Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

चितवनमा प्रधानमन्त्री ओली बिरुद्ध बोलेको भन्दै सुरेन्द्र पाण्डेमाथि दुब्र्यवहार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई चितवनमा आफनै कार्यकर्ताले लखेटेका छन् । चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनता तथा कार्यकर्ताले लखेटेका हुन् । राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएता पनि विकास निर्माणको बारेमा कुरै नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै आफ्नै कार्यकर्ताले लखेटेका हुन् ।

चितवनमा रहेका पाण्डेले विभिन्न कमिटीलाई कार्यक्रम आयोजना गर्न भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउदै आएका थिए । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री विरुद्ध बेइज्यत मात्र नगरी जनतालाई भ्रमको खेती गरेको समेत कार्यकर्ताले आरोप लगाएका छन् । आफ्नो क्षेत्रमा विकासको नेतृत्व समेत गर्न नसक्ने पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अबस्थामा पुर्याउन पाण्डेको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यकर्ताले लखेटेका थिए । नेता पाण्डे चितवनको विकासका लागि नभई जनता तथा कार्यकर्तालाई भड्काउन आएको कार्यकर्ताको आरोप छ ।

यसैबीच नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजी प्रति भत्र्सना गरेका छन् । नेता नेपालले शनिवार विज्ञप्ति जारी गर्दै पार्टी काममा लागिरहेका नेता पाण्डेमाथि सुनियोजित रुपमा अभद्र व्यवहार भएको भन्दै छानबिनको माग गरेका हुन् । गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले मन्तव्य राख्दै गर्दा केही ब्यक्तिहरूले सुनियोजित रूपमा अभद्र गरेको व्यवहार तथा नाराबाजीको नेता नेपालले निन्दा गरे । ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य गर्ने र गराउने जोसुकै भएपनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण नेता नेपालले बिज्ञप्ती मार्फत गराएका छन् ।

त्यस्तै, वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डेमाथि सुनियोजित रुपमा दुर्व्यवहार गरिएको आरोप लगाउँदै संलग्नलाई कारबाहीको माग गरेका छन् । शनिबार साँझ विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भर्त्सना गरेका छन् । यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी चल्ने दुई वटा आधार भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्ने बताएका हुन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं