रुकुम चौरजहारी घटनाको नालीबेली,जातिय बिभेदले निम्त्याएको बिभत्स घटना
रुकुमपश्चिम । कोरोनाको कहर चलिरहदा २०७७ जेठ १० गते शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा एउटा बिभत्स घटना घट्यो । जाजरकोटका पाँच जना युवाहरुको भेरी नदिमा शब भेटिएको र एक जना अझै बेपत्ता रहेको यो घटनाले यतिबेला सडकदेखी सदन तातेको छ । जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिक आफ्नो अन्तरजातीय प्रमेलाई बिबाहमा परिणत गर्न भन्दै जेठ १० गते साँझ पाँच बजे आफ्ना १९ जना साथीहरु सहित रुकुम पश्चिम सोतीस्थित पे्रमिका सुष्मा मल्लको घर पुग्छन् ।
केही टाढाबाटै नवराजलाई देखेकी सुष्माकी आमाले जातिय आधारमा गाली गलौच गरेपछि नवराज सहित युवाहरुको समुह फर्किन्छन । केही मिटरमात्रै फर्कन नपाउँदै स्थानीयले घेराबन्दीमा परेका उनीहरु मध्ये केहीले निर्घात कुटपिटको सामना गर्नुपर्छ भने केही साथीहरु भागेर ज्यान बचाउन सफल हुन्छन् । यसरी अन्तरजातिय प्रेमलाई बिबाहमा परिणत गराउन पुगेका युवाहरुमाथी कुटपीट र हत्या भएको भनिएको घटनामा स्थानीय वडा अध्यक्ष डम्बरबहादुर मल्ल समेत संलग्न भएको आरोप लागिरहँदा भेरी नदिबाट पाँच जनाको शब निकालिएको छ भने अझै एक युवा बेपत्ता छन् । अहिले नवराजको घरमा मात्रै होइन्, उनको अन्तरजातीय प्रेमलाई बिबाहमा परिणत गराउन भन्दै गएर ज्यान गुमाएका परिवारमा रुवाबासी चलेको छ ।
नवराजका आमा, बुबा बोल्न सक्ने अवस्थामा छैनन, उनीहरु आफ्नो छोरा र साथीहरुलाई कुटीकुटी मारेको भनिरहेका छन् । सँगै गएर भागेर ज्यान जोगाएका युवाहरु मात्रै होइन्, स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरीहरु पनि लखेटी लखेटी कुटिएको प्रत्यक्ष रुपमा देखेको र आफूहरुले नकुट्नुभन्दै सम्झाउदा समेत नटेरेको भनिरहेका छन् । नवराजसँगै गएका साथीहरु भन्दै छन्–हामीले भागेर ज्यान जोगायौं । घरेलु हतियारसहित आएका स्थानीयहरुले घेरा हालेर निर्घात कुटपिट गर्दा साथीहरुको ज्यान गयो । एक जना बाटैबाट फर्किएर जोगिए भने बाँकी १२ जनाले भागेरै ज्यान जोगाएको दाबी गरिरहेका छन् ।
भेरी नदीमा बेपत्ता भएकामध्ये नवराजको आइतबार बिहान शव फेला प¥यो । उनीसँगै गएका साथी चौरजहारीका टिकाराम सुनारको पनि सोही दिन दिउँसो शब भेटियो । सोमबार राती अर्का एक साथीको शब भेटिएकोमा बुधबार दिउँसो थप एउटा शब भेटिएको छ । बिहिबार थप भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ । हराएका एक जनाको खोजी यतिबेला पनि जारी छ । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले समेत घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताउनुभएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले अहिलेसम्म चौरजहारी नगरपालिका–८ का वडाध्यक्षसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । यो घटनाले नेपालमा जातीय छुवाछुतविरुद्ध कानुन भएपनि व्यवहारमा कार्यान्वयन भएको छैन र बिभेद कायमै छ भन्ने तथ्यलाई उजागर गरेको छ ।
पश्चिम रुकुमको यो घटनाले यतिबेला राष्ट्रिय बहस पाएको छ । कोही सडक आन्दोलनमा छन् त कोही सदनमा सरकार बिरुद्ध बिष बमन गरीरहेका छन् । एकातिर घटनाको चौतर्फी बिरोध भईरहँदा अर्कातर्फ घटनालाई राजनीतिक रंग दिइएको आरोप पनि लागिरहेको छ । यता, घटनामा स्थानीय सरकारको संलग्नता रहेको भन्दै पिडित पक्षले रुकुमपश्चिममा २० जनाबिरुद्ध किटानी जाहेरी समेत दिईसकेको अवस्थामा सरकारले बनाएको ५ सदस्यीय छानबीन समितिले न्यायोचित अध्ययन गरेर रिपोर्ट देला त ? धेरैले प्रश्न गरिरहेका छन् ।
