Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, गोरखामा एक जनाको मृत्यु


काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी दिए । उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए । पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो ।

त्यस्तै, शनिबार बिहानै काठमाडौंको कान्ति बालअस्पतालमा एक जना सहित १७ जनामा कोरोना पुष्टि भएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ । गण्डकी प्रदेशमा पनि थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना नवलपरासीका छन् । देवचुली नगरपालिकाका २० देखि ३९ वर्ष उमेर समूहका ५ जना पुरुष तथा ३० र २५ वर्षका २ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको चितवनमा परीक्षण गरिएको थियो । त्यस्तै, कास्कीमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरका २७ र ३३ वर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

म्याग्दीमा ३ जनामा कोरोना पुष्टि भएको छ । बागलुङका २ जनामा कोरोना पुष्टि भएको छ । बरेङ र ढोरपाटन नगरपालिकाका ४२ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै स्याङ्जा र तनहुँमा २ जनामा कोरोना भेटिएको छ । कोरोना पुष्टि हुनेमा स्याङ्जा पुतलीबजारका ३८ वर्षीय र तनहुँ भिमादका ३६ वर्षीय पुरुष छन् । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७९ पुगेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमणबाट मृत्यु

तपाईको कमेन्ट लेख्नुहोस्