Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

कांग्रेसमा कोरोना असर : नेताहरु आइसुलेसनमा,रोकियो केन्द्रीय समिति बैठक


काठमाडौं । कोरोना महामारिका कारण प्रभावित हुँदै आएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन झन झन अनिश्चित बन्न थालेको छ । फागुन ७ देखी १० सम्मको यसअघि निर्धारित मितिमा महाधिवेशन सम्भव नदेखिएपछि सोमबारका लागि बोलाइएको केन्द्रिय समितिको बैठक पार्टीका ७ केन्द्रीय सदस्य सहित २० जनामा कोरोना संक्रमण देखिएपछि आगामी २५ गतेसम्मका लागि स्थगित भएको छ । आन्तरिक किचलोमा रुमलिएको कांग्रेस पार्टीका नेतामै कोरोना देखिएपछि थप अन्यौल बन्न लागेको हो त ?

सोमबारको बैठकमा कोरोना महामारीलाई कारण देखाउँदै कार्यसमितिको म्याद थप्ने र महाधिवेशनको मिति सार्ने तयारी भएपनि पार्टीकै नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसभित्र थप अन्यौल बढेको छ । बैठकको पूर्वसावधानीका लागि भन्दै गरिएको स्वाब परिक्षणका क्रममा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठसँगै काठमाडौं बाहिर परीक्षण गराएका केन्द्रीय सदस्यद्धय रमेश रिजाल र अजयकुमार चौरसियामा कोरोना पुष्टि भएको छ ।

केन्द्रीय सदस्य, स्वकीय सचिव, सुरक्षाकर्मी, चालक गरी २० जनामा कोरोना पोजेटिभ देखिएपनि उनीहरु सबै होम आइसोलेसन बसेका छन् भने बाँकी नेताहरु बैठक कसरी गर्ने भन्ने भर्चुअल छलफलमा जुटेका छन् । कोरोना संक्रमणका कारण स्थगित बैठकले सभापति शेरबहादुर देउवालाई भने केही भएपनि आराम दिलाएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलसँगै पार्टी उपसभापति बिमलेन्द्र निधी महामन्त्री शशांक कोइराला लगायतका नेताहरुको असन्तुष्टी र आक्रोश केही दिन सुन्नु नपर्ने भएको छ । तर दिनप्रतिदिन बैठक प्रभावित भइरहँदा सिंगो कांग्रसलाई भने घाटा हुने देखिन्छ ।

गत पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बहुमतले आगामी फागुन १९ गतेसम्मका लागि एक वर्ष म्याद थपेर आगामी फागुन ७–१० मा महाधिवेशन गर्ने मिति निर्धारण गरेकोमा सो मितिमा समेत कांग्रेसले १४ औँ महाधिबेशन गर्ने सम्भावना टरेको छ । संविधानतः अब कांग्रेसले १३ औं महाधिवेशनबाट निर्वाचित समितिहरुको म्याद फागुन १९ देखि ६ महिना मात्रै थप्न सक्छ । नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तिमा पाँच वर्षमा एकपटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भनिएको छ ।

संविधानको यही व्यवस्था प्रयोग गरेर ६ महिना कार्यसमितिको म्याद थप्ने र त्यही समयभित्र महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेस आन्तरिक किचलो र कोरोनाबाट थप प्रभावित भएमा २०७८ भदौँ १९ पछि अबैधानिक बन्नेछ । केन्द्रीय कार्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको कांग्रेस भर्चुअलमाध्यमबाट केन्द्रीय कार्यसमिति बैठक गर्ने विकल्पबारे पनि छलफलमा छ ।

कोरोना भन्दापनि कांग्रेस पार्टी सभापतिको एकलौटी निर्णय र बरिष्ठ नेता पौडेलको भागबण्डाको माग अनि असहयोगले समस्यामा परेको भन्दै दुबैलाई आत्माआलोचना सहित सुध्रिन माग गर्नेहरुको जमात पनि कांग्रेसमा बढेको छ । आगामी भदौँ १९ सम्म महाधिवेशन सक्नैपर्ने बाध्यात्मक संबैधानिक व्यवस्थामा बाधिएको कांग्रेस आन्तरिक किचलो साम्य गरेर पार्टीलाई जिवन्त बनाउन कसरी अघि बढ्छ । यसका लागि आगामी निर्णय र पार्टी तथा नेताहरुका गतिबिधि पर्खनुपर्ने हुन्छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेसमा कोरोना असर


तपाईको कमेन्ट लेख्नुहोस्