सरकारको गम्भिर लापरवाही, १३ मध्ये १२ जनाको मृत्युपछि कोरोना पोजेटिभ

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमणका कारण १३ जनाको ज्यान गएको छ । पहिलो मृतक सिन्धुपालञ्चोक बाह्रबिसेकी सुत्केरी महिला थिइन । मृत्युपछि सुत्केरी महिलामा कोरोना पोजेटिभ देखियो । पछिल्लो चरण नेपालमा मृत्यु भएका ब्यक्तीहरुमा पनि कोरोना पुष्टि हुन हुँदैछ । अहिलेसम्म १ जना बाहेक अन्य १२ जना ब्यक्तीहरुमा भने मृत्युपछि मात्रै कोरोना पुष्टि भएको छ । कोही त क्वारेन्टाइनमै रहेका बेला निधन भएपछि कोरोना पुष्टि भएको हुँदै आएको छ । कतिपयको त दाहसंस्कार गरिसकेपछि पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि पनि मृत्युपछि हुनुले सरकार जनताप्रति कोरोना परिक्षणमा गम्भिर नभएको प्रष्ट देखिन्छ । मृत्यु भएका १३ जनामा कसरी कहाँ कोरोना पुष्टि भयो त यो बिवरण हेरौं ।
१ डोल्पामा ५८ बर्षिय पुरुषको मृत्यु
डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भयो । उनी दम रोगी रहेको र उनको जेठ २१ गते मृत्यु भएपनि उनी सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए । मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको आयो ।
२ धनगढीमा दाहसस्कारपछि कोरोना पुष्टि
कैलालीको धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको डायलसिसका क्रममा मृत्यु भयो । संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो । जेठ २४ गते ती महिलामा कोरोना पुष्टि भएको हो । उनी डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । यसअघि उनी नेपालगन्ज र काठमाडौंमा डायलसिस गराउँदै आएकी थिइन । मृत्युपछिमात्रै स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
३ सर्खेतमा घर पुगेर मृत्यु भएका ब्यक्तीमा कोरोना पुष्टि
सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भयो । उनलाई कोरोना संक्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो ।
४ कपिलबस्तुमा बाटोमै मृत्यु भएका ब्यक्तीमा कोरोना पुष्टि
भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोना भाइरसको पुष्टि भएको भयो । ती युवकको मृत्यु भएपछि स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो । युवाको शव भने अन्त्येष्टि गरिसकेपछि कोरोना पुष्टि भएको हो ।
५ बाजुरामा दुई बर्षिय बालिकाको मृत्यु
बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो । सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीको पनि मृत्युपछि कोरोना पोजेटिभ पुष्टि भएको हो ।
६ ललितपुरमा पनि मृत्युपछि कोरोना पोजेटिभ
ललितपुर महानगरपालिका वडा नम्बर २२ का ५७ बर्षीय पुरुषको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा कोरोना संक्रमण कारण मृत्यु भयो । गत जेठ ११ गते अल्कोहलिक लिभर डिजिज भएको भन्दै पाटन अस्पताल लगिएका ती पुरुषलाई थप समस्या देखिएपछि आइसीयुको अभावमा किष्ट मेडिकल कलेज रिफर गरिएको थियो । मृतक व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ११ गते अस्पताल भर्ना भएका ती व्यक्तिको अस्पतालले १२ गते थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
७ दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका ब्यक्तीमा कोरोना पुष्टि
दैलेखमा क्वारेन्टिनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा कोरोना पुष्टि भयो । उनको तीन दिनअघि नै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो । स्वाव परीक्षण पश्चात कोरोना संक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको हो । उनी भारतको गुजरातबाट फर्किएको १० दिनमा निधन भएको हो ।
८ सिन्धुपाल्चोकी सुत्केरी महिलामा कोरोना पुष्टि
काभ्रेमा एक महिलाको मृत्यु भयो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको मृत्युपछि कोरोना पुष्टि भयो । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन । केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भयो ।
