राष्ट्रकवि घिमिरेको १०१ बर्षमा निधन, महाकाव्य ‘ऋतम्भरा’ प्रकाशनको अन्तिम चरणमा
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ। उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो । उनी गत असोजमा १ सय १ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् । राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो ।
राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका थिए। राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ प्रकाशनको अन्तिम चरणमा रहेको बताइएको छ । उनले जीवनका सार खिचेर उक्त महाकाव्य लेख्दै गरेको र आफूलाई प्रकाशनको हतार नरहेको घिमिरेले बताउँदै आएका थिए। पहिलो पत्नीको निधनपछि दोस्रो बिहे गरेका घिमिरे लामो समयदेखि राजधानीको लैनचौरमा बस्दै आएका थिए ।
योग र ध्यानलाई आफ्नै दैनिक जीवनको हिस्सा बनाएका घिमिरेको गौरी खण्डकाव्यमा उनले आफ्नी पहिलो पत्नी गौरीको निधनको मार्मिक बिलौना गरेका छन् । उमेर बढ्दै गएसँगै र पछिल्लो वर्षको अस्वस्थताको कारणले घिमिरेलाई केही औषधि खानु परे पनि उनी १०१ वर्षसम्म पनि स्वस्थ्य जीवन नै बाँचेका थिए । गत २०७४ साल फागुन २ गते उनलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा नेपाल आर्मीले सलामी दिनेछ। उनको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, साहित्य
ट्याग : #माधवप्रसाद घिमिरे
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्