सुरक्षाकर्मी कोरोनाको उच्च जोखिममा,संक्रमितको संख्या ११ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको जोखिम कम गर्न लकडाउन सुरु गरेको दुई महिना पुगेको छ । लकडाउन कार्यान्वयन गराउन र कोरोना संक्रमित हुन् या सिमा नाकाबाट भित्रीनेहरुको सुरक्षाका लागि सुरक्षाकर्मी दिनरात तैनाथ छन् । बिना सुरक्षा एउटा माक्स र चस्माका भरमा सुरक्षाकर्मी अग्रपक्तीमा रहेर काम गरिरहेका छन् । तीनै सुरक्षाकर्मीमा पछिल्लो चरण कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । पछिल्लो चरणमा महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखियो । त्यसपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो । सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । प्रहरी कार्यालय पनि सिल गरिएको छ । फ्रन्टलाइनमा खटिएका अहिलेसम्म ११ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिको छ।
गत शनिबार पनि तीन जना सुरक्षाकर्मीमा कोरोना भाइरस देखिएको थियो। जसमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी जवान, नेपाली सेनाको मध्यपृतनामा कार्यरत सेनाका एक उच्च अधिकारी र सोही ठाउँमा कार्यरत अर्का एक सैनिकमा कोरोना संक्रमण देखिएको थियो। अहिलेसम्म सशस्त्र प्रहरी बलका तीन, नेपाल प्रहरीका पाँच, नेपाल सेनाका दुई र राष्ट्रिय अनुसन्धान विभागका एक जना गरी ११ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो। कोरोना भाइरस संक्रमण देखिएपछि सबै सुरक्षा निकायले उच्च सर्तकता अपनाउन थालेका छन्। बिदाबाट फर्केकाहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्नेदेखि फिल्डमा खटिँदा उच्च सर्तकता अपनाएर निर्देशन दिइएको छ ।
पूर्वगृहमन्त्री भीम रावलका पिएसओ सशस्त्रका जवान बिदाबाट फर्केपछि जाँच गराउँदा कोरोना देखिएको थियो। बिदाबाट फर्केकाले जाँच गराइहालेकाले अन्यमा सुरक्षाकर्मीमा कोरोना संक्रमण फैलन पाएको थिएन । सामूहिक रुपमा ब्यारेकमा बस्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि कोरोनाको उच्च जोखिममा छन। अझ ब्यारेकमा एउटा व्यक्तिमा मात्रै कोरोना देखिएको अवस्थामा त्यसले भयावह रुप लिन सक्ने अवस्था पनि आउँछ। जसकारण सुरक्षाकर्मीहरु आफैं उच्च जोखिममा हुने नै भए। त्यसैको पूर्वसावधानीस्वरुप सुरक्षा निकायले आफ्नो तयारी तीव्र पारेका छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #सुरक्षाकर्मी
तपाईको कमेन्ट लेख्नुहोस्