Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

खुल्यो लकडाउन, केही क्षेत्रमा भने प्रतिबन्ध कायमै


काठमाडौं । सरकारले मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन अन्त्य गरेको घोषणा गरिएको हो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने छ । सरकारले मंगलबार रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै गरिएको छ । यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भने भदौ १ गतेबाट गर्न सकिने सरकारले निर्णय गरेको छ । शैक्षिक संस्थाहरु भने दूरशिक्षाकै माध्यमबाट मात्र चलाउनुपर्नेछ ।

साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । खोलिएका होटलहरुमा सेमिनार र भेला गर्न भने पाइने छैन् । सरकारले भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवत जावत बन्द गरिएको छ । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर कुलिछिपी आएको खण्डमा कानून अनुसार कारवाही गरिनेछ ।

अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ । सबै खुला गरिने क्षेत्रले जनस्वास्थ्य मापदण्ड र कोरोनाभाइरसबाट बच्ने सुरक्षात्मक उपायहरू अपनाउनुपर्नेछ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पटक–पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रहेको थियो । त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको १ सय २० दिन लामो लकडाउनका कारण सर्वसाधारणको दैनिकी नै अस्तब्यस्त बनेको थियो । कोरोनाको त्रास कायमै रहँदा सरकारले सर्वसाधारणको सहजताका लागि लकडाउन खोलेपनि स्वास्थ्य सर्तकता भने पालना गर्नेपर्ने देखिन्छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #खुल्यो लकडाउन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं