रुकुम सोती घटना नियोजित सामुहिक हत्या : संसदीय समितिको निष्कर्ष

काठमाडौं । गत जेठ १० गते भएको रुकुमपश्चिमको सोती घटना नियोजित भएको निष्कर्ष निकालिएको छ । संसदको संसदीय छानविन समितिले रुकुम चौरजहारी र जाजरकोट पुगेर गरेको अनुसन्धानमा यस्तो निष्कर्ष निकालेको हो । हत्याको वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो समेत देखिएको समितिले निष्कर्ष निकालेको छ । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी पुगेका थिए । तर, युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो । सो घटनाको छानविन गर्न २६ जेठको प्रतिनिधि सभा बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।
घटना जातीय भेदभावमा आधारित नै भएको भन्दै भवितव्य नभएर नियोजित भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । सामूहिक रुपमा आक्रमण गरेर सामूहिक हत्या गरिएको र वडाध्यक्षको नेतृत्वमै घटना भएको भन्दै प्रहरी प्रशासनको अनुसन्धान प्रक्रियामा लापरवाही भएको समेत प्रतिबेदनमा समेटिएको छ । समितिले दोषीहरुलाई प्रचलित कानुनबमोजिम हदैसम्म कारवाही गर्नसमेत सुझाव दिएको छ । संसदीय विशेष छानविन समितिले गत जेठ ३१ गते पहिलो बैठक बसेर काम सुरु गरेको थियो । त्यसपछि समिति सदस्यहरु घटनास्थल प्रस्थान गरेका थिए ।
समितिका सदस्यहरुले घाइते, मृतकका परिवार र विज्ञहरुसँग भेटेर घटनाबारे जानकारी लिएका थिए । चौरजहाजरी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनकी आमा–बुवा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । सबैलाई आजीवन कैद गर्न माग गरिएको छ ।समितिले मंगलबार सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउँदै छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #रुकुम सोती घटना नियोजित
तपाईको कमेन्ट लेख्नुहोस्