कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो, संक्रमित १९ हजार २ सय ७३

काठमाडौं । भारतबाट आएका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण धरानमा बुधबार मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या नेपालमा ५२ पुगेको छ। बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा ४० वर्षीय व्यक्तिको मृत्यु भएको हो । विराटनगरबाट गम्भीर अवस्थामा रहेका उनलाई दिउँसो कोशी अस्पताल विराटनगरले धरान लगिएको थियो। मंगलबार कोशी अस्पतालको फिवर क्लिनिकको जाँचका क्रममा शंकास्पद देखिएका ब्यक्तिमा अक्सिजनको कमी देखिएको थियो। भारतबाट आएका ती ब्यक्तिमा कोरोना संक्रमणको शंका गरिएपछि राति नै पीसीआर नमूना परिक्षण गरिएको थियो । उपचारका क्रममा उनको शरीरमा ७० प्रतिशत मात्र अक्सिजनको मात्रा देखिएको थियो ।
विराटनगरबाट ल्याइएको विरामीको अपरान्ह पौने चारबजे निधन भएको हो। यससँगै धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि, प्रदेश २ का दुईजनाको उपचारका क्रममा मृत्यु भएपनि प्रदेश १ बाट मानवीय क्षति भएको यो पहिलोपटक हो। यसअघि बुधबार नै वीरगञ्जमा कोरोना संक्रमणका कारण दुई जना बृद्धको ज्यान गुमेको छ।
एकै दिन २ सय १० जनामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ। मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १३, पर्साका ३४, भक्तपुरका १, धादिङका ७ र कपिलवस्तुका २ जनाका कोरोना पुष्टि भएको छ। यस्तै काठमाडौँका १४, नवलपरासीका २, रौतहटका १, महोत्तरीका १, बाग्लुङका ७, स्याङ्जाका २६, म्याग्दीका २, तनहुँका १, सुर्खेतका १, बैतडीका २, डोटीका ५२, कैलालीका ८ तथा कञ्चनपुरका ८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १४६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुलसंख्या १४ हजार २१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ। यस्तै हालसम्म देशभर १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्। देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत रहेका छन्। जसमा प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा १ हजार ९ सय ८२, बागमती प्रदेशमा ४ सय ८३ र गण्डकी प्रदेशमा २ सय ८८ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १, कर्णाली प्रदेशमा ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना आइसोलेसनमा रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस
तपाईको कमेन्ट लेख्नुहोस्