गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, विशेष अधिवेशन बोलाउन विपक्षीको माग

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो ।
अधिवेशन अन्त्यका बाबजुद पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।
अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसले बताएको छ ।
माओवादी केन्द्रले लियो समर्थन फिर्ता
अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले २५ चैतमा राजीनामा दिएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । तर, नेपाली कांग्रेससहितका दलहरुसँग मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति जुटेसँगै माओवादी संसदीय दलको नेता हरिबहादुर चुमानले समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।
अधिबेशन बोलाउन माग
प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन बोलाउन माग गरेका छन् । उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय लिएर प्रदेश प्रमुखलाई भेट्न पुगेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, #विशेष अधिवेशन
तपाईको कमेन्ट लेख्नुहोस्