Techie IT
  • २८ माघ २०८१, सोमबार
KhojPatrika

हुलाकी राजमार्गमा मनोमानी, सडक नै नबनाई हस्तान्तरण ठोरीका स्थानीय आक्रोशित


काठमाडौं । हुलाकी सडकअन्तर्गत पर्साको चमरी–ठोरी खण्डको ५ किलोमिटर सडक निर्माण पूरा नहुँदै ठेकेदार कम्पनीले आयोजना हस्तान्तरण गरेपछि स्थानीय आक्रोशित भएका छन् । हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत ३० किलोमिटर लामो सडक खण्ड निर्माणको ठेक्का पाएको बानियाँ÷कालिका जेभीले काम अधुरै छाडेर आयोजना हस्तान्तरण गरेपछि यतिबेला चोतर्फी बिरोध भएको छ । ठोरी–२ र ३ को सिमानामा रहेको ठुटे खोलाको पूर्वतर्फ करिब २ सय मिटर, वडा–२ को हनुमानटारको डाँडामा करिब १ किलोमिटर सडक निर्माणको काम सकिएको छैन । वडा–४ निर्मलबस्तीमा करिब ४ सय मिटर सडक पनि बनेको छैन । वडा–३ रामनगर र वडा–१ वनशक्तिमा गरी ३ वटा रुख काट्ने अनुमति चितवन राष्ट्रिय निकुञ्जबाट नमिल्दा पनि त्यस क्षेत्रको केही सडक निर्माण अधुरै छ  ।

इन्डियन कन्सल्टेन्सीका इन्जिनियर नूर आलम र हुलाकी सडक आयोजनाका प्रतिनिधि रामनाथ चौधरीले संयुक्तरूपमा रिबन काटेर राजमार्गको हस्तान्तरण गरेका थिए । करिव ५ किलोमिटर सडक निर्माणको काम पूरा नहुँदै भाग्न थालेपछि स्थानीयले दौडधुप गरिरहेका छन् । ‘हुलाकी सडक ठोरीवासीको लामो समयदेखिको सपना थियो तर त्यसलाई अधुरै छाड्न ठेकेदार कम्पनीले बद्मासी गर्न थालेपछि स्थानीय काठमाडौंसम्म पुगेका छन् । संघर्ष समितिले काठमाडौंमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र बन तथा वातावरण मन्त्री प्रेम आलेलाई समेत भेटेका छन् । उनीहरुले बर्षोदेखिको ठोरी बासीको सपनालाई अधुरो नबनाउन आग्रह गदै तत्काल सडक निर्माणको काम अघि बढाइदिन माग गरेका छन् । यदि सडक निर्माण नभए कडा संघर्ष गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

अझ् ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले हुलाकी राजमार्ग उद्घाटन गरेका थिए । तर, हस्तान्तरणमा भने स्थानीय सरकार नै उपस्थित भएन । स्थानीय सरकारले नै जानकारी नभएजस्तो गरी पन्छिन खाजेका कारण कतै अध्यक्ष श्रेष्ठको पनि मिलेमतो त छैन् भन्ने आशंका स्थानीयले नै गरेका छन् । वीरगन्ज–ठोरी हुलाकी सडक निर्माणको माग ठोरीवासीले करिब ३ दशकदेखि निरन्तर गर्दै आएका छन् । पर्साको दुर्गम मानिने ठोरीमा सडक पुर्याउन समेत आनकानी गरिनु आश्चार्य भएको स्थानीयले बताइरहेका छन् । सडक निर्माण गर्न २०७४ कात्तिक १३ मा १ अर्ब १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७७ जेठ २ सम्म काम सक्नुपर्नेमा लकडाउन तथा अन्य कारणले काम पूरा हुन नसक्दा ६ महिनाका लागि म्याद थपिएको थियो तर त्यस अवधिमा पनि निर्माण पूरा नहुँदै सडक हस्तान्तरण भएपछि झनै विवाद उत्पन्न भएको छ ।

ठोरीवासीको सर्वपक्षीय भेलाले जगेन्द्र पौडेलको संयोजकत्वमा ‘अधुरो हुलाकी सडक निर्माण संघर्ष समिति’ नै गठन गरेका छन । जनप्रतिनिधि, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि र स्थानीयहरूको भेलाले अधुरो काम पूरा हुनुपर्ने माग गर्दै संघर्षका कार्यक्रम अघि बढाइरहेका छन् । बानियाँ/कालिका जेभीले आफै ५ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको बताइरहेको छ ।

मुआब्जा विवाद, मुआब्जा विवादमा अदालतको स्टे–अर्डर, रूख काट्न चितवन राष्ट्रिय निकुञ्जले अनुमति नदिँदा तथा स्थानीयको अवरोधका कारण उक्त काम नसकिएको बताइरहदा काम पूरा नहुँदै हस्तान्तरण गरिएको बारे भने कुनै प्रतिक्रिया दिएको छैन । सडक निर्माण सम्पन्न नै नभई हस्तान्तरण गरी त्यो पनि बीच बीचमा ठुला ठुला रुख भएको सडक खण्ड कहिले पूरा होला र आवात जावतमा सहज होला भन्दै ठोरी बासीले प्रतिक्षा गरिरहेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्