Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

सिन्धुपाल्चोकमा चन्दा आतंक मच्चाउँदै काठमाडौंका पाकेटमार नाइके


काठमाडौं । पटक पटक विभिन्न अपराध गरेको आरोपमा जेल बस्दै छुट्दै गरेका सिन्धुपाल्चोकका सुमन श्रेष्ठले अहिले पुनः नयाँ धन्दा सुरु गरेका छन् । उनले सिन्धुपाल्चोकका अधिकांश साना ठूला निर्माण व्यवसायी तथा व्यापारीहरु धम्क्याएर चन्दा आतंक मच्चाउन थालेका छन् । केही समयअघि मात्र लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त भएका सुमन श्रेष्ठले छुटे लगत्तै सिन्धुलाल्चोक गएर साना तथा ठूला निर्माण व्यवसायी र व्यापारीलाई धम्काएर जबरजस्ती चन्दा आतङ्क मच्चाउन थालेको ब्यापारीहरु बताउँछन् । धम्क्याएकै कारण उनले आफू र परिवारलाई केही गर्छन्की भन्ने डरले पीडितहरु प्रहरीमा उजुरी सम्म गर्न सक्दैनन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक निर्माण व्यवसायी भन्छन् – करिव ४/५ जनाको समूहमा आएका उनले १ लाख ५० हजार रुपैयाँ सहयोग भन्दै मागे । आफू सानो व्यवसायी भएकाले सहयोग गर्न नसक्ने भन्दा उनले धम्क्याएँ अनि बाध्य भएर १ लाख रुपैयाँ चन्दा दिएर चुपचा बसें । उनि जस्तै पीडित व्यापारीहरु अहिले सिन्धुपाल्चोकमा धेरै छन् । अहिले पनि श्रेष्ठले निरन्तर रुपमा सिन्धुपाल्चोकका ठेकेदारहरुलाई हतियार देखाएर ज्यान मार्ने धम्की दिँदै जबरजस्ती रकम उठाउने गरेको व्यावसायीको गुनासो छ । श्रेष्ठको गतिविधिले सिन्धुपाल्चोकका व्यापारी दिक्क भएका छन् ।

नाम बताउन नचाहेका सिन्धुपाल्चोकका एक निर्माण व्यवसायीले भने, ‘मागेको रकम दिन पर्ने रे, नदिए तेरो परिवारको के होला भन्ने हतियार देखाउने उसको त्रासले बाहिर निस्कन मुस्किल समेत भयो ।’ परिवारलाई मार्ने धम्की दिएका कारण श्रेष्ठविरुद्ध पीडितहरु प्रहरीमा उजुरी गर्ने डराउने गरेका छन् । श्रेष्ठले सस्तोमा सुन र डलर छ भन्दै विभिन्न व्यक्तिलाई एकान्तमा बोलाउने अनि हतियार देखाएर भएको रकम र सरसामान लुटपाट समेत गर्ने गरेको पाइएको छ ।

यस बाहेक उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा समूह नै बनाएर श्रेष्ठले पाकेटमारीको धन्दा सञ्चालन गर्दै आएको प्रहरीले यसअघि नै खुलासा गरेको थियो । श्रेष्ठलाई प्रहरीले पटक–पटक पटके कारवाही गरेको थियो । श्रेष्ठले सिन्धुपाल्चोकका युवाहरुलाई काठमाडौँ ल्याएर आफ्नो समूहमा समावेश गरी पाकेटमारी, चोरी लुटपाट जस्ता कार्यमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । श्रेष्ठले काठमाडौंको बौद्ध क्षेत्रमा समेत जबर्जस्ती चन्दा माग्ने गरेको स्थानीय व्यापारीले बताएका छन् ।

को हुन् सुमन ज्यापु ?
सिन्धुपाल्चोक जिल्लाको जुकुल गाउँपालिका ३ घर भएका सुमन श्रेष्ठ (ज्यापु) केही समयअघि मात्र लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त व्यक्ति हुन् । प्रहरी रेकर्डमा लागुऔषध मुद्दा मात्र होइन, राजधानीमा हुने पाकेटमार समुहका नाईके भनेर उनको नाम दर्ता छ ।

उनले उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा समूह नै बनाएर श्रेष्ठले पाकेटमारीको धन्दा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुमन पाकेटमारी, चोरी, लुटपाट जस्ता मुद्दामा पटक–पटक जेल पर्दै छुट्दै गर्ने व्यक्ति हुन् । अहिले पनि उनि सिन्धुपाल्चोकलाई आधारक्षेत्र बनाएर आफ्नो धन्दा मच्चाउँदै आएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पाकेटमार नाइके

तपाईको कमेन्ट लेख्नुहोस्