माओवादी केन्द्रले जितेका १२ सिटमा उपचुनाव पक्का,कहाँ कहाँ हुदैछ उपनिर्वाचन ?
काठमाडौं । सरकार अव उपनिर्वाचनको तयारीमा जुट्ने संकेत गरेको छ । एमाले र माओवादी दुई दल मिलेर बनेको नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरुले पार्टी छाड्दा रिक्त भएका स्थानमा सरकारले उपनिर्वाचन गर्न लागेको हो । अहिलेसम्म प्रतिनिधि सभाका ४ र प्रदेश सभाका ८ जना सांसदले माओवादी पार्टी छाडेकाले ती स्थानमा उपनिर्वाचन हुने पक्का भइसकेको छ । अहिलेसम्मको अवस्था हेर्दा प्रदेश र प्रतिनिधि सभाका १२ स्थानमा उपनिर्वाचन हुने देखिन्छ । साथै विभिन्न स्थानीय तहहरुमा रिक्त रहेका पदहरुमा पनि उपचुनाव गर्नुपर्ने अवस्था छ ।
पछिल्लो समय कर्णालीमा एमालेका सांसदहरु पनि कारवाहीमा पर्न थालेका छन् । ती स्थान पनि रिक्त रहेमा त्यहाँ पनि उपचुनाव गर्नुपर्ने कानुनी ब्यवस्था छ । पद रिक्त भएर उपनिर्वाचन हुन लागेका १२ वटै स्थानमा यसअघि माओवादी केन्द्रले जितेको थियो । चारजना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभाबाट जितेकाहरू माओवादी सांसदहरु एमालेतर्फ लागेपछि माओवादीले कारवाही गर्दा सबै स्थान रिक्त भएका हुन् । रिक्त रहेका प्रतिनिधि सभाका चार स्थानमा कैलाली क्षेत्र नम्बर ३ र ४, रौतहट क्षेत्र नम्बर ३ र अर्घाखाँची क्षेत्र नम्बर १ छन् । यी चारवटै स्थान रिक्त भएको पत्र सरकारले निर्वाचन आयोगमा पठाइसकेको छ । कैलाली ३ मा यसअघि माओवादीबाट गौरीशंकर चौधरीले चुनाव जितेका थिए भने क्षेत्र नम्बर ४ बाट माओवादीकै लेखराज भट्टले जितेका थिए । सांसद पदबाट मुक्त भएका उनीहरुलाई प्रधानमान्त्री ओलीले पुनः मन्त्री नियुक्त गरेका छन् ।
अर्घाखाँची क्षेत्र नम्बर १ पनि खाली भएको छ । त्यहाँबाट निर्वाचित माओवादी सांसद टोपबहादुर रायमाझी पदमुक्त भएका थिए । रौतहट क्षेत्र नम्बर ३ बाट माओवादी सांसद पदमुक्त भएकाले त्यहाँ पनि उपचुनाव गर्नुपर्ने अवस्था छ । सांसद चौधरी, भट्ट, रायमाझी र साह गत फागुन २३ को सर्वोच्चको फैसलापछि माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीको कारवाहीमा परेका थिए । प्रदेशसभातर्फ पनि माओवादी छाडेर एमालेमा प्रवेश गरेका ८ जनाको स्थानमा उपनिर्वाचन हुने निश्चित भएको छ । जसमा प्रदेश १ का टंक आङ्बुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीका साथै कर्णाली प्रदेशका धर्मराज रेग्मीको स्थानमा उपनिर्वाचन हुने निश्चित भएको हो ।
त्यसैगरी प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना प्रदेशसभा सदस्यलाई एकैसाथ बर्खास्त गरेको छ । प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारवाही गरेपछि उनीहरुको स्थान रिक्त बनेको हो । मण्डल धनुषा क्षेत्र नम्बर १ को(ख), कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को (ख), ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित सांसद हुन् भने मोहम्मद समीर बाराबाटै समानुपातिक सांसद थिए ।
अहिलेसम्म नेकपा एमालेले आफ्ना सांसदहरुलाई पदबाट हटाइसकेको छैन । यद्यपि उसले केन्द्रमा माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अनुशासनको कारवाही गरेको छ । कर्णाली प्रदेशमा भने ह्वीप उल्लंघन गर्ने तीनजना प्रदेशसभा सदस्यहरुलाई कारवाहीको सिफारिस गरेको हुनाले उनीहरुको पद रिक्त हुने सम्भावना बढेको छ । राष्ट्रिय सभामा रामबहादुर थापाको पद पनि गएपछि ३५ दिनभित्र निर्वाचन गुर्नपर्नेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपनिर्वाचन
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्