Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

गुटबाट मन्त्री छान्दै नेकपा अध्यक्षद्धय ओली र प्रचण्ड


काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय र स्थायी कमिटि बैठकले सरकारलाई थप गति दिन मन्त्रीमण्डल पुर्नगठन छिट्टै गर्न निर्देशन दियो । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटक–पटक छलफलमा पनि जुटिरहेकै छन् । तर, मन्त्री हुने आकांक्षीहरु बढी हुँदा कति मन्त्री फेर्ने र कति मन्त्री थप्ने भन्ने समेत अध्यक्षद्धयले टुंगो लगाउन सकेका छैनन् । भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले निश्चित मापदण्डको आधारमा मन्त्रीहरू हेरफेर गर्नुपर्ने लगायतका निर्णय गर्यो । त्यसपछि पेरिसडाँडामा बसेको सचिवालय बैठकले पनि मन्त्री र मुख्यमन्त्री फेरबदलमा जोड दियो ।

सोही दुई बैठकको निर्णय कार्यान्वयनका लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर छलफलमा जुटिरहेका छन् । तर, अध्यक्षद्धय ओली र दाहाललाई मन्त्री फेरवदलको निर्णय नै सुनाउन गाह्रो परेको छ । मन्त्रीमण्डल पुनर्गठनको चर्चा चलेसँगै सत्तारुढ दल नेकपाका नेताहरु समेत दौडधुपमा छन् । जसका कारण अध्यक्षद्धयबीच भएको छलफल नै बाहिर आउन सकेको छैन् । यतिबेला २२ मन्त्रालयमध्ये सूचना तथा सञ्चार, अर्थ र सहरी विकास मन्त्रालय मात्र रिक्त छन । तर, मन्त्रीका आकांक्षी भने धेरै छन् ।

अवको मन्त्री हुने लाइनमा नेता भीम रावल, डाक्टर बेदुराम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, जनार्दन शर्मा, हरिवोल गजुरेल, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देवेन्द्र पौडेल, प्रभु साह, गणेश ठगुन्ना, प्रेम आले, तुलसा थापालगायतका नेताहरु छन् । राष्ट्रिय सभामा मनोनित भएका नेकपा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र सुवास नेम्वाङ पनि मन्त्री बन्ने चर्चाको सूचीमा छन् । तर, नाम बाहिर आएका सबैलाई मन्त्री बनाउने हो भने अहिले भएका सवै मन्त्रालय खाली गर्नुपर्ने हुन्छ ।

नेकपामा अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु प्रधानमन्त्रीबाहेक अहिलेका सवै मन्त्रिहरु हटाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली मन्त्रीको काम हेरेरै परिवर्तन गर्नुपर्ने पक्षमा उभिएका छन् । सरकारको ५ बर्षे कार्यकालमध्ये साढे २ बर्ष व्यतित भइसकेको छ । यस बीचमा नेकपामा उत्पन्न विवादले सरकारका काममा समेत बाधा गर्यो ।

झण्डै दुई तिहाई बहुमतसहित २०७४ साल फागुन ३ गते ओली प्रधानमन्त्री बने यता पटक–पटक मन्त्रीहरुको हेरफेर भैइसकेको छ । तर, राम्रालाई भन्दा पनि हाम्रालाई प्राथमिता दिदा सरकारको कामले गति लिएको छैन् । यसअघि मन्त्री बनाउदा नेताका नजिकहरुलाई बनाएको भन्दै अबदेखि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्न स्थायी समितिले अध्यक्षद्धयलाई जिम्मेवारी दिएको थियो ।

आइतबार पनि बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल भयो । तर, पार्टीका नेताहरुमा भागबण्डा, गुटउपगुटका नेतालाई हटाउने या नहटाउने र मन्त्री कसरी छनौट गर्ने भन्नेमै अध्यक्षद्धयलाई सकस परेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अध्यक्षद्धयलाई सकस, #मन्त्रालय खाली, #मन्त्रीमण्डल पुनर्गठन


तपाईको कमेन्ट लेख्नुहोस्