बाढी र पहिरोको बितण्डा, बिभिन्न जिल्लामा ११ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । अविरल बर्षाका कारण देशका बिभिन्न जिल्लामा गएको पहिरोका कारण ११ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बेसीसहर नगरपालिका ७ सातबीसका ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र ९ वर्षीय छोरा सेवाङ तामाङ रहेका छन् ।
त्यस्तै, रुकुमपश्चिमको आठविकोट नगरपालिका ३ स्यालाखदीमा गएको पहिरोमा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईको घर पहिरोले पुर्दा २८ बर्षकि सीता दमाई र निजको छोरा बर्ष ६ को हाविल परियार को ज्यान गएको हो । घटनामा परि ८ बर्षिया हिरा परियार घाइते भएकी छन् ।
त्यस्तै, पहिरोले म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा सात जना बेपत्ता भएका छन । शुक्रबार बिहान घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका हुन् । भीमप्रसाद जुग्जालीका चार र धनबहादुर जुग्जालीको तीन जना पहिरोले बगाएको छ । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीले बताएका छन् । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् ।
सिन्धुपाल्चोकको बाह्रविसेमा बाढी र पहिरोबाट बेपत्ता भएका २० जना अझै फेला परेका छैनन् । विहिबार बिहान गएको पहिरोका कारण बेपत्ता भएका २० जनाको सुरक्षाकर्मी र स्थानीयले खोजीकार्य जारी राखेपनि फेला पार्न सकिएको छैन् । बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका हुन । सेना तथा प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको छ । लगातार पानी परिरहेका कारण उद्धार तथा खोजविन गर्न कठिन परेको बताइएको छ । बाह्रविसेमा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो । बाह्रबिसे नगरपालिका ५ जम्बुमा स्थानीय याल्मो ठाडो खोलाले ११ वटा घर पनि बगाएको थियो । ठाडो खोलाले ठूल्ठूला ढुंगा र माटो बगाएर ल्याएर घरहरुमा क्षति पुर्याएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्