पूर्वउपराष्ट्रपतिदेखि सचिवसम्मलाई ठग्दै सहकारीहरु,आनन्दनगर सहकारीको अनौठो ठगी धन्दा

काठमाडौं । हामीले सहकारीमा मौलाएको मनोमानी र सञ्चालकको ठगी धन्दाबारे निरन्तर खबर प्रकाशित गदै आएका छौं । विगतका सहकारीमा सामान्य पेशा व्यवसायबाट आएको धेरथोर कमाई अनि सुरुवातमा लगानी फसाएका केही सेयर सदस्य ठगिएको पाइने गरेकोमा काठमाडौंको धुम्बाराहीमा रहेको आनन्दनगर बचत तथा ऋण सहकारीले भने पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनालीसहितका पूर्व विशिष्ट व्यक्तिहरुमाथी नै ठगी गरेको रहश्य बाहिरिएको छ । यो सहकारीका पूर्व सञ्चालकबाट उद्योग विभागका पूर्वमहानिर्देशक ध्रुव राजवंशी, त्रिविका प्रोफेसर दीपक अर्याल लगायतका सयौँ पूर्व प्रशासक, अधिकारकर्मी, कानुनव्यवसायीदेखी सर्वसाधारणसम्म ठगीएका छन् ।
०६५ बाट सञ्चालनमा आएको यो सहकारीमा सेयरधनी प्रमाणपत्र पाएका ६ सय ७९ र प्रमाणपत्र नपाएका तीन सय २० जना सेयर सदस्य तथा सेयर सदस्यको ३३ करोड ७५ लाख हिनामिना भएको छ । सञ्चालक, व्यवस्थापक र कर्मचारीले संस्थाको रकम दुरुपयोग गर्ने, धितोले थाम्नेभन्दा बढी कर्जा लगानी गर्ने तथा प्रमाणपत्र नै जारी नगरी सेयर सदस्य बनाउने गरेपछि सहकारी डुबेको पाइएको छ । संस्थाका सञ्चालक र केही कर्मचारीको मिलेमतोमा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनालीसहित उच्च अधिकारीहरू नै ठगिएको पाइएको छ । पूर्वउपराष्ट्रपति झा र पूर्वसचिव मैनालीलगायत करिब १६ सयभन्दा बढी सर्वसाधारण सेयरधनी तथा बचतकर्ताको ५० करोडभन्दा बढी रकम हिनामिना भएको छ । सहकारीमा पूर्वसचिव मैनाली र उनका परिवारको तीन करोड तथा राजवंशी र अर्यालकोे ८०–८० लाख बचत रहेको छ ।
पूर्वउपराष्ट्रपति झा र उनको परिवारका सदस्यको नाममा करिब १८ लाख बचत रहेको पाइएको छ । यो सहकारीमा ९० जना बचतकर्ताको मात्रै करिब १९ करोड बचत रहेको छ । करिब १६ करोड कर्जा र त्यसबापतको पाँच करोड ब्याजसहित २१ करोड उठाउन बाँकी रहेको सहकारीमा निक्षेप र सेयरसहित १५ करोड उठिसक्दा पनि थप ३३ करोड ७५ लाख दायित्व बाँकी देखिएको छ । खराब कर्जा प्रवाह भएका कारण अधिकतम पाँच करोड मात्रै उठ्ने आँकलन गरिएको छ । सहकारीमा ठूला ऋणीका रुपमा तेजबहादुर लुइँटेल, सञ्जय युगल श्रेष्ठ र रवीन्द्र श्रेष्ठबाट पाँच करोड, गणेश शर्मा घिमिरे र मोहन भट्टबाट चार करोड, गणेश पुडासैनीबाट दुई करोड ५४ लाख र नरेन्द्रबहादुर चन्दबाट एक करोड २० लाख रूपैयाँ साँवा उठ्न बाँकी छ ।
विभिन्न ऋणीबाट असुल हुन नसकिरहेको करिब १५ करोड भने सहकारी पीडित संघर्ष समिति मार्फत उठाइएको छ । पूर्व सञ्चालकहरुले आफूहरुले सहकारीको बचत हिनामिना गरेको स्विकार गर्दै फिर्ता गर्ने निर्णय पुस्तिकामा प्रतिबद्धतासहितको हस्ताक्षर पनि गरेका छन् । ठगी गर्ने पूर्वसञ्चालक र व्यवस्थापकलाई दिएको रकम फिर्ता गर्न पटक–पटक अनुरोध गरी समय दिइएपनि भुक्तानी नगरेपछि सहकारी पीडित यतिबेला महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी बोकेर पुगेका छन् । सहकारीमा भीभीआईपी र भीआइपीको समेत बचत खाता रहेको भन्दै सहकारीले अन्य सर्वसाधारणबाट पनि करोडौँ बचत संकलन गरेको पाइएको छ । यसरी प्रलोभन र विश्वासमा पारेर सञ्चालक र व्यवस्थापनको मिलेमतोमा ठगी गरिएको पीडितले पूर्व सचिव श्याम मैनाली बताउने गरेका छन् ।
