Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

देशका ५२ जिल्लामा फैलियो सलह, नेपाल छिरेका करिव ३५ लाख सलहले मकै, तरकारी र केरा नष्ट


काठमाडौं । असार १३ अर्थात शनिबारबाट सलह नेपाल प्रवेश गरेकोमा आइतबार र सोमबार समेत थप झुण्ड भित्रिएको छ । अहिले नेपालमा करिब ३५ लाख हाराहारिमा सलह भित्रिएको अनुमान गरिएपनि यतिनै सलह आएको छ भन्ने एकिन छैन । मरुभुमी सलहका रुपमा चिनिने, लाखौँ करोडौँको संख्यामा समूहमा हिड्ने यो किरा चिसोमा बस्न नसक्ने भनिएपनि हिमालपारिको जिल्ला मुस्ताङसहित ५२ बढी जिल्लामा विस्तार भएपछि थप जोखिम बढेको छ । भारतबाट प्रवेश गरेको सलह तराई, पहाड हुँदै हिमाली जिल्लासम्म पुगेको देखिन्छ । पानी परिरहँदा सबै सलहको झुन्ड खेतबारीमा पुगेको छैन । पश्चिम भारततर्फ सलहको ठूलो समूह देखिएका कारण केही झुन्ड अझै नेपाल आउने सम्भावना कायमै छ ।

सोमबार साँझ रुपन्देहीमा प्रवेश गरेको झुन्ड अहिलेसम्मकै ठूलो पहिचान भएको छ । उक्त झुन्डमा २०, २५ लाखको संख्यामा सलह रहेको अनुमान गरिएको छ । अझ, नेपालको सीमा नजिकैका क्षेत्रहरूमा सलहका करोडौँका झुन्डहरू देखिएकाले परिवर्तन भैरहने मनसुनी हावाको बहावले जुनसुकै बेला नेपाल प्रवेश गर्ने सम्भावना कायमै छ । केही जिल्लाको मकै बाली, केरा, तरकारी लगायतका खेतीमा क्षती पुगेपनि अहिले नै बालिनालीमा सलहको ठूलो क्षति र जोखिम देखिएको छैन । तर विज्ञहरुले देशको पश्चिमि जिल्लाहरुमा जोखिम कायम रहेको भन्दै सचेत हुन आग्रह गर्दै आएका छन् । गत शनिवार भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह असार १३ गते नै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, रुपन्देही, कपिवस्तु, पाल्पामा फैलिएको थियो । १४ गते महोत्तरी, स्याङ्जा, दाङ, कपिलवस्तु, कास्की, पाँचथर, उदयपुर खोटाङमा पुगेकोमा असार १५ गते चितवन, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, प्युठान, गुल्मी र कैलालीसम्म फैलियो । ठूलो संख्यामा आइतबार र सोमबार नेपाल भित्रिएका सलहका झुण्डहरु रुकुम लगायतका जिल्लामा विस्तार भइरहँदा देशको ५२ बढी जिल्लामा सलह विस्तार भएको छ । केही स्थानमा खेतीबाली नस्ट गरेपनि बाँकी स्थानमा जंगलमा बसेको आधारमा विज्ञ टोलीले थप उडानको टे«सिङ गरिरहेको छ ।

