आज २५६४ औँ बुद्ध जयन्ती

काठमाडौं २५ बैशाख । वैशाख शुक्ल पूर्णिमा अर्थात् आज २५६४ औँ बुद्ध जयन्ती मनाइदैछ । भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप बुद्ध जयन्ती मनाइँदैछ । गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ । आम मानिसलाई बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजापाठ गरी पर्व मनाउने निर्णय भएको छ । इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्मिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बोधगयास्थित पीपलको रुख बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतमबुद्ध, बुद्ध भगवान आदि नामले पुकारिएको हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन ९धर्मदेशना० का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण मृत्यु प्राप्त गरे । विश्व जगतमा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #२५६४ औँ बुद्ध जयन्ती
तपाईको कमेन्ट लेख्नुहोस्