Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

नीति तथा कार्यक्रमः नेपालको नयाँ नक्सा छिट्टै जारी हुन्छ भन्दा बज्यो संसदमा ताली


काठमाडौं २ जेठ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट नयाँ नक्सा सार्वजनिक गरिने बताएकी हुन् । राष्ट्रपति भण्डारीले तीन घण्टा लामो नीति तथा कार्यक्रम प्रस्तुत गर्दे अन्त्यमा नेपालको नक्सा छिट्टै सार्वजनिक बताएकी हुन् । नेपालको नक्सा सार्वजनिक गर्ने राष्ट्रपतिले बताउने बित्तीकै संघीय संसदमा ताली गुञ्जीएको थियो ।
नीति तथा कार्यक्रमका प्राथमिकता
वैशाख २०७२ को भूकम्पले भत्काएका संरचना आगामी आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गरिने भएको छ । आगामी आर्थिक बर्षमा ऐतिहासिक सम्पदा धरहरा र रानिपोखरीको पुनर्निर्माणको काम ४० र ७० प्रतिशत सम्पन्न भइसकेको भन्दै यसै बर्ष काम सकिने छ । त्यस्तै, आवश्यक नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्री र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिको व्यवस्था गरिने भएको छ । सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ। प्रयोगशाला परीक्षण सेवासहितको तीन सय शैय्याको केन्द्रीय र न्यूनतम ५० शय्याको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अहिले संघमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मात्र रहेको छ। नीति तथा कार्यक्रममा आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने उल्लेख छ। यसैगरी स्थानीय तहको स्वास्थ्य सेवाको गुणस्तरलाई समेत वृद्धि गरिने नीति तथा कार्यक्रममा जनाइएको छ। एउटा स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। यसैगरी जिल्लामा रहेको अस्पताललाई २५ देखि ५० शय्या र तत्कालीन अञ्चलमा रहेका अस्पताललाई दुई सय शय्याको बनाइने सरकार नीति तथा कार्यक्रममा जनाइएको छ। सरकारले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल, कोशी, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेल्धुरा अस्पताललाई पाँच सय शय्याको अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ। यसैगरी प्रमुख राजमार्गमा ट्रमा सेन्टर सञ्चालन गर्ने र एकीकृत एम्बुलेन्स सेवा विस्तार गरिने। प्रतिरोधात्मक तथा निरोधात्मकसम्बन्धी स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिने छ। अहिलेसम्म ६७१ वडामा पूर्ण खोप सेवा पुर्‍याइएकामा आगामी वर्ष सबै वडामा पूर्ण खोप सेवा पुर्‍याइने सरकारको लक्ष्य छ।

त्यस्तै, राष्ट्रपति भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताइन । उनले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्व समुदाय साझा र अदृष्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको उल्लेख गरिन। वर्तमान सरकार नेपालको स्वाभिमानको रक्षा, नागरिकको संरक्षण र देशको गौरव बढाउन सम्पूर्ण सामर्थ्यका साथ आफूलाई केन्द्रित गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कटिबद्ध रहेको पनि बताइन। राष्ट्रपति भण्डारीले कोरोना भाइरसबाट पार पाउनका लागि विश्व समुदायबीच एकता, आत्मविश्वास र सहकार्य आवश्यक रहेकामा जोड दिएकी थिइन । समाज फेरि समृद्ध बन्न सक्ने तर गुमेको मानवीय मूल्यको क्षतिपूर्ति हुन नसक्ने भएकाले यतिबेला मानव जातिको सुरक्षा नै सरकारको प्राथमिकता कोरोना मुक्त देश बनाउने भएको उल्लेख गरिन । नीति तथा कार्यक्रममा सरकारले शान्ति सुरक्षा र भ्रष्टाचारको अन्त्यमा विशेष उपलब्धि हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने यात्रामा सरकार अघि बढिरहेका बेला कोभिड– १९ को महामारीका कारण निर्धारित लक्ष्य र गतिमा धक्का उल्लेख गरिएको छ । सरकारको अव पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान हुने बताइएको छ । सरकारले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति ल्याएको छ । बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने सरकारको योजना छ । त्यस्तै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने सरकारले घोषणा गरेको छ ।

आगामी १० वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन आधुनिकीकरण र व्यवसायिक कृषि अभ्यासको योजना ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषियोग्य भूमिको पूर्ण परिचालन गर्ने, रासायनिक मल र उन्नत जातको बीऊको वितरण स्थानीय तहमार्फत गर्ने सरकारको नीति छ । यस्तै आधुनिक यन्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने, कृषि प्रशोधन केन्द्र खोलेर कृषि उपज निर्यातमा प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय तहमा बीऊ, नश्ल सुधार, बजारीकरणको इकाइ बनाइने, कृषि उपजको मूल्य श्रृङ्खलामा कृषि तथ्यांक एकीकृत गरिने, खाद्य स्वच्छता प्रर्वद्र्धन गर्ने, कृषि भूमिको सदुपयोग गरी भूमि बैंकको व्यवस्था गर्ने र चक्लाबन्दी खेतीमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय तहमार्फत करार खेतीमा प्रोत्साहन गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परिमार्जन गरेर लागू गर्न र राष्ट्रिय आवश्यकता र स्थानीय उत्पादनको आधारमा ठूलो क्षेत्रमा एकै खाले उत्पादनमा जोड दिने, अन्य परियोजनासंंग दोहोरो नपर्ने गरी काम गर्ने सरकारको नीति छ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #नीति तथा कार्यक्रम

तपाईको कमेन्ट लेख्नुहोस्