टोलकै स्थानीय मिलेर २०६५ सालमा स्थापना गरिएको सहकारी सुरुवाती समयमा राम्रैसँग चलेको पाइएको छ । स्थानीयकै पहलमा खुलेको सहकारीले राम्रो विश्वास आर्जन गर्दैगर्दा २०६८ सालबाट सहकारीको नेतृत्वमा आएका सञ्चालक समिति र व्यवस्थापकले भने ठगी गर्ने नियतले गलत अडिट रिपोर्ट तयार गरेर मुनाफा बढी देखाउन सुरु गरेको पीडितहरुको आरोप छ । सचिवज्यू र उपराष्ट्रपतिले पनि बचत गर्नुभएको छ भन्दै पैसा राख्नुस् भनेपछि विश्वास गरेर सहकारीमा बचत गर्दा ठगिन पुगेको कतिपय सञ्चालकले बताउने गरेका छन् ।
विश्वास र भरोसामा बचत गरेका पीडितले २०७६ मा सहकारीमा गरेको बचत माग्न जाँदा सहकारीले विभिन्न बहानामा बचत फिर्ता गर्न आलटाल गरेपछि आफूहरु ठगिएको आशंकासहित हिसाब खोज्न थालेका थिए । पछि विशेष साधारणसभा मार्फत पूर्व पदाधिकारीलाई हटाएका सेयर सदस्य र बचतकर्ताले अहिले नयाँ सञ्चालक समिति मार्फत सहकारीलाई सञ्चालनमा आएको छ भने कर्जा असुल गरेर निक्षेपकर्तालाई भुक्तानी दिन नसके तत्कालीन सञ्चालक समिति सदस्यहरूको जयाजेथा बेचेर निक्षेप दायित्व चुक्ता गर्ने निर्णय सहकारीको साधारणसभाबाटै गरिएको छ ।
केही पूर्व सञ्चालकको घरजग्गा बिक्री गरेर केही अशुल उपर गरिएपनि उच्च अदालत पाटनले तत्काल घरजग्गा बिक्री नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएपनि बाँकी असुली प्रक्रिया रोकिएको छ । फसेको कर्जा उठाउने र बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यसहित गठित नयाँ सञ्चालक समितिले अहिले तोकिएको जिम्मेवारी अनुसारको काम गरिरहेको छ । कतिपय बचतकर्ताले भने पुरानो सञ्चालक समिति र नयाँ सञ्चालक समितिले तयार गरेको दुबै अडिट रिपोर्ट बचतकर्ताहरूमाझ सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका छन् ।
सञ्चालकहरू दीपु आचार्य, शम्भुराज आचार्य, केशवराज घिमिरे, प्रदीप शर्मा पौडेल, प्रदीप खड्का र नरेन्द्र कार्कीले आ–आफ्नो घरजग्गा सहकारीको नाममा दृष्टिबन्धक पाससमेत गरिदिएका छन् । तर तत्कालीन सञ्चालकहरूको घरजग्गा बिक्री गर्ने विषयमा विवाद बढ्दै उच्च अदालतसम्म पुगेको मुद्धाका कारण सातजनाको घरजग्गा बिक्रीबाट करिब २९ करोड रुपैयाँ उठाएर सेयर सदस्य र बचतकर्ताको हिसाब मिलान गराउने वर्तमा सञ्चालक समितिको योजना बिचैमा रोकिएको छ ।
०७७ फागुन २२ को विशेष साधारणसभाबाट कर्जा उठाउने र बचतकर्तालाई फिर्ता गराउने म्यान्डेट पाएको नयाँ सञ्चालक समितिले विगतका पदाधिकारिले सुनियोजित रूपमा रकम दुरुपयोग गरेको पुस्ट्याईसहित सेयर सदस्य र बचतकर्ताको रकम फिर्ता गराउँदै सहकारीको शाख जोगाउँछ । यसको प्रतिक्षा भने गर्ने पर्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आनन्दनगर बचत तथा ऋण सहकारी, #सहकारीको अनौठो ठगी धन्दा, #सहकारीमा मौलाएको मनोमानी
तपाईको कमेन्ट लेख्नुहोस्