पिसिआर परिक्षणका लागि टेकु अस्पताल पुगेकाको गुनासो : घरबेटीले पस्नै दिएनन्

काठमाडौं । लामो दुरीका यातायात सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका भित्रिनेहरुको संख्या ह्वात्तै बढेको छ । राजधानी फर्किएकाहरु अहिले कोरोना संक्रमण छ कि छैन भन्दै पीसीआर परिक्षणका लागि ठूलो सास्ती खेप्न बाध्य छन । सर्वसाधारण पीसीआरकै लागि काठमाडौंको टेकुमा रहेको अस्पतालबाहिर घण्टौं लाइनमा सास्ती खेपिरहेका छन् । तर, सरोकारवाला निकाय टुलुटुल हेरिरहेका छन् । दृश्यले एकातिर काठमाण्डौमा भाडामा बस्ने सर्वसाधारणको एउटा पिडा देखाउछ भने अर्को तिर घरबेटीको अमानविय ब्यवहार देखिन्छ ।
सरकारले असोज १ गतेदेखि लामो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेपछि काठमाडौं उपत्यका भित्रिनेहरुको लर्को नै लाग्यो । तर, भित्रिने संख्या बढ्दै जाँदा उपत्यकामा कोरोना संक्रमित पनि ह्वात्तै बढे । जसका कारण उनिहरुलाई घरमा प्रवेश गर्न घरबेटीको अवरोध नै चलिरहेको छ । घरबेटीको एउटै भनाई छ नेगेटिभ पिसिआर रिपोर्ट देखाए मात्रै घरभित्र प्रवेश दिन्छु । घरबेटीहरुको यहि शर्तका कारण टेकु अस्पतालमा रातभर र दिनभर लाइन लाग्नुपर्ने बाध्यता छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड १९ को परीक्षणका लागि मानिसहरुको यस्तो भिड लागेर अस्तव्यस्त भएपछि स्वास्थ्य मन्त्रालयले थप स्थानमा निशुल्क परीक्षणको व्यवस्था गर्ने तयारी गरेको थियो । काठमाडौं उपत्यकाका अरु १० वटा प्रयोगशालामा तत्कालै कोभिड १९ संक्रमणको क्षेत्रबाट आएका मानिसका लागि निःशुल्क आरटी पीसीआर परीक्षण गर्ने व्यवस्था गर्ने भनेर भनिएपनी त्यसको सञ्चालन त परको कुरा तयारी समेत गरिएको छैन । निर्णय गरेको ३ दिनपछि जाँदा पनि टेकुको भिड्भाड घटेको छैन । पीसीआर परीक्षणका लागि ‘टोकन’ लिन अघिल्लो दिन रातभर लाइन लाग्ने गरेका छन् । एउटै ब्ल्याङकेटभित्र ५÷६ जनासम्म सुतेका दृश्यले अझै राज्यको कुनै निकायलाई छुएको छैन् । सामाजिक दूरी र सुरक्षा मापदण्डबिना कोही सुतेका र कोही ननिदाई बसेका सयौं व्यक्ति लाइन लागेका दृश्यहरु दैनिक सार्वजनिक भइरहेका छन् ।
अस्पातलले सीमित परीक्षण गर्ने हुनाले सर्वसाधारण अघिल्लो दिनदेखि लाइनमा बस्न बाध्य भएका हुन् । एक दिनमा २ सय ८० जनालाई मात्र जाँच गर्दै आएको अस्पतालले अघिल्लो सातादेखि यो संख्या बढाएर ५ र ६ सय सम्म पु¥याएको छ । तैपनि ती सबैको पीसीआर परीक्षण भने हुँदैन, चिकित्सकले सोधपुछ र जाँचका क्रममा ‘आवश्यक पर्ने’ ठानिएका व्यक्तिको मात्र परीक्षण गरिन्छन् । तर, घरबेटीको त्रासमा पिसिआर गर्न उनीहरुलाई निक्कै सकस परेको छ । रोगको त्राससँग र भोकसँग लड्न नसक्दा वाध्य भएर काम खोज्दै राजधानी भित्रिएकाहरुसँग खल्तीमा दाम हुँदो हो त यसरी मध्यरातमा भोलिको उज्यालो प्रतीक्षा गर्दै बस्ने थिएनन् होला । सत्ता वा कुनै राजनीतिक दलसँग पहुँच हुन्थ्यो भने यिनीहरु यहाँ यसरी लाइन लाग्ने बाध्यतामा पनि हुदैनथे होला ।
लकडाउन को बेलामा सरकारको अमानविय ब्यवहारको सिकार भएकाहरु अहिले सरकारको लाचारीपन र घरबेटीको अभद्र व्यबहार सहन वाध्य छन । निर्णय गरेर केही राहत दिन खोजेजस्तो गरेपनी मन्त्रालयको ढिला सुस्तीका कारण अझै पनि रातभर दिनभर लाइनमा बसेर पिसिआर गर्नुपर्ने बाध्यता कहिले हट्ने कुनै टुंगो छैन् । दैनिक दश÷१२ हजार मात्रै पिसिआर परिक्षण गर्दा दैनिक कोरोना संक्रमण करिव १५ सयको हाराहारीमा भेटिइरहेका छन् । सो संक्रमितमध्ये काठमाडौं उपत्यकाका आधा हुन्छन् । संक्रमित संख्याले काठमाडौं उपत्यका कोरोना संक्रमणले भयाबह स्थिति नआउला भन्न सकिन्न ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य
ट्याग : #नेगेटिभ पिसिआर, #राजधानी फर्किएकाहरु
तपाईको कमेन्ट लेख्नुहोस्