Techie IT
  • १९ मंसीर २०८०, मंगलबार
KhojPatrika

हल अफ फेम सिजन २ को घोषणा


काठमाडौं । विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेको बेला गायन प्रतिभा प्रोत्साहनका लागि प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेम सिजन २ हुने भएको छ । नेपाल र नेपालभन्दा बाहिर विश्वका कुना–कुनामा छरिएर रहेका नेपालीहरुलाई नेपाली गीत संगीतको माध्यमबाट जोड्दै उनीहरुको सिर्जनात्मकतालाई निखार्दै संगीत क्षेत्रलाई एउटा प्रतिभाशाली सर्जक प्रदान गर्ने उदेश्यका साथ हल अफ फेम सिजन २ हुने भएको हो । पहिलो सिजनभन्दा अझ बृहद बनाउँदै लाखौं दर्शक श्रोतामाझ लैजाने जमर्को आयोजकले गरेको छ ।

हल अफ फेमलाई एमएनटीभी अष्ट्रेलियाका साथै नेपालको एक राष्ट्रियस्तरको टेलिभिजनबाट समेत प्रशारण हुनेछ । हल अफ फेम सिजन २ को निर्णायकको भूमिकामा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र चर्चित गायिका रजिना रिमाल रहने छन् । कार्यक्रमको सञ्चालन गर्ने जिम्मेवारी मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठले पाएकी छन् । प्रतिस्पर्धामा सहभागीताका लागि आगामी नोभेम्बर १५ सम्म आवेदन दिन सकिनेछ । निर्धारित समयसीमाभित्र प्राप्त प्राप्त भएका गीतहरुमध्येबाट टप ५० को छनोट गरी निर्णायक मण्डल समक्ष प्रस्तुत गरिने अयोजकले जनाएको छ । त्यसपछि क्रमशः खुला प्रतिस्पर्धामा समावेश गर्दै सर्वोत्कृष्ट गायक वा गायिकाको चयन हुनेछ ।

दर्शकले अफिसियल फेसबुकमार्फत अभिव्यक्त गरेको मत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा निर्णय हुने आयोजकले जनाएको छ । हल अफ फेम सिजन २ उपाधि जित्ने प्रतियोगीले पाँच लाख नेपाली रुपैयाँ बराबरको प्याकेज प्राप्त गर्नेछन् । जसमा एक लाख नगद, गीत रेकर्ड, म्युजिक भिडियो निर्माण लगायतको प्याकेज समावेश छ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन वेवसाईट www.hof@mntvonline.com पनि सञ्चालनमा ल्याइएको छ । एमएनटीभी अष्ट्रेलिया सन् २०१२ मा स्थापना भएको अध्यक्ष चन्द्र योञ्जन छन् भने सम्पादकीय नेतृत्व चिरञ्जीवी देवकोटाले गरेका छन् ।

हल अफ फेम सिजन २ को संयोजन संस्थाका ब्रान्ड म्यानेजर रमन झा र चर्चित म्युजिक भिडियो निर्देशक जीवन रसाईलीले गर्नेछन् । कार्यक्रमलाई मेट्स ईन्टरनेशनल र क्वीन्सफोर्ड कलेजले मुख्य प्रायोजन गरेको छ भने आरजीआईटी अष्ट्रेलिया, अल्टिमेट ईन्ष्टिच्युट अफ अष्ट्रेलिया युआईएले प्रायोजन गरेका छन् । यस्तै सिटी एक्सप्रेस मनी ट्रान्सफर, ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन, काठमाडौं प्रोपर्टीजको पनि साथ रहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #हल अफ फेम सिजन २

तपाईको कमेन्ट लेख्नुहोस्