Techie IT
  • २० मंसीर २०८१, बिहीबार
KhojPatrika

काठमाडौं उपत्यकामा जग्गा किन्ने सोचमा हुनुहुन्छ ? ललितपुरमा प्रति आना १२ सय मात्रै


काठमाडौं । काठमाडौं उपत्यकामा जग्गा किन्ने र घर बनाउने कसलाई पो रहर हुँदैन र ? तर, काठमाडौं उपत्यकामा दुई तीन आना जग्गाको मुल्य नै करोडौं पर्छ । जग्गाका बिचौलिया मार्फत किन्ने हो भने त त्यो भन्दा पनि बढी । काठमाडौं उपत्यकामा जग्गा किन्न सामान्य जागिर भएको मान्छेले सक्दैन् । सरकारी मूल्यांकन हेर्ने हो भने सबैले जग्गा किन्न सक्छन् र घर बनाउन पनि सक्छन् । केही दिनअघि मात्रै काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम गरिएको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७/ ०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन सार्वजनिक गरेको हो । कोरोना भाइरसले समग्र क्षेत्रमा असर परेको भन्दै समितिले अधिकांश क्षेत्रको न्युनतम् मूल्याङ्कनमा क्नै परिवर्तन नगरेको हो ।

हरेक वर्ष जग्गाको मूल्याङ्कन गर्ने प्रजिअको नेतृत्वको समितिमा सम्बन्धित जिल्ला समन्वय समिति प्रमुख, करदाता सेवा कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधि सदस्य हुन्छन् । सो क्षेत्रको मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत समितिको सदस्य सचिव रहने व्यवस्था छ । उनीहरुले नै जग्गाको मूल्यांकन गर्ने गर्दछन् ।
ललितपुरमा प्रति आना १२ सय मात्रै
ललितपुरका विकट क्षेत्रहरुमा जग्गाको मूल्य निकै सस्तो छ । ३ आनाको घँडेरी किन्न काठमाडौंमा करोडौं मुल्य पर्छ । ललितपुरको गोटीखेलमा भने प्रति आना १२ सय न्युनतम् मूल्यांकन भएको प्रतिबेदनमा छ । मालपोत कार्यालय गोटीखेल मातहतका क्षेत्रमा तोकिएको यो प्रति आना जग्गाको मुल्य प्रति आना १२ सय मात्रै तोकिएको छ ।

त्यस्तै, गिम्दी, चन्दनपुर, ठुला दुर्लुङ, बुखेल, मानिखेल, शंखु लगायतका गाउँका जग्गाको लागि आव ०७७/७८ को न्यूनतम मुल्याङ्कन पनि सोही बराबर छ । गोटीखेल क्षेत्रमा सबभन्दा महंगो भनेको रोपनीको ३ लाख ५० हजार रुपैयाँ हो । कालोपत्रे सडक भएका ठाउँहरुमा ३ लाख ५० हजार रुपैयाँ प्रति रोपनी तोकिएको छ भने अरु ठाउँमा २० हजार प्रति रोपनी तोकिदा यहि दरले एक आनालाई १२ सय मात्रै पर्छ ।

लगनखेल, जावलाखेल, कुपण्डोल लगायतका क्षेत्रमा प्रति आना ३५ लाख ५० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको हो । गोदावरी नगरपालिकाको कालोपत्रे सडकले छोएको क्षेत्रमा १२ लाख र बाटो नभएका जग्गाहरु आनाको ७५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । सैँबु आवासीय क्षेत्रमा भने १९ लाख २० हजार रुपैयाँ प्रति आना मूल्याङ्कन छ । ललितपुरको महाकाल गाउँपालिकामा पनि एक रोपनीको मूल्यांकन जम्मा २० हजार रुपैयामात्र छ ।
काठमाडौंमा भने महंगो
काठमाडौंका पनि अधिकांश क्षेत्रको जग्गाको मूल्यांकन गत आर्थिक बर्षकै कायम गरिएको छ । काठमाडौंको हनुमानढोका, रत्नपार्क, ठमेल, इन्द्रचोक, न्यूरोड, माइतिघर, दरवारमार्ग, कमलादीलगायत क्षेत्रमा प्रतिआना ६० लाख रुपैयाँसम्म मूल्याङ्कन छ । काठमाडौंमा सस्तो भनेको दक्षिणकाली नगरपालिका क्षेत्रका जग्गा देखिएको छ ।

दक्षिणकाली नगरपालिकामा बाटो नभएको जग्गाको मूल्याङ्कनप्रति आना २५ हजार रुपैयाँ तोकिएको छ । राम्रो सडक भएको ठाउँमा भने प्रति आना ४ लाख ५० हजार रुपैयाँसम्म मूल्याङ्कन गरिएको छ । काठमाडौं जिल्लामा सबभन्दा सस्तो जग्गा भनेको प्रति आना २५ हजार रुपैयाँ मूल्यांकनमा छ ।
भक्तपुरमा मूल्यांकन १२ हजारदेखि २४ लाखसम्म
भक्तपुरमा प्रति आना १२ हजार १०० रुपैयाँदेखि २३ लाख ७६ हजार रुपैयाँसम्म मुल्यांकन तोकेको छ । भक्तपुरको साविक सिपाडोल गाविसको अरनिको राजमार्गसँग जोडिएका जग्गाहरुको न्युनतम् मूल्य प्रतिआना २३ लाख ७६ हजार मूल्यांकन गरिएको छ । सोही क्षेत्रभित्र प्लानिङ भएको ठाउँमा पक्की बाटो भएको जग्गाहरुका लागि प्रति आना ८ लाख ७१ हजार २ सय तोकिएको छ भने कच्ची बाटो भएको क्षेत्रहरुमा प्रतिआना ६६ हजार ६ सय देखि ७ लाख २६ हजार रुपैंयासम्म तोकिएको छ ।

भक्तपुरको विभिन्न क्षेत्रहरुमा गोरेटो बाटो भएका जग्गाहरु प्रति आना १ लाख ८ हजार ९ सयदेखि २ लाख ६६ हजार २ सय रुपैयाँसम्म मूल्यांकन गरिएको छ । बाटो नभएको जग्गाको मूल्य प्रति आना १२ हजार १ सय रुपैयाँ देखि ५३ हजार ३ सयसम्म तोकिएको छ ।

किन्नै नसकिने गरी महंगिएको काठमाडौं उपत्यकाका जग्गाको मुल्य राजश्वको लागि मात्र मूल्यांकन कम राखेर सरकारलाई छल्दै आएका छन् । ब्यवसायीले सरकारी मूल्यांकन जति भएपनि खरिदकर्ताले त्यो मूल्यमा जग्गा पाउदैनन् । जग्गा किनबेच गर्दा सरकारलाई तिर्नुपर्ने राजश्व भने यही मूल्याङ्कनअनुसार निर्धारण गरिने हुँदा राज्यलाई नै खुलेआम छलि भइरहेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जग्गा किन्ने र घर बनाउने, #जग्गाको नयाँ मूल्याङ्कन

तपाईको कमेन्ट लेख्नुहोस्