Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

आजदेखि लकडाउन खुकुलो, एसईई परीक्षा खारेज, कक्षा १२ को परीक्षाबारे कुनै निर्णय भएन


काठमाडौं । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर आजदेखि सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । सरकारले कृषि, उद्योग र व्यापारलाई खुकुलो बनाउनेदेखि यसबर्षको एसईई परीक्षा नहुनेसम्मका निर्णय गरेको हो । बिहिबार अर्थात् आजदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूको जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनलाई केही खुकुलो पार्ने निर्णय गरेको हो । सवारी साधनलाई जोर बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

निजि सवारी साधनहरु जोर बिजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन सञ्चालन गर्न सवारी साधनको अन्तिम नम्बर जोर भएकाहरु जोर दिन र बिजोर भएकाहरु बिजोर दिन चल्न पाउने ब्यवस्था गरेको छ । सरकारको नयाँ लकडाउन मोडालिटि अनुसार मोटरसाईकलमा चालक एक जना मात्रै र चारपांग्रे नीजि सवारी साधनमा चालक बाहेक दुई जना मात्रै आवात–जावत गर्न पाउने छन् ।

शैक्षिक संस्था, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, सपिङ मल, डिपार्टमेन्ट स्टोर खाद्य पदार्थबाहेक, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल, अनुमति प्राप्त गरेकाबाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान, तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत, सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन, २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, स्विमिङ पुल, जिमखाना, साउना, स्टिमलगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटिपार्लर, खेलकुद प्रतियोगता, पहिलो चरणमा खुल्ने भनी तोकिएकाबाहेक अन्य सबै सवारी साधन, बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमनमा भने लकडाउन जारी रहने छ ।
कहिले कहिले थपियो लकडाउन
पहिलो–११ चैतदेखि १८ चैतसम्म
दोस्रो –२५ चैतसम्म
तेस्रो –३ वैशाखसम्म
चौथो – १५ वैशाखसम्म
पाँचौँ – २५ वैशाखसम्म
छैटौँ – ५ जेठसम्म
सातौँ –२० जेठसम्म
आठौँ – ३२ जेठसम्म
लकडाउन थप्दै जाँदा सर्वसाधारणको चुल्हो बल्न समेत कठिन भएको छ । अर्थतन्त्रमा ठूलो असर परेको छ । काठमाडौं उपत्यकामा त ब्यवसायी आफै सडकमा उत्रिएरै बिरोध जनाउदै पसल ब्यवसाय खोल्न थालिसकेका थिए ।
यसबर्ष एसईई परीक्षा खारेज,आन्तरिक मूल्यांकनकै आधारमा ग्रेडसिट
कोरोना भाइरसका कारण रोकिएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई नहुने भएको छ। यस वर्षका लागि एसइई गत चैत्र ६ गतेबाट हुने तोकिएको थियो । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले चैत ५ गते एसइई स्थगित गर्ने निर्णय गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा यसवर्षका लागि एसइई विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय भएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको संयोजकत्वमा मन्त्रालयले सुझाव कार्यदल गठन गरेको थियो। कार्यदलले आन्तरिक मुल्याङकन प्रदेशगत रुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने जस्ता विकल्पसहित प्रतिवेदन बुझाएको थियो। यस बर्षको एसईईको आन्तरिक मूल्यांकनकै आधारमा ग्रेडसिट निर्धारण गर्ने भएको हो ।
कक्षा  १२ को परीक्षाबारे कुनै निर्णय भएन
एसइईका विषयमा निर्णय गरिएको भए पनि कक्षा १२ मा हुने विद्यालय तहको अन्तिम परीक्षाको बारेमा भने निर्णय गरिएको छैन् । विद्यालय तहको अन्तिम परीक्षा भएकाले कक्षा १२ को परीक्षा लिइने तयारी गरिएको छ । बुधबार एसइईको मात्र प्रस्ताव लगेकाले १२ को विषयमा भने कुनै निर्णय भएको छैन । एसइई परीक्षा नभएपछि कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनका आधारमै गरिने छ । कक्षा ११ र १२ मा गरी करिब नौ लाख विद्यार्थीले परीक्षा फारम भरेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन खुकुलो

तपाईको कमेन्ट लेख्नुहोस्