Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

कतै बाढी कतै पहिरो,लगातारको बर्षाले जताततै सास्ती


काठमाडौं । आइतबारदेखि परेको अविरल बर्षामा कारण देशभरको जनजीवन प्रभावित भएको छ । बर्षाकै कारण कतै बाढी कतै पहिरोले सर्वसाधारणलाई समस्यामा पारेको छ । लगातारको बर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा राजमार्ग पनि अवरुद्ध भएका छन् । बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको बताइएको छ । विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरुमा क्षति समेत पुगेको छ । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न समेत अपील गरेको छ ।

देशभर १ सय ९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउन प्रयास गरिरहेको बताएको छ । काठमाडौं भित्रिने–बाहिरिने पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मोवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने पहुँच सडक नै कटान गरेर नदी खोला बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न असहज भएको बताइएको छ । त्यस्तै, मुग्लिन–नारायणगढ खण्डको कालीखोलामा पनि पहिरो खसिरहेको छ । विभागले पन्छाइरहेपनि पहिरो खस्ने क्रम रोकिएको छैन ।

नौबिसेबाट कृष्णभीरसम्मको बाटोका साना पहिरोहरु हटाएको छ । तर, त्यसभन्दा अघिको बाटोको पहिरो हटाउन सकिएको छैन । काठमाडौं आउने अन्य सकडमा पनि ठाउँ–ठाउँमा साना पहिरो खसेका छन् । काठमाडौं आउने मात्रै हैन, विभिन्न जिल्ला सदरमुकाम जोड्ने सडकहरुमा पनि समस्या उस्तै छ । बेनी जोमसोम खण्डको म्याग्दीको गलेश्वरमा रहेको बेलिब्रिज समेत खोलाले बगाउने अवस्था आएको छ । त्यसबाहेक महाभीरमा गएको ठूलो पहिरो पनि अझै हटेको छैन ।

यसैगरी अछामको साँफेबगरबाट बाजुराको मार्तडी जाने सडकमा पनि पहिरोले क्षति पुर्‍याएको छ । त्यस्तै, सुर्खेत–जुम्ला सडक पनि केही दिनको पहिरोको अवरोधपछि आइतबारबाट सञ्चालनमा आएको थियो । तर, सोमबार विभिन्न ठाउँमा पहिरो खसेपछि सो सडक बन्द भएको छ ।
खासाको ‘केरुङ च्छो’ ताल भरियो
अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको छ । चिनियाँ अधिकारीहरुबाट न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ ।

साथै नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको छ । तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एक पटक यस्तै खतराको सूचना प्राप्त भएको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #कतै बाढी कतै पहिरो

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं