थपियो नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी

काठमाडौं । नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप भएको छ। मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप्ने निर्णय गर्दै स्वीकृत गरेको हो। केही दिनअघि निर्णय भए पनि स्वीकृत भएर बिहीबारमात्रै गृह मन्त्रालयमा दरबन्दी स्वीकृतको पत्र आएको हो । पाँचजना डीआईजीको दरबन्दी थपका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। तर, मन्त्रिपरिषद्ले एक एआईजीको दरबन्दी पनि थप गरेको छ।
नेपाल प्रहरीमा हाल प्राविधिकसहित चारजना एआईजी रहेकोमा एक दरबन्दी थप भएसँगै अब एआईजीको संख्या पाँच पुगेको छ भने डीआईजीको संख्या १९ पुगेको छ। गत चैतमा १२ डीआईजीको दरबन्दी कटौती गरेर १४ बनाइएको थियो। अब ५ थप भएसँगै १९ पुगेको छ। नेपाल प्रहरीमा यसअघि १६ एआईजी र ४१ डीआईजीको दरबन्दीसमेत कायम गरिएको थियो। थपिएको दरबन्दीमा एआईजी बढुवा हुने व्यक्ति नै अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अनिवार्य अवकाश पाएपछि प्रहरी महानिरीक्षक बन्नेछन्।
नयाँ दरबन्दी कायम भएसँगै प्रहरीमा रोकिएको बढुवा अगाडि बढ्ने देखिएको छ। थपिएको एक एआईजीको दरबन्दीमा बढुवाका लागि प्रमुख दाबेदारका रुपमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल देखिएका छन्। थपिएको एआईजीको दरबन्दी पनि उक्त कार्यालयमा नै राखिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीआईजी सहकुल थापा र प्रदेश नम्बर २ का डीआईजी धिरजप्रताप सिंह पनि भावी आईजीपीको प्रमुख दाबेदार हुन्। तर, अहिले थपिएको एआईजीमा तत्कालै उनीहरुको बढुवा हुन सक्ने अवस्था देखिँदैन। पोखरेल सिनियर डीआईजी भएकाले उनी नै एआईजीमा बढुवा हुन सक्ने देखिएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाल प्रहरी
तपाईको कमेन्ट लेख्नुहोस्