Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन २ हजार ७ सय २२ कोरोना संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिन संक्रमण पुष्टी भएको यो संख्या अहिलेसम्मकै धेरै हो । आज पुष्टी भएकामध्ये काठमाडौं उपत्यकामा मात्रै १६ सय ३८ जना रहेका छन् । यसमध्ये काठमाडौंमा सर्वाधिक १२ सय ८०, ललितपुरमा १ सय ६२, र भक्तपुरमा १ सय ९६ गरी कुल १६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभरका प्रयोगशालामा १४ हजार ७ सय ३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सगंै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । बितेको २४ घण्टामा थप ३ हजार ३ सय ७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६ सय ९६ पुगेको गौतमले बताए । नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।

विगत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबार नियमित प्रेस व्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुषसहित ११ जनाको मृत्यु भएको हो । पछिल्लो पटक मोरगका २७ बर्षीय पुरुष, ललितपुरका ३२ र ७० बर्षका पुरुष भक्तपुरका ६१ र ५१ महिलाको निधन भएको छ ।

त्यस्तै काठमाडौका ६७ वर्षीया महिला, मकवानपुरका ७८ वर्षका पुरुष तथा रुपन्देहीका ६० बर्षका पुरुष, बाँकेका ५२ र ५९ बर्षका पुरुष र सुर्खेतका ७५ बर्षीया महिलाको निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभरमा रहेका सक्रिय संक्रमितको संख्या घटेर २१ हजार २ सय ३४ मा झरेको छ बिहिबार संक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको थियो ।

घनावस्तिमा संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नागरिकले अपनाउनुपर्ने मापदण्ड अपनाउन मन्त्रालयले अनुरोध गरेको छ । आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । आइसीयूमा २ सय १० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् । हाल मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका छन् । मनाङ, मुस्ताङ र डोल्पा जिल्ला संक्रमणमुक्त रहेका छन् । मन्त्रालयका अनुसार हाल ४ हजार ८ सय ८५जना क्वारेन्टाइनमा छन् । आजसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण

तपाईको कमेन्ट लेख्नुहोस्