नेकपा एमाले र एक्काइसौं शताब्दीको जनवादमा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अपनाएर अगाडि बढेको नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको साढे दुई बर्षमै समिकरण भत्कियो र पुरानै अवस्थामा फर्किए ।
कम्युनिष्ट दलको संघीय संसदमा बहुमत बढी सदस्य छन् । कम्युनिष्ट सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् । तर, कम्युनिष्ट पार्टी भन्नेहरु नै कोही पूर्व कोही पश्चिमतिर लागेका छन् । अहिले एमालेभित्रै मच्चिएको रडाकोले सबैलाई आजित बनाइदिएको छ । क्रान्तिका विचार र आदर्शलाई पछ्याए पनि प्रजातान्त्रिक प्रकृयाबाट कम्युनिस्टहरु बाहिर बसेनन् । नेपालको संसदीय इतिहासका सबै कालखण्डमा संसदमा कम्युनिस्टहरुको उपस्थिति पाइन्छ । २०१५ सालको चुनावमा ४ सिटमात्र जितेको नेपालको कम्युनिस्ट पार्टीले २०५१ सालमा सबैभन्दा ठूलो पार्टीको रुपमा पनि संसदमा पुग्यो । संसदको ठूलो पार्टी भए पनि आवश्यक बहुमत भने थिएन, त्यसैले नेकपा एमालेले ९ महिनासम्म अल्पमतको सरकारको नेतृत्व पनि ग¥यो ।
२०६४ मा भएको संविधानसभा चुनावमा सबैभन्दा ठूलो, तेस्रो ठूलोदेखि केही सिट भएका पार्टीहरु संविधान लेख्ने जिम्मासहित संविधानसभामा पुगेका थिए । दोश्रो संविधानसभाको चुनावमा दोश्रो र तेश्रो दलसहित उपस्थिति जनाएका नेपाली कम्युनिस्ट खासमा प्रवृत्ति हो वा विचार ? के माक्र्सवाद, लेनिनवाद वा माओवादका सिद्धान्त र व्याख्या दल र नेता पिच्छे फरक हुनसक्छ । २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्यलगायतको पहलमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । तर, उनीहरुबीच नै एकता कहिल्यै भएन ।
कम्युनिस्ट नेताहरुमा एकले अर्काेलाई बदनाम गर्ने र आफू चर्चामा आउने रोग निकै पूरानो हो । कुनै बेला संस्थापक महासचिव पुष्पलाललाई ‘गद्दार’, निर्मल लामालाई ‘सीआइडी’ को आरोप पनि नलागेको होइन । यी नेताहरुलाई आरोप लगाउने मोहनविक्रम सिंहलाई पनि निर्मल लामाले दरवारको सल्लाहकारको आरोप लगाएकै हुन् । विसं. २०४७ सालमा नेकपा माले र माक्र्सवादीको एकीकरण भइ नेकपा एमाले गठन भएको थियो ।
२०४० को दशकमा मलास पार्टी फुटेर मोटो ‘मशाल’ र पातलो ‘मसाल’ बने । त्यही मोटो मशालका तत्कालीन महासचिव पुष्पकमल दाहालको नेतृत्वमा माक्र्सवादका अर्का अभ्यासकर्ता माओको विचार र अभ्याससहित २०५२ मा जनयुद्धको नीति थालियो । तर, जनयुद्ध लडेका नेताहरु यतिबेला सबैभन्दा बढी तितर बितर भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड,बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्द, गोपाल किराँती यतिबेला अलग–अलग पार्टीमा छन् । जन्मिदै विवादकासाथ जन्मीएको कम्युनिस्ट पार्टीको नियती अझै पनि गुट, फुट र टुटमै बितेको छ । फुट्न जान्ने जुट्न नजान्ने अनौठो रोगबाट नेपालको कम्युनिस्ट इतिहास ग्रसित छ । अरुले नभएर आफ्नै सहकर्मीहरुको त्रासले नेताहरुको राजनीतिक भविष्य धरापमा पर्दै आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कम्युनिष्ट पार्टी, #गुटमा विभाजित, #नेकपा एमाले, #नेकपा माओवादी केन्द्र
तपाईको कमेन्ट लेख्नुहोस्