Techie IT
  • १६ मंसीर २०८०, शनिबार
KhojPatrika

मधेश आन्दोलनको १४ बर्ष, नेता फेरिए जनता उस्तै


मधेश र मधेशीको पहिचान, अधिकार, संस्कृति र संघीयताका नाममा भएको मधेश आन्दोलनले १४ बर्ष पूरा गरेको छ । संघीयतासहितको स्वायत्त मधेश प्रदेश र पहिचानसहितको अधिकारका लागि १४ वर्ष अघि मधेशी जनताको नाममा तत्कालिन मधेशी जनअधिकार फोरमको अगुवाइमा आन्दोलन भएको थियो । २०६३ माघ ५ गतेका दिन सिरहाको लहानमा भएको आन्दोलनमा विद्यार्थी नेता रमेश महतोको मृत्यु भएपछि यो दिनलाई मधेशवादी दलले बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । २०६३ पछि पनि २०७२ सालसम्म उनै मधेश केन्द्रीत दलहरुले पटक–पटक आन्दोलन गरिरहे । त्यो आन्दोलन चलिरहेकै बेला २०७२ मा संविधान जारी भयो । संविधान जारी भएपछि मधेशी मोर्चाले त्यसलाई संशोधन गनुपर्छ भन्दै आन्दोलन गर्यो । संविधान संशोधनका लागि भएको आन्दोलन नाकाबन्दीसम्म पुग्यो । विना सम्झौता नाकाबन्दी पनि हट्यो र आन्दोलन पनि सकियो । तर, संविधान संशोधन हुन सकेन । अहिले पनि मधेशवादी दलहरुको माग संविधान संशोधन नै छ ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा मधेश आन्दोलन र शहीदले देखाएको मुक्तिको बाटो लगायतका मुद्दा खुबै उठाइयो । त्यहि मुद्धा समाएर जसपा बिघटित प्रतिनिधिसभाको तेस्रो ठूलो दल बन्यो । प्रदेश २ मा सरकार पनि बन्यो । प्रदेश सरकार यतिबेला के गरिरहेको छ स्वयम् मुख्यमन्त्री र मन्त्रीहरुलाई समेत पत्तो छैन् । सधैं संघीय सरकारलाई गाली गर्ने मुख्यमन्त्री लालबाबु राउतले मधेशी जनताका लागि के गरिरहेका छन् जान्न पाए हुन्थ्यो । महन्थ ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो, अनिल झा,राजकिशोर यादव, महेन्द्रराय यादव लगायतका दर्जनौ नेताहरु मधेशबाट जन्मिए । तर,मधेशी जनताको पिडा, ब्यथा सम्बोधन गर्ने बाचा सहित काठमाडौं छिरेका उनै नेता जनतालाई बिर्सीए । जनता साँझ र बिहानको गास कसरी टार्ने भन्ने चिन्तामा रहदा नेताहरु भने महल कसरी बनाउने भन्ने सोचमा लागे ।

बलिदानी दिवस मनाउदा मधेश केन्द्रीत दलका नेताहरुले के गरे समिक्षा गर्ने बेला आएको छ । सत्ता र कुर्सीको लालचमा आन्दोलनको जगलाई कमजोर बनाइएको छ । अझ ‘पहिलो मधेश आन्दोलनपछि गठन भएको संविधानसभाको समयमा मधेशवादी दल कुर्सीको चक्करमा यसरी फसे कि मधेशको माग र मुद्दा समेत विर्से । राज्यले मधेशमा आर्थिक, समाजिक, साँस्कृतिक विभेद गर्यो र त्यसको विरुद्ध सडकमा उतार्ने जनता जस्ताको तस्तै हुँदा नेता कसरी फेरिए । काठमाडौंलाई हल्लाएको मधेश आन्दोलन काठमाडौंले जनयुद्ध स्वीकार गर्यो मधेश आन्दोलनलाई भने स्वीकार गरेन । केही उपलब्धि भएन भन्ने होइन मुलुकमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन केही मद्धत गर्यो होला ।

१२ वर्षमा त खोलो फर्किन्छ भन्छन् तर १४ वर्ष बित्तिसक्यो, मधेशको अवस्थामा तात्त्विक अन्तर आएकै छैन । मधेशी जनताको न्यायिक अधिकार प्राप्तिको लागि उठेको आन्दोलनले उठाएका मागहरु अझै पूर्ण रुपमा सम्बोधन भएकै छैन । यतिबेला फेरि चुनावको चर्चा चलेपछि संसद पुर्नस्थापना भन्दै नेताहरु गाउँ गाउँमा पुगिरहेका छन् ? तर, एकता भएको जनता समाजवादी पार्टीमा को ठूलो कसको बरियता को पछि ? भन्ने मात्रै होइन पदीय भागबण्डा समेत मिलेको छैन् । अव नेताहरु गाउँ पस्दा सोध्नुहोस् तपाईहरुलाई हामीले नेता बनाएको कुर्सी र पदका लागि हो त ?


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख
ट्याग : #मधेश र मधेशीको पहिचान, #संघीयता

तपाईको कमेन्ट लेख्नुहोस्