Techie IT
  • २५ माघ २०८१, शुक्रबार
KhojPatrika

चिठ्ठा परेका मन्त्री योजनाविहिन,सिंहदरबारमा खादा, माला र पुष्पगुञ्छा ग्रहण गर्दै


काठमाडौं । सिंहदरबार अरु दिनभन्दा आइतबार केही चहल–पहल बढी थियो । कारण हो नवनियुक्त मन्त्रीको पदबहाली र पूराना मन्त्रीको पनि मन्त्रालय हेरफेर । दिनभर मन्त्रीहरुको बिदाई र स्वागतका लागि मन्त्रालयका कर्मचारीलाई भ्याईनभ्याई थियो । नेकपा बिभाजनसँगै चिठ्ठामा मन्त्री बनेकाहरु मात्रै होइन मन्त्रालय हेरफेर भएका मन्त्रीहरु समेत योजना विहिन जिम्मेवारी सम्हालेका छन् । नेकपा बिभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार हतार–हतार मन्त्रिपरिषद पुर्नगठन गरे ।

प्रचण्ड–नेपाल समूह छोडेर पूर्व माओवादीका नेताहरु आफूलाई साथ दिन आएपछि प्रधानमन्त्री ओलीले अधिकांश नेतालाई सम्मान स्वरुप मन्त्री बनाइदिए । साहेद यो मन्त्री पद उनीहरुका लागि चिठ्ठा नै परेको हो । किनकि प्रचण्ड–नेपाल पक्षीय नेताहरुले राजीनामा दिएसँगै प्रदेश सभामा पराजित भएकादेखि सांसद नै नभएका नेता समेत मन्त्री बन्ने सौभाग्य पाए । आइतबार सिंहदरबारमा चहल–पहल अलि बढी थियो । मन्त्रालयका कर्मचारीहरुलाई मन्त्रीको बिदाई र स्वागत गर्न भ्याईनभ्याई थियो । त्यसैले पनि होला नयाँ मन्त्री स्वागत गर्नेबेलासम्म अधिकांश मन्त्रालयमा मन्त्रीको नेम प्लेट फोटोकपी पेपेरमा प्रिन्ट गरेर टाँसिएको थियो भने केही मन्त्रालयमा मन्त्रीको नाम समेत राख्ने फुर्सद मिलेको थिएन । पुञ्पगुञ्छादेखि खादा मालाको ब्यवस्थापन गर्न पनि कर्मचारी दौडिरहेका थिए ।

प्रतिनिधिसभा बिघटनपछि काम चलाउन बनेको सरकारका मन्त्रीहरु पनि मन्त्रालयको गेटदेखि नै कर्मचारीको स्वागत र नेता कार्यकर्ताको बधाईले घेरिएका थिए । शुक्रबार राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ खाएपछि पक्कैपनि मन्त्रालयमा मैले यो नयाँ काम सुरु गर्छु अर्थात् मेरो प्राथमिकतामा यी बिषय रहनेछन् भन्ने नवनियुक्त मन्त्रीहरुले योजना बनाउनुपर्ने हो । तर, पदबहाली गर्दा मन्त्रीहरु भने आफ्नै मन्त्रालयको कामबारे समेत अनबिज्ञ देखिन्थ्ये । उनीहरु भन्दै थिए मन्त्रालयका सचिवसँग परामर्श गरेर मात्रै योजना बनाउछु ।

एक मन्त्रालयबाट अर्को मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री समेत कामबारे अलमलमा देखिन्थ्ये । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा पठाइएकी मन्त्री शिवमाया तुम्हाम्फे त कर्मचारीले टेवुलमा फाइल लुकाउने काम नगर्नु भन्दै सचेत गराईन । ९ मन्त्री थपिदा र ६ मन्त्रीको हेरफेर हुँदा युवा तथा खेलकुद मन्त्रीबाट हटाइएका जगत बिश्वकर्माले प्रधानमन्त्री ओलीलाई साथ दिन आफू बाहिरिएको दाबी गरे । राजनीतिक परिघटनाले आफूले ५ बर्ष काम गर्न नपाएको भने उनको गुनासो थियो ।

नेकपा बिभाजनको घटनाले मन्त्रीको हेरफेर र नयाँ मन्त्री बने । तर, राजनीतिक घटनाक्रम कुन मोडमा जाने हो कुनै टुंगो छैन् । जसका कारण विगतमा मन्त्री बनेकाहरुमा जस्तो यसपटक त्यति धेरै उत्साह देखिदैन् । त्यसैले पनि होला योजना बिहिन भएर नवनियुक्त मन्त्रीहरु सिंहदरबार प्रबेश गरेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नवनियुक्त मन्त्री

तपाईको कमेन्ट लेख्नुहोस्