Techie IT
  • ५ असोज २०८०, शुक्रबार
KhojPatrika

काठमाडौंको भिडभाडले उब्जाएको प्रश्न,कोरोनाको त्रास कायमै


काठमाडौं । तीन महिना सुनसान बनेका काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप ह्वात्तै बढेको छ । सरकारले लकडाउन हटाएको घोषणा गरेसँगै काठमाडौं उपत्यकामा आवात–जावत बढेको हो । सबै यातायात ब्यवसायीले बिहिबारदेखि यातायात सञ्चालन गर्ने निर्णय गरे । नीजि सवारी साधनको जोरबिजोर प्रणाली समेत हटेका कारण बिगतमा जस्तै काठमाडौं उपत्यकामा जाम शुरु मात्रै भएको छैन् बजारमा पनि निक्कै चहल–पहल बाक्लिएको छ । कालिमाटी, कोटेश्वर, जडिबुडी, बानेश्वर, त्रिपुरेश्वर लगायतका क्षेत्रहरुमा सवारी साधनको चाप हुँदा उपत्यकाका ब्यापारिक केन्द्रहरुमा सर्वसाधारणको घुइँचो लागेको छ ।

ट्राफिक प्रहरीलाई पनि यातायात सञ्चालनका लागि सहजता बनाउनका लागि दौडधुप देखिन्छ । गत चैत ११ बाट सुरु भएको लकडाउन १ सय २० दिनपछि अर्थात मंगलबार मध्यरातिबाट सरकारले अन्त्य भएको घोषणा गरेको थियो । जसरी सरकारले नेपालमा दुई जनामा कोरोना भाइरस संक्रमण देखिने बित्तीकै कसैसँग सल्लाह वा छलफल नै नगरी लकडाउन सुरु गर्यो त्यसरी नै संक्रमित संख्या १९ हजार नजिक पुग्दा लकडाउन अव खुला भएको जानकारी गरायो । बन्दाबन्दी अर्थात् लकडाउन खुला भएसँगै काठमाडौं उपत्यका मात्रै होइन शहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम पनि बढ्दो छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेको छ । २५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने सरकारले निर्णय गरेपनि स्वास्थ्य सर्तकता नपनाएरै मानिसहरु जम्मा हुन थालेका छन् । भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधिसमेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले बारम्बार सल्लाह दिइरहेका छन् । व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम हुन नसक्दा कोरोना भाइरसको जोखिम बढ्ने सम्भावना देखिएको छ । बिस्तारै देशैभर बजार क्षेत्र पुरानै अवस्थामा फर्किन थाल्दा न मुखमा माक्स हुन्छ न त कोरोनाको त्रास नै देखिन्छ । चोक–चोकमा त मानिसहरुको ठेलमठेल गरेर हिँड्न थालेका दृश्य थुप्रै देखिन्छन् ।

अझ सरकारले त कोरोना परिक्षणको दायरा नै ह्वात्तै घटाएको छ । असार १५ बाट परिक्षणको दायरा बढाएर प्रत्येक दिन १० देखि १५ हजार स्वाब परिक्षण गर्ने घोषणा गरेको सरकारले बरु असार १५ पछि उल्टै मुस्किलले ३÷४ हजार परिक्षण गरिरहेको छ । संक्रमित क्षेत्रबाट काठमाडौं भित्रिएकामा कोरोना पहिचान भइरहँदा स्थानीय संक्रमण पनि छिटफुट रुपमा देखिएका छन् । काठमाडौंका केही ढलमै कोरोना पहिचान हुँदा समुदायस्तरमै विस्तार गरेको आँकलन पनि गरियो । तर, परिक्षणको दायरा बढाएर संक्रमणको वास्तविक अवस्था पत्ता लगाउनुपर्ने सरकार उल्टै जनतामा बढ्दै गरेको कोरोनाको त्रासदी हटाउन लकडाउन पूर्णरुपमा खोलेको घोषणा गरिरहेको छ । यतिबेला सरकारी कार्यालय, उद्योगधन्दा, ठूला तथा साना पसल, निर्माण क्षेत्र, बैंक तथा वित्तीय संस्था, भाटभटेनी सपर मार्केटलगायत खोलिएको छ ।

बिभिन्न बाहनामा हरेक दिनजसो दूरी नै कायम नभई आन्दोलन समेत भइरहेका छन् । जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही खुकुलो गरेको मात्रै भनिदैगर्दा, आम सर्वसाधारण स्वतन्त्र भएका छन् । सडकमा देखिएका सवारी साधन र मानिसको चहलपहलले कोभिड–१९ संक्रमणको त्रास बिर्साइदिएको मात्रै छैन थप जोखिम बढ्ने संकेत तर्फ सरकारको समेत ध्यान गएको छैन् । हुनत् स्वास्थ्य बिज्ञको रुपमा रहेका डाक्टर भोला रिजालले सरकारलाई बारम्बार सुझाव दिदादिदैं कोरोना परिक्षणको दायरा घटाएको भन्दै बैठकमा नै नजाने घोषणा समेत गरेका थिए । रिजालको भनाईबाट प्रष्ट देखिन्छ सरकारले बिज्ञको सुझाव भन्दा पनि आफनो स्वबिकेकले काम गरिरहेको छ । जसका कारण थप जोखिम बढाइरहेको छ ।

आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरेको भनिदैगर्दा शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटिपार्लर स्वीमिङ पुल लगायतका क्षेत्र भने बन्द नै छन् । आन्तरिक तथा बाह्य हवाई उडान मात्रै होइन लामो दुरीका यातायात पनि ठप्पै छन् । यी दर्जनबढी क्षेत्रमा सञ्चालनको प्रतिबन्ध लगाएपनि अन्य क्षेत्रको भिडभाड थेग्नै नसक्ने गरी बढिरहेको छ । अव नागरिक आफै कोरोना संक्रमणको जोखिमबाट बच्न तदारुकता देखाऔं ।
– दुई मिटर दूरी कायम गरौं
– कतै निस्किँदा अनिवार्य रूपमा मास्कको प्रयोग गरौं
– साबुनपानीले बारम्बार हात धुऔं
– हात नाकमुखमा नलैजाऔं
– स्यानिटाजरको प्रयोग गरौं
– कार्यस्थलमा जमघट नगरौं
व्यवस्थित तरिकाले मास्क लगाउँदा संक्रमणको जोखिम कम हुने बिश्व स्वास्थ्य संगठनले नै बताइरहदा शहर बजारमा कतिपय मानिस माक्स विना नै हिडडुल गरिरहेका छन् । तसर्थ नेपालमा कोरोना नियन्त्रण भएर लकडाउन पूर्ण रुपमा खुलेको नभई संक्रमण हुँदाहुँदै लकडाउन केही खुकुलो बनाइएको अर्थमा बुझ्नुपर्ने चिकित्सकहरु बताउँछन् । घर, बजार, काम गर्ने अफिसदेखी सार्वजानिक यातायात जताततै संक्रमणको जोखिम रहेकोले बिगतभन्दा थप सचेत र सजग बनौं ।

भौतिक दुरी कायम गर्ने बानिको विकास गरौँ । जनस्वास्थ्यमाथी गम्भिर नबन्ने सरकारको मुख ताक्ने होइन अब तपाई हामी हरेक व्यक्ति–व्यक्ति सचेत बनौँ । तपाई हामी सतर्क भएनौं भने कोरोनाकै कारण ठूलो जनधनको क्षति हुनसक्छ । सचेत भएर आफू पनि बचौँ अरुलाई पनि बचाऔँ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #भिडभाड

तपाईको कमेन्ट लेख्नुहोस्