Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

दुई बर्षपछि सार्वजनिक भए बिप्लव, न बुझाए हतियार न त दिए विवरण


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार नवलपरासीबाट झिसमिसेमै सार्वजनिक भए । सरकारले बिहीबार उनको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै उनी सार्वजनिक भएका हुन् । नलवपरासीका सहिद परिवारलाई भेटेर सडक मार्ग हुँदैै काठमाडौं आएका बिप्लव सामाखुसीको एउटा होटलमा पुगे । त्यहाँबाट बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग वान टु वान संवाद गरेर राष्ट्रियसभा गृह पुगेर दुई बर्षदेखि भूमिगत भएका बिप्लव सार्वजनिक भए । दुई दिनअघिसम्म प्रहरीले पक्राउका लागि खोजिरहेका विप्लव अन्ततः प्रहरीकै स्कर्टिङमा राजधानी छिरेका थिए । उनी चितवन प्रहरीको स्कर्टिङमा काठमाडौं आएको बताइएको छ ।

विप्लवको सुरक्षाका लागि उनीसँग भएका २२ जना दुई वटा गाडीमा उनीसँगै काठमाडौं आएका थिए । यसअघि १० वर्षे सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीका नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सोझै बालुवाटार अवतरण गरेका थिए । तर, विप्लव भने हेलिकोप्टरको साटो गाडीमै बालुवाटर छिरे । उनलाई पनि सरकारले हेलिकोप्टरबाट काठमाडौं ल्याउन भनेको थियो । तर, विप्लवले नै हेलिकोप्टरमा चढेर आउन इन्कार गरेर प्रहरीको स्कर्टिङमा काठमाडौं आएका हुन् । सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीनबुँदे सहमति भएको थियो । उनको पार्टीका तर्फबाट खड्गबहादुर विश्वकर्मा र सैन्य विभागका प्रमुख उदय चलाउने ‘दीपक’ थिए । सरकारका तर्फबाट भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश विभाग सल्लाहकार राजन भट्टराई थिए । त्यही वार्ता टोलीबाट सहमति जुट्यो र बिप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा सम्बोधन गर्न काठमाडौं पुगे ।

सरकारले विप्लव समूहलाई २८ फागनु २०७५ मा प्रतिबन्ध लगाएको हो । यसअघि उनी अर्ध–भूमिगत अवस्थामा थिए । ११ फागुनमा ललितपुरको एनसेल कार्यालयको गेटअघि गराइएको बम विस्फोटपछि सरकारले विप्लव समूहमाथि राजनीतिक प्रतिबन्ध लगायो । त्यसयता विप्लव समूहका २ हजारभन्दा बढी नेता÷कार्यकर्ता पक्राउ परे । माथिल्लो तहका नेताहरू हेमन्त प्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ प्रहरीको नियन्त्रणमा परे । आफू भन्दा तल्लो तहका नेता पक्राउ पर्दा विप्लव भने देशका चारवटा सुरक्षा संगठनका आँखा छल्न सफल भए । प्रतिबन्धको दुई वर्षसम्म विप्लव समूहले कुनै पनि सुरक्षा निकायको ब्यारेकमा हमला गरेन ।

पूर्वी क्षेत्रका केही जिल्लामा भने विप्लव समूहले प्रहरी चौकी आसपास हवाई फायर गरेका थिए । यद्यपि दोहोरो भिडन्त भने भएन । प्रहरीसँगको मुठभेडमा भने विप्लवतर्फ केही क्षति भयो । भोजपुरमा २५ असारमा प्रहरीको गोली लागेर नीरकुमार राईको ज्यान गयो । उक्त मुठभेडमा प्रहरी जवान सञ्जीव राईले समेत ज्यान गुमाए । विप्लव समूहसँगको मुठभेडमा सुरक्षा निकायतर्फ ज्यान गुमाउने राई एक्ला हुन् । त्योबाहेक प्रहरीको गोली लागेर भोजपुरकै तीर्थ घिमिरे र सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको पनि प्रहरीको गोलीबाट ज्यान गयो । त्योबाहेक १२ जेठ २०७६ मा सिंहदरबारको पर्खालमा बम विस्फोट गर्ने गरी गरेको तयारीका क्रममा सुकेधारा, घट्टेकुलो र चन्द्रागिरीमा आफैँ विस्फोटनमा परेर आठ जनाले ज्यान गुमाए ।

कैलालीको विस्फोटनमा पनि एक जनाको ज्यान गयो । यसबाहेक २ हजारभन्दा बढी कार्यकर्ता प्रहरीको नियन्त्रणमा परे । ती कार्यकर्ता पनि अव शान्तिपूर्ण राजनीतिमा आएपछि केही छुटिसके भने केही छुट्ने क्रममा छन् । दश बर्षे शसस्त्र बिद्रोह गर्दाको माओवादी यहिले छिन्नभिन्न भएको छ । जनताका मुद्धा भन्दा पनि आफनो राजनीति कहाँ सुरक्षित र चर्चामा आउछ भन्ने खोज्दै जादा माओवादीका नेताहरु स्वार्थ केन्द्रीत भएको देखिन्छ । हतियार उठाउने उद्घोष र भूमिगत समेत भएका बिप्लव शान्तिपूर्ण राजनीतिमा आउनु पक्कै पनि सुखद पक्ष हो ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सार्वजनिक भए बिप्लव

तपाईको कमेन्ट लेख्नुहोस्