Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

उपत्यकामा कोरोना बिरामीलाई आइसियू पाउनै धौ–धौ


काठमाडौं । उपत्यकामा कोरोना संक्रमितलाई आईसीयू पाउन गाह्रो हुन थालेको छ । गम्भीर प्रकृतिका संक्रमितलाई भर्ना गर्नका लागि सरकारी तथा नीजि क्षेत्रका काठमाडौ उपत्यकाका अस्पतालहरुमा आईसीयू पाउनै मुश्किल छ । निजी अस्पतालको आईसीयूमा खर्च बढी लाग्ने भएकाले धेरै बिरामी सरकारी अस्पतालमै जान चाहन्छन्  । तर, सरकारीमा आईसीयू पाउनु भनेकै आकाशको फल झै हुन थालेको छ । कोरोना महामारीका कारण आईसीयू र भेन्टिलेटर चाहिने बिरामीको संख्या दिनदिनै देशैभर बढ्दै छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ। जसमध्ये ११ हजार ७ सय १७ जना संस्थागत आइसोलेसनमा र १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा छन्। ४ हजार ४६० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये अस्पताल र मन्त्रालयले भदौ ५ मा सार्वजनिक गरेको विवरण अनुसार मुलुकभर ९ सय ८४ आईसीयू शय्या छन् भने भेन्टिलेटरको संख्या ४ सय ९० मात्रै रहेको छ । नीजि र सरकारी अस्पतालका आईसीयू र भेन्टीलेटर भरिई सकेका छन् । जनस्वास्थ्यबिद् डाक्टर शेरबहादुर पुनः आईसीयू र भेन्टीलेटरको अवस्था आउनुभन्दा पहिल्यै आफु सचेत हुनु जरुरी रहेको घारणा राख्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५ क्याबिनसहित २५ बेडको आइसोलेसेन सेन्टर भरिएको छ । २० बेडको आईसीयू र ६ बेडको भेल्टिलेटर पनि भरिएको छ ।

वीर अस्पतालमा ३ सय आइसोलेसनमा २६ वटा आईसीयू र २६ भेन्टिलेटर प्रयोग भइरहेको छ । छाउनीमा ८० आइसोलेसन, २० आईसीयू र ८ भेन्टिलेटर बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ । त्यसमध्ये आइसोलेसनमा २२ र भेल्टिलेटरमा २ बेड खाली छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा १०२ आइसोलेसन, १० आईसीयू र २ भेन्टिलेटर छन् । नेपाल प्रहरीका कर्मचारी र उनका परिवारलाई मात्र भर्ना लिने गरिएको यो अस्पतालको आइसोसलेनमा ९४ र आईसीयूमा २ जना उपचाररत छन् ।

सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ विशेष अस्पतालमा १२० आइसोलेसन, २० आईसीयू बेड भरिएका छन् । ८ मध्ये ४ वटा भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ । कान्ति बाल अस्पतालमा लेभल टू र थ्री गरेर २४ आइसोलेसन, ८ आईसीयू र ४ भेन्टिलेटर छन् । आइसोलेसनमा १० बेड खाली छ । आईसीयूमा चार संक्रमितको उपचार भइरहेको छ । स्टार अस्पतालले कोभिडका विरामीका लागि २० आइसोलेसन, २ आईसीयू र २ भेन्टिलेटर बेड छुट्याएको थियो । यो सबै भरिएको छ । किस्ट अस्पतालमा लक्षण नभएकाहरुका लागि ३०, लक्षण भएकाहरुका लागि १० बेडको आइसोलेसन छ । आईसीयू ४ र भेन्टिलेटर २ वटा छुट्याइएको छ ।

सरकारी अस्पतालमा शैया अभाव भएपछि संक्रमितहरू निजी अस्पतालमा समेत भर्ना भएका छन् । नर्भिक, स्टार, ग्रान्डी, ह्याम्स, अल्का, बीएन्डबी, जनमैत्री, मेघा, बयोधा लगायतका निजी अस्पतालमा संक्रमितको उपचार भइरहेको छ  । ह्याम्स अस्पतालमा संक्रमितलाई छुट्याइएको १७ बेडको आईसीयू र नर्भिक अस्पतालको १५ वटै आईसीयू खाली छैनन् । दैनिक मन्त्रालयमा आईसीयूकै लागि सयौ फोन आउन थालेका छन् भने नीजि अस्पतालमा भर्ना हुन आउने पनि फर्किनु पर्ने अवस्था आएको छ ।

मन्त्रालयले संक्रमितको संख्या सुनाउनुभन्दा कुन अस्पतालमा कति आईसीयू र भेन्टिलेटर खाली छन् भनेर जानकारी दिने गरे सर्वसाधारणलाई सहज हुने उनिहरुको धारणा छ । मन्त्रालयले असोज ९ पछि यस्तो विवरण सार्वजनिक गर्न छाडेको छ । बेड नपाएर अस्पतालको कोभिड इमर्जेन्सीमा बिरामीहरु थुप्रिन र मर्न थालिसकेका छन् । मन्त्रालयको ११३३ मा फोन उठ्दैन । आईसीयू मात्र होईन सरकारी अस्पतालमा अब त जनरल बेडको पनि अभाव हुन थालिसकेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आईसीयू पाउन गाह्रो, #संक्रमितको संख्या

तपाईको कमेन्ट लेख्नुहोस्