Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

कोरोना भाइरसको महामारी थप भयावह हुने डब्लुएचओको चेतावनी


काठमाडौं । सरकारहरु प्रभावकारी प्रयास गर्न असफल भएमा कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले धेरै देशहरु खराब दिशामा गइरहेको भन्दै थप महामारी आउने संकेत गरेका हुन् । संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनलेको भनाई थियो ।

विश्वव्यापी महामारीको हालको इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको छ । विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ । स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको तनाव बढ्दै जाँदा संक्रमण पनि त्यहाँ बढ्दै गएको छ । ट्रम्पले कोरोना भाइरसका केसहरु खडा गरिएको आरोप लगाउन थालेका छन् । स्वास्थ्य विज्ञले भने लकडाउन खुकुलो पार्नेसहितका काम अति चाँडो हुँदा मानिसको जीवन जोखिममा परेको बताएका छन् । अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्प र स्वास्थ्य विज्ञबिचको तनाव उत्कर्षमा पुग्दा समस्या पनि झनै बढेको छ । अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३३ लाख ६१ हजार भन्दा बढी पुगेको छ ।

यस्तै, त्यहाँ एक लाख ३५ हजार पाँच सय भन्दा धेरैको कोरोनाबाट ज्यान गएको छ । दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या १८ लाख ८४ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ७२ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ । जेनेभमा सोमबार भएको पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए । नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनले बताए । उनले कोरोना भाइरस अझै पनि मानिसको सबैभन्दा ठूलो शत्रु हो । तर, धेरै देश तथा नेता एवम् व्यक्तिहरुका कार्य त्यससँग मेल खाने खालका छैनन् ।

डब्लुएचओले भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड दिएको छ । तत्कालै कोरोनाबाट विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना नदेखिएको डब्लुएचओको भनाई । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३० लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म पाँच लाख ७१ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।यस्तै डब्लुएचओले चाँडै नै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुन्छ भन्नु वास्तविकतामा आधारित नरहेको समेत जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विदेश, समाचार
ट्याग : #डब्लुएचओ चेतावनी

तपाईको कमेन्ट लेख्नुहोस्