बुधबार तथा बिहिबार समेत भारतबाट थप झुण्ड नेपाल भित्रिनेतर्फ प्लान्ट क्वारेन्टिन तथा विशादी व्यवस्थापन केन्द्रले सतर्क रहन अनुरोध गरेको छ । एक वर्गकिलोमिटरमा करिब एक करोड हुन्छन् भन्ने आधारमा चार दिनमा करिब ३५ लाख सलह भित्रिएको अनुमान गरिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । गत शनिबार सलहको एक झुण्ड प्रदेश २ को बारा, पर्सा, रौतहट र सर्लाही हुँदै नेपाल छिरेकोमा अर्को समूह पाँच नम्बर प्रदेशको रुपन्देहीहुँदै नेपाल प्रवेश गरेको थियो । आइतबार र सोमबार रुपन्देही क्षेत्रबाट नेपाल प्रवेश गरेको झुण्ड अहिलेसम्म सबैभन्दा ठूलो २०, २५ लाख समूहमा रहेको बताइएको छ । किसनहरुले आत्तिनेभन्दा संयमित भएर ठूलो आवज बजाएर वा समूहमा कराएर होहल्ला गरेर बस्न नसक्ने अवस्था सिर्जना गर्नुपर्ने विज्ञहरु बताउँछन । भर्खरै रोपेको धान जोगाउन खेतमा टन्न पानी राख्न र धानको हरियो ब्याड प्लास्टिक र स्यालाले छोप्न सुझाब दिएका छन् ।
के हो सलह, कसरी गर्छन हरियो बालिनालीको बिनास ?
फट्याङ्ग्रा समूहको एउटा प्रजाति हो सलह किरा । विशेष गरी गर्मी मौसममा सलहले आफ्नो वंश बिस्तार गर्ने गर्दछ । विशेष गरि बलौटे माटो र तातो या गर्मी ठाउँमा वंश बिस्तार गर्ने सहलको जीवन चक्र मात्रै ९० दिनको हुन्छ । नयाँ स्थानमा सलहले आफ्नो वंश बिस्तार चाँडो गर्ने गर्छन् । एउटा सलहले एक दिनमा दुई ग्राम आहार लिनेगर्छ । समूह समूहमा आहारको खोजीमा निस्किने सलहको एउटा समूहमा ८–१० लाख हिड्ने गर्दछन् । विभिन्न कृषी अध्ययनका अनुसार यो समूहले एक दिनमा ३५ हजार मानिसलाई पुग्ने खाद्यान्न सखाप पार्छ । एउटा समूहले एक किलोमिटर भन्दा बढी क्षेत्र ढाक्ने र हरियाली सखाप पारेपछि अर्को गन्तब्य तय गर्ने गर्दछन् ।
सलह कहाँबाट कसरी भित्रियो नेपाल ?
पछिल्लो पटक २०१९ को सुरुवाती महिनामा यमनमा देखिएको सलह साउदी अरेबिया, इरान हुँदै पाकिस्तान प्रवेश गरेको थियो । पाकिस्तानमा सलहले ठूलो क्षति गरेपनि संकटकाल नै घोषणा गर्नुपर्यो । सन् २०२० को सुरुवातमा पाकिस्तान भारत सीमा क्षेत्रमा देखिएको सलह केही दिनमै भारत प्रवेश गर्यो ।

भारतमा थप विस्तार हुने मौका पाएको सलहले निक्कै धेरै बालिनाली सखाप बनायो । र मनसुनी बायुको बहाब हेरफेर हुनेक्रममा उडान भर्दा नेपाल आइपुग्यो । सलह बारे नेपालका विज्ञ तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो बर्ष प्रवेश नगर्ने भनेपनि अन्तत बालिनालीमा जोखिम बढाउने गरि नेपाल भित्रिएको छ । भारतमा केही दिनयता पश्चिबाट पूर्वतिर हुँदै हावा बहने गरे पनि उत्तर प्रदेश र बिहारमा हावाको चाप कम भएर अकस्मात पश्चिम उत्तरतिर हावा मोडिने क्रममा सलहको झुण्ड नेपाल प्रवेश गरेको पाइएको छ ।
नेपालमा सलहको इतिहास
सन् १९६० मा काठमाडौं उपत्यकामा देखिएको सलहले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो । सो समयमा काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सलहले सबैखाले बाली सखाप पार्दा किसानहरु निक्कै ठूलो मारमा परेका थिए । कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार अहिले नेपाल भित्रिएको सलह किरा पनि पुरानै मरुभूमि सलह रहेको पाइएको छ । नेपाल शनिबार भित्रिएको सलहको झुण्ड ठूलो नरहेको र धेरै समय नरोकिई अघि बढेकाले ठूलो क्षति देखिएन । तर हावाको गति विश्लेषण गरेका विज्ञहरुले केही दिनमा थप झुण्ड आउन सक्ने र क्षति हुन सक्नेतर्फ सचेत गराएजस्तै आइतबार र सोमबार लाखौँको संख्यामा सलहको थप झुण्ड भित्रिएको छ । देशको पूर्वी भूभागमा जोखिम नभएपनि पश्चिमतर्फका केही स्थानका मकै, केरा, तरकारी लगायतको बालिनालीमा सलहले क्षति पुर्याएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र पनि पश्चिम क्षेत्रका जिल्लाहरुमै जोखिम बढि भएको भन्दै सकभर बस्न नदिनेगरी चर्को ध्वनी वा आवाज निकालेर भगाउन सुझाब दिइरहेको छ ।
सलह नियन्त्रणका उपायहरु
विज्ञहरुका अनुसार रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिन्छ । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुलरजालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हो । विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय मानिएको छ । मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने बताउँछ । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । तर अहिले जोखिम कम भएकाले विषदीको प्रायोग भन्दा पनि बस्न नै नसक्ने गरि धपाउन विज्ञहरुले सुझाब दिएका छन् ।


क्याटेगोरी : खेती किसानी, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #फैलियो सलह

तपाईको कमेन्ट लेख्नुहोस्