Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

बिदेशदेखि स्वदेशसम्म ठगिदैं छन् नेपाली, उद्धारको नाममा कमाउ धन्दा


काठमाडौं । कोरोना महामारी बढ्दैगर्दा विश्वका विभिन्न देशमा पेशा, व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारण छरिएर रहेका नेपालीहरुले स्वदेश फर्काइदिन सरकारसँग हारगुहार गरे । कोरोनाकै कारण, मलेसिया, दुबई, कतार, साउदी अरब, ओमान इजरायल लगायतका देशमा हजारौँ नेपालीहरुको रोजगारी गुम्यो । लुकुछिपी अबैधानिक तरिकाले नै भएपनि विभिन्न देशमा बसेर आर्थिक उपार्जन गरेकाहरुले समेत महामारीको समयमा सरकारको साहारा खोजे । सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा विदेशमा अलपत्र परेका नेपालीहरुले गरेको हारगुहारपछि बल्लतल्ल सरकारले जेठ २९ गतेबाट उद्धार उडानको सुरुवात गर्यो । तर, तालिका सार्वजनिक भएसँगै बेखर्ची बनेका आफ्नै नागरिक स्वदेश ल्याउन महंगो भाडा लिइएको भन्दै सरकारको आलोचना सुरु भयो ।

केही दिनमै भाडादर थोरै भएपनि घट्यो । र पनि बेखर्ची बनेका, विदेशमा कोरोना महामारीले अफ्ठेरोमा परेकाहरुले सरकारबाट रातहको अनुभुति गर्न पाएनन् । नियमित भन्दा केही महंगो टिकट काटेर तथा कार्यरत कम्पनीसँग हारगुहार गरेर ५८ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सरकारी खर्चमा उद्धार गर्ने लिष्ट विदेशका विभिन्न देशमा तयार भएपनि उडान भर्नेगरी कोटा नपुगेको भन्दै अहिलेसम्म ल्याइएको छैन । चार्टर्ड उडानमा ४० देखि ४५ हजारमा आउन पाइने दुबईबाट आउँदा अहिले ७० हजारसम्मको टिकट विक्री भइरहेको छ । टर्कीस र कतार एयरको उडानमा भने सस्तो टिकट नै पाइदैन, अझ यी विमान कम्पनीले सिमित एजेन्सीलाई मात्रै टिकट जारी गर्ने सुविधा दिइ अभाव देखाएर ठगी गरिरहेका छन् ।

उडान भाडा महंगो लिएको भन्दै बिरोध र गुनासो धेरै भएपछि नेपाल एअरलाइन्सलले भने हवाईभाडा निर्धारण गर्दा क्लासमा वर्गीकरण गरेर गर्ने भएकाले भाडा बढी र कम हुने गरेको स्पष्ट पारेको छ । नेपाल एअरलाइन्सको हङ्कङ्–काठमाण्डौ र नारिता–काठमाण्डौका लागि भाडा दर एउटै तोकिएको छ । हङ्कङ्–काठमाण्डौँका लागि हंकङ क्रोनर ४१ सय ९८ र नारिता– काठमाण्डौका लागि ७६ हजार ३ सय जापानी एन तोकिएको छ । मलेसिया–काठमाण्डौँका लागि एअरलाइन्सको भाडादर चार प्रकारको छ ।

सबैभन्दा महंगो ५६ हजार हाराहारी र सस्तोमा ४१ हजार रहेको छ । कुनै क्लासको ५१ हजार २ सय त कुनैको करिब ४६ हजार नेपाली तोकिएको छ । तर, मलेसिया काठमाडौंका लागि भन्दै cleartrip.com मा राखिएको क्वालालम्पुर काठमाडौंको यो भाडादर एकपटक हेर्नुहोस् । यहाँ मलेसिया एयरलाइन्सको ८३ हजार १ सय ९२ र कतार एयरलाइन्सबाट मलेसिया काठमाडौं उडानको ३ लाख २७ हजार ४०७ तोकिएको छ । दुबई–काठमाण्डौका लागि सबैभन्दा महंगो नेपाली साँढे ६७ हजार र सस्तो करिब ५६ हजार नेपाली रुपैया कायम गरिएको छ । बाँकी कुनै क्लासको ५८ हजार नेपालीदेखि साँढे ५४ हजार आसपासमा भाडादर कायम गरिएको छ ।