घटनामा भेटिएका केही तथ्यहरु
जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिक र पश्चिम रुकुमको चौरजहारी ८ सोतीकी सुस्मा मल्लबीच लमो समयदेखी प्रेम सम्बन्ध थियो । सबैभन्दा पहिला जातले नछेकेको यो अन्तरजातिय प्रेम सम्बन्धका केही तथ्यहरु हेरौँ । प्रेम सम्बन्ध थियो वा थिएन, घटना के हो भन्दै अन्यौलमा पर्नेहरुका लागि राखिएका यी तथ्यहरुपछि अब हामी अन्तरजातिय प्रेमलाई बिबाहमा परिणत गर्न पुगेका युवाहरु कुटिएका र केही कुटपिटबाटै मारिएका हुन भन्ने तथ्यहरु यस्ता छन् ।
तथ्य नम्बर एकः बाच्न सफल सँगै पुगेका साथीहरुले निर्घात कुटपिट गरिएको बारे दिएको बयान ।
साथीको प्रेमलाई बिबाहमा परिणत गर्न भन्दै चौरजहारी पुगेका सबै युवाहरु एउटै कुरा भनिरहेका छन्, केटीको घर नजिकै पुगेपछि आमाले तथानाम गालि गरेपछि फर्किएका सबैजना चारै तिरबाट घेरबन्दीमा पर्यौँ र निर्ममतापूर्वक कुटिदा कति साथिहरु भागेर बाँचे, कतिपय हराए । हामीलाई नकुट्नुभन्दा पनि छोडेनन् । ढुङ्गा हसिया लगायतले प्रहार भयो ।
तथ्य नम्बर दुईः घटनास्थल नजिककाले लखेटेको देखेको स्विकार गरेर अरु कुरा खोल्न नमानेकोतथ्य नम्बर तीनः इलाका प्रहरी कार्यालयबाट लखेटेको र कुटेको देखेर त्यसो नगर्न भन्दै सम्झाएको भनाई
ईलाका प्रहरी कार्यालयका प्रहरीहरुले नै प्रत्यक्ष रुपमा लेखटेको र कुटेको दृश्य नियाले, उनीहरुले त्यसो नगरौँ भन्दापनि केटी पक्षकाले कुटपिट गर्न छाडेनन्
तथ्य नम्बर ४ः टाउको फुटेको र डोरीले बाधिएको अवस्थामा मृतकको शब भेटिनु ।
तथ्य नम्बर ५ः केटी केटाको घरमा आउने जाने गरेपनि केटीको घरमा जाँदा यसअघि नै केटाले कुटपीट सहनुपरेको
तथ्य नम्बर ६ः जातिय प्रेम र बिबाह प्रयासकै कारण लखेटी लखेटी कुटिएको मानव अधिकारकर्मीको फिल्ड मुचुल्का
मानवअधिकार कर्मीले फिल्डमा पुगेर लखटी लखेटी कुटिएको र हत्या गरिएको दाबी गरेका छन् । उनिहरुको हत्या अन्तरजातिय प्रेम र बिबाह गर्न खोज्दाको परिणाम हो भनिएको छ ।
तथ्य नम्बर ७ः चौरजहारीका मेयर र जिल्ला प्रहरी कार्यालय जाजरकोटको भनाई
घटनास्थलको अवस्था, अनि भागी बिबाहका लागि भन्दै घटना घट्ने समया सँगै पुगेर बाँचेका युवाहरुको बयान मात्रै होइन मानवअधिकारकर्मी, स्थानीय प्रहरी प्रशासनले समेत लखेटेको र कुटपिट गरेको स्विकार गर्नुले नै घटना गम्भिर अपराधीक प्रकृतिको थियो भन्ने उजागर गरेको छ । कानुनले बर्जित गरेको जातभातलाई उठाएर यो हदसम्मको गम्भिर अपराध गर्ने र गराउने जो कोही भएपनि कानुनको दायरामा आउनुपर्छ । सरकारको छानविन राजनीतिक स्वार्थभन्दा माथी उठेर घटनाको वास्तविकता केलाउन र दोषीलाई हदैसम्मको कारबाही गराउन केन्द्रित होस् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #रुकुम चौरजहारी घटना
ताजा खबर
- १सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
- २बढ्यो पेट्रोल र डिजेलको मूल्य
- ३मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द
- ४एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !
- ५सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !
तपाईको कमेन्ट लेख्नुहोस्