९ बुटवलको कोरोना अस्पतालमा मृत्यु
रुपन्देहीको बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भयो । सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया पुरुष कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए । उनी दुबईबाट नेपाल आएका थिए । उनको मृत्युपछि नै कोरोना पोजेटिभ देखिएको थियो ।
१० बाँकेको क्वारेन्टाइनमै मृत्युपछि कोरोना पुष्टि
बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा एक युवकको क्वारेन्टाइनमै मृत्यु भयो । दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका २५ वर्षका युवकको मृत्युपछि कोरोना पुष्टि भयो । मृत्यु अघि नै उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएपनि मृत्युपछि रिपोर्ट आएका हो । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा पीसीआर प्रविधिमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । उनी भारतको मुम्बईबाट ३० वैशाखमा फर्केका थिए ।
११ पाल्पामा मृत्यु भएको तीनदिनपछि कोरोना पुष्टि
पाल्पाको पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषमा मृत्यु भएको तीनदिन पछि कोरोना पुष्टि भयो । उनी भारतबाट आएको पाँच दिनसम्म क्वारेन्टिनमा बसेका थिए । उनलाई सास फेर्न गाह्रो हुने, पेट फुलिने, सुक्खा खोकी लाग्ने र खकारमा रगत समेत देखिएपछि उपचारका लागि भर्ना गरिएको थियो । उनमा कोरोनाका केही लक्षण देखिएकाले संका गरेर आइसोलेसनमा उपचारमा राखिएको थियो । उनको उपचारको क्रममा ३ दिन अगाडि निधन भएको थियो । उनको मृत्यु भएको तिन दिन पछि रिपोर्ट पोजेटिभ आएका्े आयो । मृत्युपछि उनको स्वाब संकलन गरिएको र कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको थियो ।
१२ गुल्मीमा प्रधानाध्यापकको मृत्युअघि नै कोरोना पुष्टि
गुल्मीका संक्रमित पुरुषको मृत्यु भयो । मृतक गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलको प्रधानाध्यापक हुन् । कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा आइसीयुमा उपचार गरिएको थियो । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए । भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो । उनीको मात्रै अहिलेसम्म मृत्युअघि नै कोरोना पुष्टि भएको हो । अस्पतालले राम्रो उपचार नगर्दा उनीको मृत्यु भएको परिवारले आरोप लगाएका थिए ।
१३ बाराका पुरुषमा दाहसंस्कारपछि कोरोना पुष्टि
वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका एक वृद्धमा दाहसंस्कारपछि कोरोना पोजेटिभ भयो । २ जेठमा अस्पताल भर्ना भएका बारा कलैया—७ का ती ७५ वर्षीया वृद्ध क्षयरोगका बिरामी थिए । कोरोना संक्रमण देखिइरहेका बेला मेडिकल कलेजले ती वृद्धको स्वाब संकलन गरेर २ जेठमै नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा शंकास्पद देखिएपछि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । २ जेठमा सिकिस्त अवस्थामा भर्ना भएका ती बिरामीको ४ जेठमा उपचारकै क्रममा मृत्यु भयो । यतिन्जेल स्वाबको नतिजा आइसकेको थिएन । मृतकका आफन्तले धार्मिक परम्पराअनुसार मृतकको अन्त्येष्टी गरेको १० दिनपछि बल्ल कोरोना पोजेटिभ देखिएको थियो ।
अत् यी घटनाक्रमबाट सरकारले नागरिकको स्वास्थ्यप्रति खासै चासो दिएको छैन् भन्ने प्रष्ट हुन्छ । अझ् क्वारेन्टाइनमा रहेका ब्यक्तीहरुको कोरोना परिक्षणमा ध्यान दिएको देखिदैन । क्वारेन्टाइनबाटै अहिले कोरोना संक्रमण फैलिइरहेको छ । न बस्न र सुत्न राम्रो ब्यवस्था छ न त खाना नै राम्रो छ । आइसुलेसनको अवस्था पनि त्यस्तै नाजुक छ । जहाँ उपचारभन्दा पनि थप कोरोना संक्रमणको जोखिम बढी देखिन्छ । जसको समाधानका लागि सरकारले तत्काल पहलकदमी लिनुपर्ने देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार, स्वास्थ्य
ट्याग : #क्वारेन्टाइनमै मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्