हुनत, विभिन्न एयरलाइन्सहरुले महंगो उडान भाडा लिएको गुनासो आएसँगै नेपाल नागरिक उड्ड्यन प्राधिकरण मार्फत सचेत गराउने निर्णय भयो । नेपालीहरूको स्वदेश फिर्ता लगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिवको संयोजकत्वमा चार सदस्यीय समिति पनि बन्यो । तर, उद्धार उडानको ठाउँमा नियमित उडान खुल्दा समेत महंगो भाडा तिर्नुपर्ने बाध्यता कायमै छ । होला केहीलाई कम्पनीले टिकल काटिदियोहोला, आफ्नो लगानी परेन । तर विभिन्न कारणबस गैह्रकानुनी बनेर स्वदेश आउनुपर्नेहरु उडान भाडाको चर्को मारमा परेका छन् । करार सकिएको लामो समयसम्म विदेशमै बस्नुपरेर स्वदेश आउनेको उडानभाडा आफैले तिर्नुपरेको छ, त्यो पनि सामान्य समयको भन्दा दोब्बर । नेपाल एयर लाइन्सको उडान भाडाका तुलनामा अन्य कम्पनीको भाडादर निक्कै महंगो छ । सारजाह, आबुधावी र दुबइको भाडा चार्टर्डभन्दा करिब दोब्बर अशुलिएको छ । सारजाहको ९६ हजार ४ सय भाडा तिर्नुपर्दा दुबईबाट काठमाडौं आउनेले ९३ हजार ४ सय तिर्नुपरेको छ । युएइका तीनवटै गन्तव्यमा चार्टर्ड उडान ४७ हजार ७ सय हाराहारीमा थियो ।

मलेसियाको चार्टर्ड भाडा ४ सय डलरसम्म रहेकोमा अहिले ६५० भन्दा बढी अशुलिदैछ । दक्षिण कोरिया र जापानको चार्टर्डभन्दा न्यून भाडा तिर्नुपरेपनि कोरोनाका कारण मारमा परेका आप्रवासी नेपाली श्रमिकले स्वदेश आउनका लागि उडान भर्नुपर्ने मुलुकको भाडादर भने सामान्य भन्दा दोब्बर छ । उडान भाडामा मात्रै होइन्, स्वदेश आएपछि घर वा क्वारेन्टिन जानेक्रममा गाडी भाडामा समेत विदेशबाट आउनेहरु ठगिएका छन् । सरकारले निर्धारण गरेको भन्दा महंगो भाडा अशुलेर यात्रुसँगै ब्यवसायी समेत ठग्ने काम भइरहँदा समेत व्यवस्थापन गर्ने र नियमन गर्ने सरकारी निकायहरु मौन छन् ।

यातायात क्षेत्रका बिचौलीयाले सरकारी संयन्त्रसम्मको सेटिङमा विदेशबाट आउनेमाथी ठगी गरेको स्वयम यातायात व्यवसायीहरु नै स्विकार गरिरहेका छन् । विदेशबाट नेपाल भित्रिन महंगो उडान भाडा, स्वदेश आएसँगै गाडी चढ्न दोब्बरदेखि तेब्बरसम्म भाडा । यसरी आफूले उद्धार गरेजस्तो देखाएर विदेशमा अफ्ठ्यारोमा परेका आप्रवासी नेपालीहरुलाई महंगो टिकट काट्न लगाएर विदेशदेखी स्वदेशसम्म ल्याउने अनि ठगीन बाध्य बनाउने कि राहत र सहुलियतको अनुभूति गराउने सरकार ? विदेशदेखि स्वदेशसम्म जताततै ठगिनुपरेका यात्रुहरु यस्तै प्रश्न गरिरहेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #उद्धारको नाममा कमाउ धन्दा, #एअरलाइन्स, #हङ्कङ्–काठमाण्डौँ

तपाईको कमेन्ट लेख्नुहोस्